सल्यान, ६ भदौँ ।
शारदा नगरपालिका–१० पैयाँखर्कका किसान पूर्णबहादुर चलाउने बर्खाको झरीमा मकैबारीमै रात बिताउनुहुन्छ । ग्रामीण भेग, चारैतिर जंगल, बर्खाको झरी । सुनसान रातमा डर हुने भए पनि बारीमै रात बिताउनु उहाँका लागि रहर होइन, बाध्यता छ । वर्षभरि खाने मकै बँदेलले सखाप बनाइदिन थालेपछि झरीमा पनि बारीमै जाग्राम बस्नुहुन्छ ।
‘मकैले धानचौंर निकाल्न थालेपछि मेरो बास बारीमा हुन थालेको हो, बारीमा झुप्रो बनाएको छु, दिनभर घरको काम गर्छु, साँझ परेपछि बारीमै बास हुन्छ, बारीमा नबसे त सबै मकै एकैदिनमा सखाप पारिदिन्छ’– उहाँ भन्नुहुन्छ– ‘बँदेलले एकैदिन आएर मकै खायो, त्यसपछि मेरो बास नै बारीमा हुन्छ ।’ उहाँले मकै सबै बँदेलले खाएमा भोकमरी हुने बताउनुभयो ।
उहाँकै छिमेकी खिमे बुढाथोकीको पनि बारीमै बास छ हिजोआज । उहाँले बारीमा बस्ने झुप्रो बनाउनुभएको छ । रातभरि बारीमै आगो बाल्ने, कन्टर बजाउने, होहल्ला गर्ने उहाँको डिउटी हो । आफुले गाउँकै दुई स्थानमा लगाएको मकै बँदेलले खाइदिएको उहाँको भनाइ छ । ‘मेरो बारीमा रोपेको २५ डोका जति मकै बँदेलले खायो, अहिले पनि आइरहन्छन्, त्यही भएर रातभर पहरा दिदै आएको छु’– उहाँले भन्नुभयो ।
स्थानीयको वर्षभरिकै खाद्यान्नको जोहो गर्ने बाली मकै हो । तर जंगली जनावरले मकै सखाप पारेपछि किसान चिन्तामा छन् । फौजी किराको प्रकोपबाट बचाएर दाना लाग्नै थालेको मकै जंगली जनावरको बथानले खाएर सखाप पारेपछि वर्षभरि के खाएर बाँच्ने भन्ने किसानलाई चिन्ता छ । विगतमा वन्यजन्तुले बालीनालीमा क्षति गर्थेनन् ।
तर अहिले पैयाँखर्क, माल्नेटा, सापमारा, निगालचुला, लक्ष्मीपुर, माझकाँडा, लेखपोखरा, झिम्पेलगायतका ठाउँका करिब एक हजार किसान प्रभावित भएका छन् । वर्षभरीको खर्च टार्ने मकै बाली जंंगली जनावरले खान थालेपछि चिन्ता थपिएको स्थानीय गोमती बोहराले बताउनुभयो ।
‘लम्पी स्किनले मेरा एक हल गोरु मरे, गोरु हलि सबै ज्यालामा लगाएर मकै रोपेकी थिएँ, तर भर्खर दाना लाग्न थालेको मकै अहिले बँदेलले सखाप पार्न थालेको छ, घरबारीमा बँदेलले सखाप पारिसक्यो, गोठको बारीमा पनि आधा खाइसक्यो, बारीमा आएपछि रुन मात्रै मन लाग्छ’– उहाँले भन्नुभयो– ‘एक मुरी गहुँ रोपेकी थिए, तीन पाथी मात्रै घर ल्याएँ, मकै पनि पाक्ने बेलासम्म बँदेलले के बचाउला र ? ’
तीन वर्षदेखि बँदेल आतंक
विगतमा बाँदर, दुम्सीले मकैमा क्षति गर्दै आएका थिए । तर अहिले बँदेलको आतंक बढेको छ । हुल बाँधेर बँदेल बारीभित्र पस्ने भएकाले एकैरातमा बारी स्वाहा वनाउने गरेको छ । ‘विगतमा बँदेल नै लाग्दैनथे, अहिले तीन वर्ष भयो, हुल बाँधेर आउने बँदेलले एकैरातमा बारी स्वाहा बनाइदिन्छन्’– शारदा नगरपालिका–१० का वडाअध्यक्ष कृष्णबहादुर बोहरा भन्नुहुन्छ– ‘हिजोआज बँदेल आतंक नियन्त्रण बाहिर गैसक्यो ।’ बँदेलकै कारण स्थानीयले मकै रोप्नुको साटो कोदो, अदुवा, बेसार, भटमास लगायतका बाली लगाउँदै आएका छन्् । कतिपय भने खेतवारी नै बाँझै छोडेर बसाइ सरेर गएको उहाँको भनाइ छ ।
‘पहिले यहाँका सबै बारीमा राम्रो उत्पादन हुन्थ्यो, जंगली जनावरको संरक्षण गर्न थालेपछि बँदेलको आतंक बढेको छ’– वडाध्यक्ष बोहराले भन्नुभयो– ‘पैसा हुनेजति सबैले घरजग्गा नै त्यसै छोडेर दाङ झरिसकेका छन् ।’ जिल्लाभर झण्डै १९ हजार हेक्टर बढी क्षेत्रफलमा मकै खेती हुँदै आएको छ । बँदेलका कारण करिब दुई हजार रोपनी क्षेत्रफलमा लगाएको मकै बालीमा क्षति पुगेको अनुमान गरिएको छ ।
किसानले दश हजारसम्म क्षतिपूर्ति पाउँछन्
डिभिजन वन कार्यालय सल्यानले वन्यजन्तुले किसानको बालीनालीमा क्षति गरेमा क्षतिअनुसारको राहत पाउने जनाएको छ । बँदेल वा बाँदरले मकै बालीमा क्षति पु¥याए, किसानले क्षतिको आधारमा राहत पाउने कार्यालयका प्रमुख जीतेन्द्र महतले बताउनुभयो । २०७५ सालमा कपुरकोटका १३ जना किसानले वन्यजन्तुले मकैँबालीमा क्षति गरेपछि झण्डै दश हजारका दरले राहत पाएका थिए । तर त्यसयता कुनै पनि किसानले राहतका लागि माग गरेका छैनन् ।
‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० जारी भएको छ, सल्यानको परिप्रेक्षमा बाँदर र बँदेलले बालीनालीमा क्षति गरेको पाइन्छ, राहतको लागि किसानले वन कार्यालयमा निवेदन दिनुपर्छ’– उहाँले भन्नुभयो । उहाँले निवेदनमा घटना स्थलको सर्जिमन मुचुल्का, प्रहरी प्रतिवेदन, कृषि कार्यालय वा पशु सेवा कार्यालयका प्राविधिकले गरेको क्षतिको मूल्यांकन, घरजग्गाको लालपुर्जा अनिवार्य चाहिने बताउनुभयो ।
निवेदन दिएपछि जिल्लामा गठित समितिले राहत वितरणका लागि निर्णय गर्ने र त्यही निर्णयका आधारमा प्रदेश वन निर्देशनालयले कारवाही प्रक्रिया अघि बढाउने उहाँको भनाइ छ । यसका साथै सामुदायिक वनले पनि आम्दानीको पाँच प्रतिशत रकम वन्यजन्तुले गरेको क्षतिमा राहत वितरणका लागि खर्च गर्नसक्ने डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।