देश र व्यवस्थाको रक्षा माओवादीले गर्छ : नेता भण्डारी


सल्यान, ९ भदौ ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज नरेश भण्डारीले मुठिभर मान्छेको पन्जाबाट देशलाइ मुक्त गर्न आफ्नो पार्टी लागेको बताउनुभएको छ ।
हरेक दिन कुन भ्रष्टको हातमा हत्कडी लाग्छ त्यसको प्रतिक्षामा नागरिकहरु बसेको भन्दै उहाँले माओवादीले सरकारको नेतृत्व गर्दै भ्रष्टाचार विरोधी अभियान चलाइरहेको बताउनु भएको हो ।
पार्टीले संचालन गर्ने ३ महिने विशेष रुपान्तरण अभियानको सन्दर्भमा शुक्रबार सल्यान बागचौरमा भएको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको छ । अस्तित्वमा प्रश्न उठेकाबेला देशको नेतृत्व गर्ने अवसर पाएको माओवादी अव जनतामा फर्केर देशको व्यवस्थाको रक्षाकवच बन्नुपर्ने उहाँको भनाइ छ ।

कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका भण्डारीले सुशासनको लडाइमा माओवादीले नेतृत्व गरिरहेको र यस अभियानमा सबैलाई जोड्दै देशलाई भ्रष्टाचार मुक्त बनाउने बताउनुभयो ।
उहाँले गणतन्त्रको आकासमा प्रतिगामी बादल मडारिएका बेला जनतामा गएर रुपान्तरण हुने र व्यवस्थाको विरोधमा भएका कदमको भण्डाफोर गर्दै सहिदले देखाएको बाटोमा अघि बढ्न जनतासंग माओवादी अभियान संचालन गरिएको बताउनुभयो ।
उहाँले माओवादीले सञ्चालन गरेको तीन महिने अभियानमा जनतासँग नेता कार्यकर्ताले आत्मालोचना गर्नुपर्ने बताउनु भयो ।
पार्टीका जिल्ला संयोजक कृति बहादुर पुनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण ज्ञान बहादुर वलीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित