सिफारिस संयन्त्रलाई बैधानिकता दिइने

सल्यान, १० भदौँ ।

मानवअधिकारका क्षेत्रमा रहेर न्यायका लागि सहजीकरण गर्दै आएको सिफारिस संयन्त्रलाई बैधानिकता दिइने भएको छ । सिफारिस संयन्त्रले सबैक्षेत्रमा रहेका आवाज विहिन नागरिकको आवाज बोल्ने, कानुनी क्षेत्रमा सहजीकरण तथा वकालत र पैरवी गर्ने भएकाले यसलाई बैधानिकता दिने तयारी गरिएको हो । इन्सेकद्वारा सल्यानको खलंगामा आइतवार आयोजित छलफल कार्यक्रममा सिफारिस संयन्त्रका संयोजक गुमानसिंह नेपालीले उक्त विषयमा जोड दिनु भएको हो ।

मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना बढिरहेको अवस्थामा घटनाका पीडितलाई व्यवस्थित रेखदेख तथा एकीकृत रुपमा सहयोग प्रदान गर्ने प्रणालीको विकास गरी विभिन्न सेवा उपलब्ध गराउन गठन गरिएको सिफारिस संयन्त्रलाई प्रभावकारी ढङ्गले कसरी संचालन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको संयोजक नेपालीले जानकारी दिनुभयो ।

उहाँले इन्सेक कर्णाली प्रदेशसँग सिफारिस संयन्त्रलाई बैधानिकता दिनको लागि आवश्यक कार्यविधि वा खाका माग गरिने जानकारी दिनुभयो । सिफारिस संयन्त्रका विषयमा जिल्लास्थित सबै सरोकारवालालाई जानकारी गराउन समन्वयात्मक अन्तरक्रिया गर्नसके सिफारिस संयन्त्रको प्रभावकारिता अझै बढाउन सकिने छलफलका सहभागीहरूले सुझाव दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित