सन्दर्भ : १६ औँ पुस्तकालय दिवस [ पुस्तकालय, पुस्तक र हाम्रो समाज ]

पुस्तकालयको प्रयोग तथा पुस्तक पढ्दा समाजमा पार्ने सकारात्मक प्रभावहरुको बारेमा जबसम्म सचेतना फैलाउन सकिदैन तबसम्म हामीलाई आधुनिकताको नाममा डिजिटल दुनियाँले थिचारी रहनेछ ।

सल्यान, १५ भदौँ ।

पुस्तक+आलय मिलेर पुस्तकालय शब्द बन्छ । पुस्तक भन्नाले लिपिबद्ध वा छापिएका सामग्री भन्ने बुझिन्छ भने आलय भन्नाले घर, भवन वा स्थान । यसरी सामान्य अर्थमा पुस्तकालय भन्नाले पुस्तक राख्ने घर भन्ने बुझिन्छ । खास अर्थमा पुस्तकालय हुनका लागि पुस्तक तथा अन्य सामग्री, व्यवस्थापन र पाठक हुनुपर्दछ । पुस्तक तथा अन्य सुचना मुलक सामग्रीको संकलन, संरक्षण र व्यवस्थापन गरी सबै प्रकारमा पाठकले आवश्यक समयमा प्रयोग गर्न मिल्ने प्रणाली भएको स्थानलाई पुस्तकालय भनिन्छ । पुस्तकालयमा पुस्तकमात्र नभएर पत्रपत्रिका तथा डिजिटल सामग्री तथा विचार, भावना, अनुभव, दर्शन र सिद्धान्तमा आधारित पठन सामग्रीहरू हुन्छन् । पुस्तकालयको लक्ष्य पाठकलाई ज्ञान, सीप, धारणा र सूचना प्रदान गरी पठन संस्कृतिको विकास गर्नु हो ।

वि.सं. १८६९ भदौ १५ गते गिर्वाणयुद्धविक्रम शाहले ‘पुस्तक चिताही तवहिल’मा लालमोहर लगाएको दिनलाई सम्झेर २०६५ भदौ १५ गतेदेखि पुस्तकालय दिवस मनाउन शुरु गरिएको हो । २०८० साल भदौ १५ गते १६ औं पुस्तकालय दिवस विभिन्न कार्यक्रमका साथ देशभर मनाइँदैछ ।

पछिल्लो समय पछिल्लो अवस्थामा पुस्तकको प्रयोगमा कमी भएको हो त भन्ने अहं प्रश्न हो । के पुस्तक नपढेपनि हुन्छ त । हामीले प्रयोग गर्ने सामाजिक सञ्जाल या अनलाइन माध्यमहरुले हाम्रो पुस्तकको स्थान लिन सक्छन् होला त । सामान्यतया हेर्दा त्यस्तो देखिए पनि पुस्तकको महत्व र यसको संसार फरक रहेको छ । तथ्यांकहरुलाई नै हेर्ने हो भने आजको दिन सम्म पनि संसारभर प्रत्येक दिन नयाँ शीर्षकका २७०० पुस्तक प्रकाशन हुने गर्दछन् । यही तथ्यँंक हैर्दा मात्र पनि पुस्तक अहिले पनि संसारभरका पाठकका लागि भरपर्दाे ज्ञानको साथी र साधन हो भन्ने पुष्टि गर्दछ ।

एउटा भनाइ छ एउटा पाठक मर्नुअघि हजार जीवन जिउ‘ँछ अर्थात एउटा पाठक जसले पुस्तक पढ्छ उसले आफ्नै जीवनकालमा पुस्तकको माध्यमबाट संसार देख्न सक्छ जुन कुरा अरुले देख्ने अवसरबाट बञ्चित हुन्छन् । हामीकहाँ पुस्तक पढ्ने संस्कृति त छैन नै राज्यको संरचनाले समेत पुस्तक पढ्ने वातावरण निर्माण गर्न र पुस्तकालयमा लगानी गर्न हिचकिचाउँछ । हामीले हाम्रो सामान्य दिनचर्या पुस्तकको बारेमा छलफल गर्दै गर्न थाल्ने हो भने हाम्रो समाजको परिवर्तन अनि समाजमा प्राप्त हुने ज्ञान, सीपले सकारात्मक सोच निर्माण गर्न मद्दत पनि पुग्थ्यो होला ।

नेपालमा पुस्तक मोह घटेकै हो त ?

पछिल्लो समय पुस्तकालय र पुस्तक मोह कम भएको देखिए पनि कम भएको पटक्कै होइन बरु पछिल्लो पुस्ता पुस्तक बाट टाढा हुन खोजेको चाहिँ पक्कै हो । पछिल्लो चरणमा बढ्दै गएको प्रविधिको प्रयोग अव्यवस्थित डिजिटल प्रणाली सहितका सजिलो र विकाउ नारा र सामाजिक सञ्जालको अव्यवस्थित बढ्दो प्रयोगले पुस्तकले कम पाठक पाउन थालेकोप्रति चिन्ता जाग्नुपर्ने बेला भइसकेकको देखिन्छ । हाम्रा आनीबानी, राज्यका नीति र डिजिटल दुनियाँले सबैलाई हत्तु बनाएको छ । हामीलाई चाहिने सूचनाका लागि हामीले सामाजिक सञ्जालहरुको भर पर्न थालेका छौं जुन हाम्रो व्यक्तिगत जीवन मात्र होइन देशकै लागि प्रत्युत्पादक हुन सक्छ ।

अपुरो सूचना, अपुरो ज्ञान भएका मानिसहरुको संख्या बृद्धि मात्रै होइन समाजलाई नै त्यही प्रकारले निर्देशित गर्दै जाने हो भने हामीलाई हाम्रो अघिल्लो पुस्ताले सराप्ने छ ।

सबै पुस्तक सबैका लागि प्रयोग नहुन पनि सक्छन् तर पुस्तक पढ्नु पुस्तकको चिन्तन मनन गर्नु पुस्तकबारे चिन्ता गर्नु र पुस्तकमा भएका राम्रा कुराहरु समाजमा पुनर्जागृत गर्दै जानु वर्तमान समयमा आम सचेत मानिसको कर्तव्य हो । यदि हामीले यस्तो गर्न सकेनौं भने हामीले हाम्रो पछिल्लो पुस्तालाई न्याय गर्न सक्दैनांै । हामीले हाम्रा शैक्षिक संस्थाहरु पुस्तकमैत्री बनाउन सकेनौं फलस्वरुप सानै उमेरदेखि बालबालिकाको पढ्ने बानीमा विकास भएन । शैक्षिक संस्थाहरु पुस्तकालयको नाममा खरिदकर्ताको रुपमा मात्र प्रस्तुत हुन थालेको डरलाग्दो उदाहरणहरु प्रशस्त भेटिन्छन् । जब हामीले पाठकको स्तर अवस्था नबुझेर पुस्तक खरिद गर्र्छौं त्यो फगत ब्यापार मात्र हुने देखिन्छ । हाम्रा आधारभूत तह, माध्यमिक तहका विद्यालयहरुमा समेत बालबालिकाको स्तर पहिचान नगरी पुस्तक खरिद गर्ने प्रचलन बढ्दो मात्रामा पाइन्छ । जब पुस्तक प्रयोग हुदैन् या त प्रयोगको लागि होइन भने त्यो के का लागि हो त । पुस्तकलाई संरक्षण त जरुरी छ तर पाठकहरुको पहुँच बिनाको पुस्तकले पाठकलाई ज्ञान आर्जन गर्न मद्दत पुग्छ त भन्ने जस्ता यस्ता यावत चुनौतीहरु हाम्रा सामु छरप्रष्ट छन् ।

पछिल्लो समय संघीय संरचनापछि स्थानीय तहहरु नै सरकार भएकोले समाजमा पुस्तक पढ्ने, संरक्षण गर्ने वातावरण निर्माण गर्न उनीहरुको ठुलो भूमिका रहेको छ । कानुन त आफै पनि सरकार भएकोले स्थानीयस्तरमा पुस्तक पढ्ने वातावरण निर्माणका लागि पुस्तकालयहरु स्थापना गर्ने, व्यवस्थापन गर्ने जिम्मा समेत स्थानीय सरकारहरुले गर्न सक्छन् । यस प्रकारको कामका लागि हाम्रो पैरवी खबरदारी जरुरी  देखिन्छ । स्थापना भएका पुस्तकालयहरुको संरक्षण, रेखदेख जस्ता कार्यका लागि हामी स्वयंले वहस पैरवी गर्न जरुरी देखिन्छ ।

हामीकहाँ हुने गरेको लगानी पाठकका लागि होइन प्रकाशन गृहहरुका लागि हो कि भन्ने देखिन्छ ।

हामीकहाँ पुस्तकहरुको सही सदुपयोग र त्यसको प्रयोगका लागि व्यवस्थापनको अर्काे ठुलो समस्या रहेको छ । सार्वजनिक संस्थाहरु पुस्तक खरिद गर्ने तर त्यसको व्यवस्थापनमा ध्यान नदिने ठूलो समस्या रहेको छ । धेरै ठाउँमा पुस्तकहरु खरिद पछि प्रयोगका लागि व्यवस्थापन गरिएको हुँदैन यतिसम्म देखिन्छ कि खरिद पछि गोदाममा थन्काइएको र खेर गइरहेको प्रशस्त देख्न सकिन्छ । यसलाई व्यवस्थित गर्न आवश्यक जनशक्ति निर्माण गरी प्रयोग गर्न योग्य बनाई पुस्तकालयको प्रक्रियामा राख्नु अर्काे चुनौती देखिन्छ ।

पुस्तकालय प्रयोग तथा संरक्षणका लागि राज्यले नीति बनाउन जरुरी छ र भएका केही नीतिहरुलाई समेत कडाइका साथ लागु गर्न जरुरी देखिन्छ । वर्तमान अवस्थामा पुस्तकालय व्यवस्थापनको निश्चित मापदण्ड नभए पनि २०६४ सालमा नेपालमा पुस्तकालय तथा सुचना सेवा राष्ट्रिय नीति पारित गरिएको पाँच वर्ष पछि त्यसकै अधिकार प्रयोग गरी २०६९ फगुन ४ गते शिक्षामन्त्रीस्तरीय पुस्तकालय सूचना तथा व्यवस्थापन निर्देशिका २०६९ जारी भएको पाइन्छ । नेपाल सरकारले समेत पुस्तकालयहरुको वर्गीकरण तथा त्यसको प्रयोगका लागि को कहँँ कसरी जिम्मेवार हुने भन्ने जस्ता स्पष्ट नीति नबनाउँदासम्म हाम्रा पुस्तकालयहरु व्यवस्थित हुने अवस्था देखिदैन भने जसको प्रयोगका लागि आम पाठक पनि तयार हुने अवस्था छैन ।

पुस्तकालयको प्रयोग तथा पुस्तक पढ्दा समाजमा पार्ने सकारात्मक प्रभावहरुको बारेमा जबसम्म सचेतना फैलाउन सकिदैन तबसम्म हामीलाई आधुनिकताको नाममा डिजिटल दुनियाँले थिचारी रहनेछ ।

हामीसँग प्रशस्त अवसर हरु नभएका पनि होइनन् तर त्यसलाई सबैसामु पु¥ याउन अनि पुस्तक पढ्ने बानीको विकास गर्न प्रभावकारी संयन्त्र मात्रै होइन यसको प्रयोगले हाम्रो समाजलाई दिने सकारात्मक सचेतनाको बारेमा पाठ्यक्रममै समेटेर अगाडि बढ्न सकिन्छ । भएका संरचना र कानुनलाई अझ सहीढंगले प्रयोग गर्ने बनाउन सकिन्छ । हाम्रा शैक्षिक संस्थालाई पुस्तक र पुस्तकालयमैत्री बनाउन सकिने प्रशस्त आधारहरु रहेका छन् । भएकै संरचना तथा पुस्तकालयहरुलाई पनि व्यवस्थित गरेर पुस्तकालयका पुस्तकहरु पढ्नका लागि हुन न कि सजाउनका लागि मात्र भन्ने सामान्य चेत खोलिदिदा पनि हाम्रो समाजमा पठन संस्कृतिको विकास हुन्छ, आम मानिसमा पढ्ने बानीको विकास हुनेछ । जसको कारण जिम्मेवार नागरिक निर्माण भई प्रत्यक्ष या परोक्ष फाइदा राष्ट्रलाई नै हुने देखिन्छ । अन्तमा, ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने नारासहित मनाउन थालिएको १६ औँ पुस्तकालय दिवसको सबैमा शुभकामना ।

0000

‘लेखक शाही लामो समयदेखी पत्रकारिता र शिक्षाक्षेत्रमा काम गर्दै आउनुभएको छ ।’

 

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित