सल्यान, १५ कार्तिक ।
कार्तिक १२ गते आइतवार शारदा नगरपालिका–१ शान्तिनगरमा बस्ती नजिकै शारदा नदिको किनारमा मृत अवस्थामा हुँडार भेटियो । अन्दाजी ८ बर्ष जतिको हुँडार टाउको काटिएको अवस्थामा मृत भेटिएको हो । कसैले मारेर फालेको हो वा के कारणले हुँडार मरेको भन्ने कारण खुल्न सकेको छैन् ।
साउन २४ गते बन्गाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजारकोट सडक खण्डमा हुँडार मृत भेटियो । जप्रतिनिधि, बन्गाड कुपिण्डे सव–डिभिजनका कर्मचारी र स्थानियको सहभागितामा हुँडारलाई भेरी नदि किनारमा गाडियो । तर के कारणले हुँडार मरेको हो भन्ने थाहा हुन सकेन् ।
असार ४ गते सल्यानको छत्रेश्वरी गाउँपालिका–६ र ७ को सिमाना कल्लेखोलामा हुँडार मृत फेला प¥यो । मर्निङ वाकमा निस्केका स्थानियले हुँडार मृत अवस्थामा देखिपछि प्रहरी र वन कार्यालयलाई खबर गरे । जंगली जनावरका लागि थापिएको पासोमा परेर हुँडार मरेको अनुमान गरिएपनि हुँडार मर्नुको कारण पत्ता लाग्न सकेन् ।
पछिल्लो समय जिल्लामा संरक्षित वन्यजन्तु हुँडार (हाइना) असुरक्षित बन्न थालेका छन् । विगत तीन बर्षमा जिल्लामा संरक्षित वन्यजन्तुको सुचीमा पर्ने पाँच वटा हुँडार मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय सल्यानको तथ्यांकमा उल्लेख छ । केही बर्षअघि घाइते हुँडारको उद्धार गरेर उपचार पश्चात जंगलमा छोडिएको भएपनि अहिले मृत अवस्थामा हुँडार भेटिने क्रम बढेको कार्यालयका सहायक विजय पुलामी मगरले जानकारी दिनुभयो ।
स्थानीय भाषामा गधेबाघको नाममा परिचित हुँडारको पछिल्लो समय संरक्षणमा चुनौती थपिएको उहाँको भनाइ छ । चालु आर्थिक बर्षको हाल सम्ममा दुई वटा हुँडार मृत अवस्थामा भेटिएका छन् । यस्तै गत आर्थिक बर्ष २०७९/८० मा एक वटा र अघिल्लो आर्थिक बर्ष २०७८/०७९ मा दुई वटा हुँडार मृत अवस्थामा भेटिएका हुन् ।
कार्यालयका निमित्त प्रमुख (सहायक बन अधिृकत) चन्द्र बहादुर गुरुङ्गले मानव र वन्यजन्तुका विचमा द्धन्द्ध उत्पन्न हुदा संरक्षित वन्यजन्तुको सुचीमा रहेको वन्यजन्तुको पनि संरक्षण गर्न कठिनाइ भएको बताउनुभएको छ । ‘हुँडार संरक्षित वन्यजन्तु हो भन्ने सम्म कतिपय नागरिकलाई थाहा छैन्, बालीनालीमा असर गर्छ भनेर बदेँल, दुम्सी आदीको लागि थापिएको पासोमा परेर हुँडार मर्ने गरेको पाइन्छ’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार मरेको जनावरको सिनो खाने हुँडारले खासै असर गरेको पाइदैन् । ‘वनक्षेत्रको अतिक्रमण बढेको छ, हुँडारको बासस्थान मासिदै गएका छन्, घासँ, दाउँरा, स्याउला, काठ आदीको लागि समुदायले वनको उपयोग गर्दै आएका छन्, खडेरीमा जंगलमा आगलागी हुन्छ, आहार र सुरक्षा खोज्दै हुँडार बस्ती नजिक आउँछन्’ उहाँले भन्नुभयो ‘मानविय क्रियाकलापले हुँडार मर्ने गरेका छन् ।’
संरक्षित क्षेत्रभित्र तथा बाहिरका वनमा अतिक्रमण बढ्नु, आहाराजन्य प्रजातिको सङ्ख्या घट्नु, विष तथा पासो प्रयोग गरी मार्ने प्रवृत्ति बढ्नु, यसको आवतजावतका लागि वन्यजन्तु अनुकूल विकास पूर्वाधार नबन्नु हुँडार संरक्षणको मुख्य चुनौतीको रुपमा रहेको उहाँको भनाइ छ । यस्तै हुँडारको बासस्थान मासिनु र त्यतातर्फ बसाइँसराइ बढ्नु पनि हुँडारको संख्यामा कमि आउनुको कारण हुन सक्छन् ।
‘वनक्षेत्र हुँदै गरिने विकासले वन्यजन्तुको वासस्थानलाई खण्डीकरण गरेको छ, विकासपछि हुने चहलपहलले पनि धेरै ठूलो असर गरेको छ, पछिल्लो समय मानव र वन्यजन्तुका विचमा द्धन्द्ध चर्किएको छ, यस क्रममा विषादी हाल्ने, जालमा पार्ने एवं मार्ने लगायतका कार्य भैरहेका छन्’ उहाँले थप्नुभयो ‘धेरैजसो समुदायहरू दाउरा, घाँस, स्याउला तथा चरिचरणका साथै थप आम्दानी दिने वन पैदावरका लागि जंगलमा भरपर्दा हुँडारलाइ समस्या भएको छ ।’
हुँडारको संरक्षणका लागि सामुदायिक वन उपभोक्ता समिती र स्वयम् नागरिक नै सचेत बन्नुपर्ने गुरुङ्गको भनाइ छ । ‘हुँडार मृत भेटिन्छन्, हुँडार मार्ने मान्छे भेटिदैनन्, संरक्षित वन्यजन्तु हुँडार मारेको खण्डमा ऐन अनुसार १५ बर्षसम्म कैद वा डेढ लाख देखी पाँच लाख रुपैँया सम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ’ उहाँले भन्नुभयो ‘जिल्लामा रहेको हुँडारको गणना नभएपनि जिल्लाको हावापानी हुँडारको लागि उपयुक्त भएकाले हुँडारको संख्या धेरै हुनसक्ने अनुमान गरेका छौँ ।’
सुरक्षित छैनन् घोरल र रतुवा
जिल्लामा घोरल र रतुवा प्रशस्त मात्रामा पाइन्छन् । चोरी सिकारी गर्ने, पासो थाप्ने, लखेट्ने, मारेर खाने जस्ता कार्यले जिल्लामा रहेका घोरल र रतुवा पनि असुरक्षित बनेका छन् । कार्यालयका अनुसार गएको आर्थिक बर्ष २०७९/०८० मा जिल्लाभर चार वटा रतुवा मृत भेटिएका छन् भने दुई वटा घोरल मृत भेटिएका छन् ।
यस्तै आर्थिक बर्ष २०७८/०७९ मा घोरल चार वटा र तीन वटा रतुवा मृत भेटिएका छन् । यस्तै आर्थिक बर्ष २०७७/०७८ मा घोरल एक वटा र रतुवा चार वटा मृत भेटिएका छन् । यसअवधिमा केही घोरल, रतुवा, खरायो, काकाकुल आदीको जीवित उद्धार गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।