देशमा आर्थिक र सामाजिक रुपान्तरण बाँकी : महासचिव गुरुङ

उहाँले राजनितिक परिवर्तनले देशमा संविधान जारी भएर संघियता कार्यान्वयनको चरणमा पुगेपनि आर्थिक र सामाजिक रुपान्तरण भने अझै बाँकी रहेको बताउनुभएको हो ।

सल्यान, १६ मंसिर ।
नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले देशमा आर्थिक र सामाजिक रुपान्तरण अझै बाँकी रहेको बताउनुभएको छ । उहाँले राजनितिक परिवर्तनले देशमा संविधान जारी भएर संघियता कार्यान्वयनको चरणमा पुगेपनि आर्थिक र सामाजिक रुपान्तरण भने अझै बाँकी रहेको बताउनुभएको हो । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सल्यानले शनिवार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो वताउनुभएको हो ।

‘राजनितिक क्रान्ति पुरा भएको छ, तर आर्थिक, सामाजिक रुपान्तरणको क्रान्ति अझै बाँकी नै छ, हामी मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढेका छौँ’ उहाँले भन्नुभयो ‘लामो समयको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धिलाई प्रतिगामी शक्तिहरुले उल्टाउने प्रयास गरेका छन् ।’ कतिपय प्रतिगामी शक्ति परिवर्तनका मुद्धा उल्ट्याएर मुलुकमा द्वन्द्व पैदा गर्न खोज्ने तत्व र संकेत देखिएको उहाँको भनाइ छ ।

‘परिवर्तनका क्रममा केही कमीकमजोरी भएको भए त्यसलाई सच्याएर अघि बढ्न सकिन्छ, तर व्यवस्था नै फाल्न सकिदैन्, देशमा राजतन्त्र र हिन्दुराष्ट्रको नारा बेकार छ’ महासचिव गुरुङले अघि भन्नुभयो ‘पुँजीवादलाई समाजवादमा रुपान्तरण गर्न सकिन्छ तर दुर्गा प्रसाई जस्ता केही तत्वको अभियान घोर पश्चगामी हो, विदेशी शक्ति केन्द्र भित्र्याउन, अस्थिरता र द्वन्द्वतिर लैजान यो अभियान थालिएको हो, यो सफल हुदैन् ।’

उहाँले हिंसात्मक र मुलुकलाई द्वन्द्वतर्फ धकेल्न नदिन सरकार गम्भीर रहेको बताउनुभयो । पत्रकार सम्मेलनमा पार्टीका प्रदेश अध्यक्ष बिमला केसी, जिल्ला इन्चार्ज नरेश भण्डारी, जिल्ला समन्वय समितीका उपप्रमुख असविर बुढाथोकी, पार्टीका जिल्ला संयोजक कृति बहादुर पुन लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस