सल्यान, २१ मंसिर ।
अग्ला पहाडका विचमा कुपिण्डो आकारमा सजिएर बर्षमा तीन पटक रंग फेर्छ सल्यानको कुपिण्डे तालले । सुन्दर र शान्त वातावरण, ताल वरिपरीको हरियाली जंगल, चराचुरुगींको आवाज, डुंगामा शयर गर्नुको मज्जा बेग्लै छ । तर संरक्षण र उचित व्यवस्थापनको अभावमा पनि कुपिण्डे मुस्कुराइ रहेको धेरैलाई थाहा नहुन सक्छ ।
नेपाल सरकारले घोषणा गरेको सय पर्यटकीय गन्तव्यमध्येको एक हो कुपिण्डे ताल । धार्मिक तथा पर्यटकिय गन्तव्य भएपनि कुपिण्डेको उचित व्यवस्थापन र संरक्षणको अभावमा बर्षेनी पुरिदैँ गएको छ । ताल वरिपरीको फोहोरले झन् कुपिण्डेको सौन्दर्यता नै हराउदैँ जानथालेको छ । अहिले ताल जाने बाटो, मन्दिर वरिपरीको क्षेत्र, ताल किनार र त्यस आसपासको क्षेत्र फोहोरले भरिएको छ ।
पछिल्लो समय ताल वरिपरी फोहोरका थुप्राहरु बढ्दै गएकोमा स्थानिय राम बहादुर रानाले चिन्ता व्यक्त गर्नुहुन्छ । ‘ताल धार्मिक तथा पर्यटकिय गन्तव्य हो, तालमा दशकौँ पहिलेदेखी घुम्न आउने, डुंगा चढ्ने, मन्दिरमा पुजा गर्नेको भिड लाग्दै आएको हो, त्यो बेला फोहोर हुदैँन्थ्यो, मान्छेले उतैबाट खानेकुरा बोकेर आएका हुन्थ्ये, एकठाउँमा बसेर खान्थ्ये’ उहाँले भन्नुभयो ‘अहिले फोहोरको त कुरै नगरौँ ।’
कुपिण्डेमा वनभोज खान आएकाले बढी मात्रामा फोहोर गर्ने गरेको उहाँको भनाइ छ । ‘खसी कुखुरा ल्यायो, यही क्षेत्रमा बथ गर्यो, खानेकुरा यही पकायो, त्यसको फोहोर त्यस्तै छ, स्थानियले राखेका खाजा पसलको फोहोर पनि त्यस्तै छ’ उहाँले थप्नुभयो ‘बियरका बोतल, पानीका बोतल, चाउचाउ, बिस्कुट, लगाएतका प्लाष्टिक देखी बच्चाले प्रयोग गरेका डायपटसम्म यत्रतत्र छन्, यसले गर्दा तालको सौन्दर्यतामा चुनौती थपिएको छ ।’
स्थानिय होस् या घुम्न आएकाले होस, खाना, खाजा खाएर फालेका प्लाष्टिक, बोतल लगाएतको फोहोरको उचित व्यवस्थापन नहुदा ताल वरिपरीको क्षेत्र दुर्गन्धित बनेको अर्का स्थानिय ओमनाथ कवरले बताउनुभयो । विगतमा ताल संरक्षण समिती थियो । तर करिब २ बर्षदेखी ताल संरक्षण समिती छैन् । यसले गर्दा फोहोर व्यवस्थापन नै मुख्य समस्या भएको उहाँको भनाइ छ ।
‘२ बर्ष पहिलेसम्म कुपिण्डेमा ताल संरक्षण समिती थियो, तालको संरक्षण, रेखदेख, फोहोर व्यवस्थापन लगाएका कार्य यही समितीले गर्दै आएको थियो, अहिले समितीको कार्यकाल सकिएको लामो समय भैसक्यो, नयाँ समिती गठनमा राजनितिक दाउपेच देखिन्छ’ उहाँले भन्नुभयो ‘स्थानिय मिलेर केहिलेकाही फोहोर संकलन गरेर जलाउने गरेका छौँ, यसलाई नियमितता दिन सकेका छैनौँ ।’
ताल प्रवेशको प्रतिव्यक्ति १५ रुपैँया उठाउदैँ स्थानिय सरकार
धार्मिक तथा पर्यटकिय गन्तव्य भएकाले ताल घुम्न आउनेको जमात धेरै छ । कोही वनभोज, खान, डुंगामा शयर गर्न आउँछन् त कोही मन्दिरमा पुजाआजा गर्नका लागि आउँछन् । बन्गाड कुपिण्डे नगरपालिकाले भने दैनिक रुपमा ताल घुम्न आउने पर्यटकसँग पैसा उठाउदैँ आएको छ । त्यो रकम कहाँ खर्च हुन्छ भन्नेमा स्थानिय नै अनविज्ञ छन् । यसबर्ष पनि वली कन्स्ट्रक्सनले तालघुम्न आउने पर्यटकसँग अनिवार्य रुपमा प्रतिव्यक्ति १५ रुपैँया उठाउँदै आएका छ ।
सवारीसाधनको छुट्टै प्रवेश शुल्क उठाउने गरिएको कन्स्ट्रक्सनका प्रतिनिधि मनविर पुन मगरले बताउनुभयो । ‘हामीले टेण्डर मार्फत यो ठेक्का पाएका हौँ, नगरपालिकासँग एक बर्षको सम्झौता छ, हामीले यहाँ आउने व्यक्तिसँग १५ रुपैया, विदेशी नागरिकसँग १०० रुपैँया लिन्छौँ, बसको पार्किङ शुल्क ११५ रुपैँया, मिनि बस हाइक्सको ९० रुपैँया, जिप, कार, ट्याक्सीको ६० रुपैँया, अटोको ३५ रुपैँया, मोटरसाइकल, स्कुटरको २२ रुपैँया उठाउदैँ आएका छौँ, यो नगरपालिकाले नै ताकिदिएको हो’ उहाँले भन्नुभयो ।
जसबाट एक बर्षमा नगरपालिकालाई ४ लाख रुपैँया बुझाउनुपर्ने सम्झौता रहेको उहाँको भनाइ छ ।
पर्यटकको संख्या बर्षेनी घट्दैँ
२३ दशमलव ५३ हेक्टर क्षेत्रफलमा फैलिएको तालको लम्बाइ ८३४ मिटर र चौडाइ २५० मिटर रहेको छ । कुनै समय यस तालमा घुम्न दैनिक ३ सय बढी आन्तरिक पर्यटक आउने गर्दथेँ । तर पछिल्लो समययता भने ताल घुम्न आउनेको संख्या घटेको मन्दिरका पुजारी तिलक बहादुर गोसाईले बताउनुभयो । कार्तिक र मंसिर पर्यटक आउने सिजन भएपनि विगतको जस्तो उल्लेख्य मात्रामा पटर्यक आउन छोडेको उहाँको भनाइ छ ।
‘यो सिजनमा पहिले त पुजारीलाई खाजा खाने समेत फुर्सद हुन्थेन्, दिनभरजसो दर्शनार्थीको मन्दिरमा भिड हुन्थ्यो, पालो भेटाउन सजिलो हुन्छ भनेर कतिपय अघिल्लो दिनमा नै बास यही आउँथे, तर अहिले त गाडीमा सररर आयो, पुजापाठ गर्यो, यसो वरपर घुमघाम गर्यो अनि गयो, यस्तो खालको जमात नै धेरै छ’ उहाँले भन्नुभयो । खानेबस्ने होटल नहुनु, सरसफाई नहुनु, सडकको स्तरोन्नति नहुनु लगाएतका कारण पर्यटकको संख्यामा कमी आएको उहाँको भनाइ छ ।
तालसम्म घुम्न आउने आन्तरिक पर्यटकले पनि तालको संरक्षण र व्यवस्थापन फितलो भएको गुणासो गर्छन् । सुर्खेतबाट घुम्न आउनुभएका सुरेन्द्र खत्रीले कुपिण्डे ताल पर्यटकको आकृर्षक भएपनि ताल वरिपरीको व्यवस्थापन कमजोर भएको गुणासो गर्नुभयो । तालमा घुम्न आउने पर्यटकले फालेका फोहोरका कारण ताल वरिपरीको क्षेत्र प्रदुषित हुँदै गइरहेको स्थानिय सरकार बताउँछ । तालको संरक्षण र व्यवस्थापन गर्ने क्षेत्राअधिकार कसको हो भन्ने बारेमा अन्यौलता हुदा समस्या भएको जनाइएको छ ।
ढुंगामाटोले पुरिदैँ कुपिण्डे ताल
कुपिण्डे ताल संरक्षणको अभावमा पुरिन थालेको छ । ताल वरपरका खोलामा तटबन्ध नहुँदा ताल बर्सेनि पुरिँदै जान थालेको हो । अव्यवस्थित सडक निर्माणका कारण ढुंगामाटो बगेर तालमा आउँदा ताल वर्षैपिच्छे पुरिँदै गएको हो । मन्दिरको छेउसम्म पानी हुने गरेको ताल अहिले पूर्व, दक्षिण भागबाट पुरिँदै गएको छ । तालको करिब २०० मिटरभन्दा बढी पुरिएको छ ।
पूर्वदक्षिण भागको ठाडो खोलामा गल्छी निर्माण गर्न सम्बन्धित निकायलाई बारम्बार आग्रह गरे पनि बेवास्ता गरिएको स्थानियको भनाइ छ । खलंगा–सल्लीबजार सडक निर्माणका क्रममा बगेको माटो र ढुंगाले ताललाई धेरै क्षति पु¥याएको छ । यस्तै ताल भएर नै आगरनेटा लगाएतका बस्तीमा जाने सडकका कारण पनि ताल जोखिममा परेको छ ।