सल्यानमा खोटो बेचेरै बर्षेनी तीन करोड आम्दानी

आम्दानीको २५ प्रतिशत वन व्यवस्थापनमै खर्च गरेका सामुदायिक वनहरुले खोटो बिक्री गरेर आएको रकममध्ये ५० प्रतिशत समुदायकै विपन्न वर्गको आयआर्जन र बाँकी २५ प्रतिशत रकम सामुदायिक विकासमा लगाउँदै आएको वन समूहहरुले बताएका छन् ।

सल्यान, १३ माघ ।
सल्यानका सामुदायिक वन समूहहरूले सल्लाको खोटो बचेर करोडौं आम्दानी गरेका छन् । आम्दानीको २५ प्रतिशत वन व्यवस्थापनमै खर्च गरेका सामुदायिक वनहरुले खोटो बिक्री गरेर आएको रकममध्ये ५० प्रतिशत समुदायकै विपन्न वर्गको आयआर्जन र बाँकी २५ प्रतिशत रकम सामुदायिक विकासमा लगाउँदै आएको वन समूहहरुले बताएका छन् ।

दशवटा स्थानीय तह रहेको सल्यानमा छ सय १३ वटा सामुदायिक वन समूह छन् । तीमध्ये धेरैले खोटो बिक्री गर्छन् र आम्दानीको ५० प्रतिशत समुदायको जीविकोपार्जनमा लगाउँछन् भने २५ प्रतिशत सामुदायिक काममा खर्च गरिरहेको वन डिभिजन कार्यालय सल्यानले जनाएको छ ।

दशवटा पालिकामा चालु आर्थिक वर्षको छ महिनामा मात्रै सामुदायिक वनहरुले १४ लाख ३२ हजार पाँच सय छ किलो खोटो संकलन गरेर एक करोड ४६ लाख ११ हजार पाँच सय ६७ रुपैयाँ आम्दानी गरेका छन् । वार्षिकरुपमा हेर्दा समूहहरुले वर्षेनि खोटोबाट मात्रै तीन करोड रुपैयाँ आम्दानी गर्दै आएको वन कार्यालयका फरेष्टर देबेन्द्र महतले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै शारदा नगरपालिकाका वन समूहहरुले तीन लाख ३६ हजार तीन सय १८ किलो खोटो बेचेर ३४ लाख ३० हजार चार सय ५१ रुपैयाँ आम्दानी गरेका छन् । यस्तै बागचौर नगरपालिकाबाट दुई लाख ३० हजार एक सय १ किलो खोटो बेचेर २३ लाख ४७ हजार ३० रुपैयाँ वन समूहले आम्दानी गरेको पाइएको छ भने छत्रेश्वरी गाउँपालिकाका वनहरुले एक लाख ७६ हजार पाँच सय ६६ किलो खोटोबाट १८ लाख नौ सय ७८ रुपैयाँ कमाएका छन् ।

यस्तै कपुरकोट गाउँपालिकाका वनहरुले एक लाख ६८ हजार ९६ किलो खोटो बेचेर १७ लाख १४ हजार पाँच सय ८४, त्रिवेणीका वनहरुले एक लाख ४१ हजार आठ सय १३ किलो खोटोबाट १४ लाख ४६ हजार चार सय ९७, सिद्धकुमाख गाउँपालिका वनहरुले एक लाख ४१ हजार छ सय दुई किलो खोटो बेचेर १४ लाख ४४ हजार तीन सय ४० रुपैयाँ आम्दानी गरेका छन् ।

एक लाख १६ हजार तीन सय २४ किलो खोटो बेचेर कुमाख गाउँपालिकाका वनहरुले ११ लाख ८६ हजार पाँच सय छ रुपैयाँ आम्दानी गरेका छन् भने बनगाड कुपिण्डे नगरपालिकाका वनहरुले ९१ हजार नौ सय १२ किलो खोटो बेचेर नौ लाख ३७ हजार पाँच सय छ रुपैयाँ, २० हजार आठ सय आठ किलो खोटो बेचेर दार्मा गाउँपालिकाका वनहरुले दुई लाख १२ हजार दुई सय ४१ रुपैयाँ र सबैभन्दा कम कालिमाटी गाउँपालिकाका वनहरुले आठ हजार नौ सय ६३ किलो खोटो बेचेर ९१ हजार चार सय २९ रुपैयाँ आम्दानी गरेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।

सल्लेरी क्षेत्र बढी भएको सल्यानमा सामुदायिक वनहरुले खोटो बेचेर आम्दानी गरेको रकम वन र सामुदायिक सेवामै खर्चिएका छन् । उनीहरुले सामुदायिक वन उपभोक्तालाई ग्याँस चुलो वितरण, विद्यालयमा शिक्षकलाई तलव, सडक निर्माण, मन्दिर निर्माण, खानेपानी आयोजना निर्माणजस्ता थुप्रै सामुदायिक कार्यमा खर्च गरेको सामुदायिक वनहरुले जनाएका छन् ।

शारदा नगरपालिका–१२ स्थित बागेश्वरी सामुदायिक बन समुहका पुर्वअध्यक्ष बिनोद चलाउनेका अनुसार यस बन समुहले बर्षेनी खोटो बिक्रीबाट करिब ४ लाख रुपैँया आम्दानी गर्दै आएको छ । खोटो संकलन गर्ने कम्पनीले प्रतिकेजी १२ रुपैयाँका दरले सल्लाको खोटो खरिद गर्ने गरेको छ । ‘विचमा २ बर्षजति खोटो संकलन भएन्, अहिले फेरी खोटो संकलन गर्न थालिएको छ, वन समूहले अनुमति दिएपछि कम्पनीले ज्यामी लगाएर जंगलमा खोटो संकलन गर्ने गर्दछ’ उहाँले भन्नुभयो ।

खोटोमात्र निकाल्दा रूखलाई फरक नपर्ने भए पनि सुक्खा समयमा डढेलो लाग्यो भने रूखलाई असर गर्ने उहाँको भनाइ छ । ‘रूखबाट कम्तीमा पनि १० वर्षसम्म निरन्तर खोटो निकाल्न सकिन्छ तर आगोले भेटेमा रूखै मर्ने सम्भावना हुने गर्दछ,’ उहाँले भन्नुभयो, ‘खोटो निकाल्दैमा रूख केही हुँदैन, आगोबाट बचाउन भने ध्यान दिनुपर्छ, खोटोबाट आएको आम्दानी पहिला वन व्यवस्थापनमा र बाँकी रहेको अरु सामाजिक काम खर्च हुन्छ ।’

छत्रेश्वरी गाउँपालिका–४ मा रहेको जिम जनप्रिय सामुदायिक बन समुहका अध्यक्ष जनकराज वलीले बनले विगत एक दशकदेखी सल्लाको रुखबाट खोटो संकलन हुदै आएको बताउनुभयो । अहिले पुराना रुख बुढा भएकाले २ बर्षयता सिमित क्षेत्रमा मात्रै खोटो संकलन गर्न थालिएको उहाँको भनाइ छ । ‘यसबर्ष २ सय बाकसजति खोटो संकलन भएको छ, गतबर्ष करिब ५० हजार आम्दानी भएको थियो, वनको आम्दानी भनेकै खोटो हो, हामीले वन व्यवस्थापन बाहेक अरुमा खर्च गरेका छैनौँ’ उहाँले भन्नुयो ।

जिल्लामा चैत देखी कार्तिक सम्म करिब ८ महिना खोटो संकलन गर्ने गरिन्छ । हिउँदमा चिसोका कारण कम खोटो निस्कने भएकाले त्यो बेला खोटो निकाल्ने गरिदैँन् । जिल्लामा खोटो निकाल्नको लागि केही जिल्लाकै ज्यामीले काम गर्छन् भने रोल्पा र दाङबाट पनि काम गर्न आउने गर्छन् ।

वर्षेनि झण्डै तीन करोड आम्दानी

आर्थिक वर्ष ०७९/८० मा सल्यानका सामुदायिक वनहरुले २६ लाख ९८ हजार पाँच सय ६८ किलो खोटोबाट दुई करोड ७५ लाख २५ हजारतीन सय ९९ रुपैयाँ आम्दानी गरेका थिए । कार्यालयका अनुसार खोटो किन्ने कम्पनीले समूहबाट खरिद गर्दा प्रतिकिलो १२ रुपैयाँ र निकासी कर प्रतिकिलो ५० पैसा तिर्छन् । त्यो १२ रुपैयाँको ८५ प्रतिशत रुपैयाँ वन समूहले पाउँछन् भने बाँकी १५ प्रतिशत रुपैयाँ प्रदेश सरकारलाई जान्छ ।

महतका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा दुई हजार पाँच सय २६ दशमलव ९० मेट्रिक टन खोटोबाट तीन करोड तीन लाख २२ हजार आठ सय ५० रुपैयाँ वन समूहमा जम्मा भएको थियो । यस्तै आर्थिक वर्ष २०७७/०७८ मा दुई हजार पाँच सय ७४ दशमलव ०८ मेट्रिक टन खोटोबाट तीन करोड आठ लाख ८८ हजार नौ सय ६० रुपैयाँ, आर्थिक वर्ष २०७६/०७७ मा एक हजार सात सय ८२ दशमलव ४३ मेट्रिक टन खोटोबाट दुई करोड १३ लाख ८९ हजार ४० रुपैयाँ र आर्थिक वर्ष २०७५/०७६ मा दुई हजार छ सय ५३ दशमलव ६५ मेट्रिक टन खोटोबाट तीन करोड १८ लाख ८३ हजार आठ सय रुपैयाँ वन समूहमा जम्मा भएको थियो ।

विगतका वर्षहरुमा खोटो संकलन गर्ने कम्पनीले दिने प्रतिकिलो १२ रुपैयाँ सबै वन समूहमा जम्मा हुने गरेको भए पनि गत वर्षदेखि ८५ प्रतिशत रकम वन समूहमा र बाँकी १५ प्रतिशत रकम प्रदेश सञ्चित कोषमा जम्मा हुने गरेको छ ।

खोटोबाट फाइदा पनि नोक्सानी पनि

सल्लाबाट निकालिने खोटो विभिन्न काममा प्रयोग हुने तार्पिन तेल र पेन्ट गर्ने रङ बनाउन कच्चा पदार्थका रूपमा प्रयोग हुने गरेको छ । जिल्लामा ६ वटा कम्पनीले बन समुह मार्फत खोटो संकलन गर्दै आएका छन् । सामुदायिक वन समूहहरूले बोक्रा ताछेर सल्लाको रूखबाट खोटो निकाल्न थालेपछि गर्मी मौसममा डढेलोका कारण सल्ला सुक्दै जाने चिन्ता स्थानीयको छ । वन कार्यालयका सुचना अधिकारी चन्द्रविर गुरुङ्गले खोटो संकलन निर्देशिका अनुसार खोटो संकलन गरेमा सल्लाको खोटोबाट फाइदा हुने बताउनुभयो । र नोक्सानी दुवै हुने बताउनुभयो ।

‘खोटो संकलन गर्ने ज्यामी र बन उपभोक्ता समितीलाई तालिम दिने, ९५ सेन्टिमिटर भन्दा सानो रुखबाट खोटो ननिकाल्ने, बोक्रा ताछ्दा, घाउ लगाउदा ख्याल गरिनुपर्छ, निर्देशिका अनुसारकै भएमा यसले रुखलाई खास असर गर्दैन्’ उहाँले भन्नुभयो ‘जथाभावि खोटो संकलन गरेको खण्डमा रुख सुक्ने, आगलागी भएको बेलामा धेरै क्षति हुने सम्भावना बढी हुन्छ, त्यस्तोबेला खोटोबाट फाइदा मात्रै नभएर नोक्सानी पनि हुन्छ ।’ रूखबाट आम्दानी लिने वन समूहकै उपभोक्ताले बनलाई आगलागीबाट बचाउन ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

आम्दानीको २५ प्रतिशत रकम वन व्यवस्थापनमा

वन समूहहरुले कुल आम्दानीको २५ प्रतिशत हुन आउने रकम वन व्यवस्थापनकै क्षेत्रमा खर्च गरेका छन् । डिभिजन वन कार्यालयका प्रमुख जितेन्द्र महतले जिल्लाका सबै वन समूहले आम्दानीको २५ प्रतिशत रकम वन व्यवस्थापनमा लगानी गर्नैपर्नेमा जोड दिइएको बताउनुभयो । ‘यहाँका अधिकांश वन समूहको आम्दानीको स्रोत भनेकै खोटो हो, वर्षेनि ती वन समूहले खोटोबाट लाखौं आम्दानी गर्दै आएका छन्, हामीले आम्दानीको २५ प्रतिशत वन व्यवस्थापनमा नै लगानी गर्नुपर्ने कार्यलाई कडाइका साथ लिएका छौं’– उहाँले भन्नुभयो– ‘त्यो रकम डढेलो नियन्त्रण, बृक्षारोपण, झाडी सरसफाइ, हाँगा कटान लगायतका कार्यमा लगानी गर्न सकिन्छ ।’

यस वर्ष वन कार्यालयले जिल्लाका आठ स्थानमा वन व्यवस्थापन अभ्यास सञ्चालन गर्ने तयारी गरेको उहाँको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित