सल्यान, ३० जेठ ।
नेपाली काँग्रेसका नेता एनपी साउदले सरकारको नेतृत्व गर्न नेपाली काँग्रेस तयार रहेको बताउनुभएको छ । विगतमा दुईतिहाइ भन्दा बढी सिट क्षमता भएको एमाले–माओवादीको गठबन्धन भत्किदा पनि २३ सिट भएको काँग्रेसले ससंद बचाएको बताउदैँ उहाँले अहिलेको सत्तागठबन्धन धर्मराएको अवस्थामा सरकारको नेतृत्व गर्न काँग्रेस तयार भएको बताउनुभएको छ । नेपाली काँग्रेस सल्यानले मंगलबार खलंगामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
काँग्रेस केन्द्रिय सदस्य साउदले संसदमा जति सिट क्षमता भएको पार्टी भएपनि राम्रो छवि भएको व्यक्ति मात्रै प्रधानमन्त्री हुनुपर्ने बताउनुभयो । अहिले काँग्रेस प्रतिपक्षमा रहेकाले संविधान र लोकतन्त्रको रक्षाका लागि काँग्रेसले जुनसुकै बेला पनि वैकल्पिक सरकार गठन गर्न सक्ने चेतावनी उहाँले दिनुभयो । ‘सिट कति हो यसमा सरोकार छैन्, १३८ सिट जसले बनाउन सक्छ, उसैले सरकारको नेतृत्व गर्ने हो, पुराना र नयाँ दल मिलेर बनेको अहिलेको सत्तागठबन्धनले खुट्टा कमाएको देखिन्छ, दिन आयो भने काँग्रेस वैकल्पिक सरकार गठन गरेर अघि बढ्न सक्छ’ उहाँले भन्नुभयो ।
पुर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका नेता साउदले सहकारी छानविन समिति दल र व्यक्ति केन्द्रीत नभएर घटना केन्द्रीत भएको बताउनुभएको छ । उहाँले सहकारीका बचतकर्ताहरु ठगिएको र उनिहरुको न्यायको लागि दोषारोपण लागेको व्यक्तिको नेतृत्वमा समिति गठन गरेर छानवीन गर्दा पिडितले न्याय पाउन नसक्ने भएको सबै दलको प्रतिनिधित्व रहने गरि छानविन समिति गठन गरि छानविन थालिएको बताउनुभयो ।
सहकारीका विषयमा सत्यतथ्य रुपमा छानबिन हुनुपर्ने आफुहरुको माग रहेको र पुराना पार्टीहरुले पनि कुनै कुरामा गल्ती गरेको भए छानबिन हुनुपर्ने उहाँको भनाइ छ । ‘आरोप लाग्दैमा कोही दोषि हुदैन्, तर निष्पक्ष छानविन चाहि हुनुपर्छ, अहिलेका नयाँ दलबाट होस् या पुराना दलबाट होस्, अथवा नेपाली कांग्रेसका सांसदलाई पनि कुनै आरोप लागेको भए जुनसुकै बेलापनि छानबिनको लागि सरकार तयार हुनुपर्छ, सत्यतथ्य छानविन हुनुपर्छ भन्ने काँग्रेसको माग हो’ उहाँले भन्नुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस नेतृ डा. डिला संग्रौलाले सरकार परिवर्तन भैरहेको भएपनि कर्णालीले विकास र समृद्धिको अनुभूति गर्न नपाएको बताउनुभयो । ‘गणतन्त्र आएको १७ बर्षसम्म पनि कर्णालीको मुहार फेरिएन, समग्र देशलाई एउटै नितिमा राख्दा कर्णाली पछाडी परेको हो, संघीयता पछि हामीले काम गर्ने गरि सरकारको नेतृत्व गर्न नै पाएनौँ, अघिल्लो पटक २३ सिट थिए, यो पटक पनि सुरुमै हामी नेतृत्वमा रहन पाएनौँ, अहिले झन् प्रतिपक्षमा छौँ’ उहाँले भन्नुभयो ।
नेपाली काँग्रेस सल्यानका सभापति केश बहादुर विष्टको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा जिल्ला उपसभापति सन्तोष केसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण पार्टी सचिव प्रकाश भण्डारीले गर्नुभएको थियो ।