File Photo
सल्यान, ३२ जेठ ।
हिजोआज सडक नपुगेका बस्ती छैनन् । कच्ची भए पनि गाउँमा सडक पुगेपछि दिनदिनै मोटर गाडी गुड्छन् । मोटर गुड्न सडक गाउँसम्म विस्तार भएपछि पहिले हिँड्ने गोरेटो बाटोमा वनमारा पलाएका छन् । कुनै समय मानिस र वस्तुभाउ हिँड्ने गोरेटो अहिले सुनसान छन् । तीन दशक अघिसम्म पैदलयात्री, भरिया र घोडा खच्चडको लावालस्कर लिएर हिँड्ने सल्यानको लुहाम–फलाबाङ हुदैँ दाङ जोड्ने गोरेटा, कालिमाटी हुदैँ नेपालगन्ज जोड्ने गोरेटा हुन् या गाउँ–गाउँ जोड्ने गोरेटा हुन्, बिहान देखी बेलुकै सम्म नागरिकको चहलपहल हुन्थ्यो ।
त्यति मात्रै होइन्, ग्रामिण भेगका बजार समेत खचाखच हुन्थे । सल्यानबासी सँगै यही बाटो हुदै जुम्ली, हुम्ली जाजरकोटी, डोल्पाली र रुकुमेलीहरु नुन लिन झर्थे । जव सरकारले दाङ सल्यान हुदैँ रुकुम जोड्ने गरि राप्ती राजमार्ग विस्तार ग¥यो । अनि सल्यानका गोरेटा बाटो झाडी बन्न थालेको हुन् । योसँगै जिल्लाका ग्रामीण क्षेत्रमा रहेका सयौँ गोरेटो बन्द हुँदै गएका छन् ।
त्रिबेणी गाउँपालिका–६ का सुरेन्द्र रावतले सुविधाले पुराना गोरेटो मासिएको बताउनुभयो । सडकले धेरै ठाउँका गोरेटोबाटो मासेको र भएका ठाउँमा पनि कोही नहिँड्ने उहाँको भनाइ छ । उहाँले पूर्खादेखि हिँड्दै आएका बाटोलाई विकासले ओझेलमा पारेको भन्दै पुराना गोरेटोलाई पदमार्गका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । विकासका नाममा जथाभावी सडक निर्माण हुँदा गोरेटोसहित पुराना मौलिक सम्पदासमेत मासिएको उहाँको बुझाई छ ।
‘हाम्रो पालामा मोटर गाडी थिएनन्, अहिलेको जस्तो यति ठूला सडक पनि थिएनन्, नुन किन्न नेपालगन्ज जानुपथ्र्यो, पछिपछि मोटर देख्न राप्ती राजमार्गमा झर्नुपथ्र्यो, हामी साँघुरो बाटोमा यात्रा गथ्र्यौँ, उतिबेला हामीहरु हिँडेका बाटो अचेल बन्द छन्’ कुमाख गाउँपालिका–६ का सन्तोष सुनारले भन्नुभयो ‘ती गोरेटो अहिले त कतै मोटरबाटोले पुरिएका, कतै अप्ठ्यारा बनेका छन्, गोरेटोहरु प्रयोगविहीन भएका छन् ।’ सरकारले पुराना गोरेटालाई व्यवस्थित पदमार्ग बनाउन सके बाहिरबाट आउने आगन्तुकलाई सहज हुने उहाँको भनाइ छ ।
कालिमाटी गाउँपालिका–१ जितबहादुर घर्तीले मोटरबाटोले मान्छेलाई अल्छि बनाएको बताउनुभयो । पहिले घन्टौं लगाएर हिँड्नेहरु अहिले १० मिनेटको दूरीमा पनि गाडी चढ्न खोज्ने उहाँको भनाइ छ । मोटरबाटोले गोरेटोसँगै कुवा, पोखरी, पानीको मुहान र चौपारी सबै विनाश गरेको भन्दै उहाँले गोरेटोबाटो ग्रामीण जीवनशैलीसँग जोडिएकोले सडक विस्तार सँगै यसको संरक्षणमा पनि जोड दिनुपर्ने बताउनुभयो ।
‘मोटरबाटोले धेरै सुविधा ल्याएको छ, दिनभरी हिँडेर पुग्ने ठाउँमा अहिले एक घण्टामै पु¥याउँछ, सामान बोक्नुपर्ने अवस्था अन्त्य भएको छ, यसले अहिले हिँड्ने बानी पनि हटेको छ,’ उहाँले भन्नुभयो ‘हामी सानो हुँदा गाउँमा गारेटोबाटो मात्रै थिए, मान्छेहरु टाढा जानु परे पैदल यात्रा गर्नुपथ्र्यो, अहिले जहाँ जाँदा पनि गाडी चाहिने भयो, विकाससँगै गाउँका गोरेटा पनि फेरिएका छन् ।’
हाल जिल्लाको प्रमुख ब्यापारिक केन्द्र श्रीनगरबाट सबै ग्रामिण भेगसम्म मोटरगाडी पुग्ने गरेका छन् । कुमाख, दार्मा, बाफुखोला, दमाचौर, लेखपोखरा, झिम्पे, काभ्रा, लक्ष्मीपुर, कालिमाटी, निगालचुँला, बन्गाड, चाँदे सबै क्षेत्रमा गाडी पुग्छन् । विहान गाडी चढेर बजार आउने गरेका स्थानिय दिनभर किनमेल गरेर बेलुका गाडीमै गाउँ फर्किने गरेका छन् । जसका कारण एक ताका ग्रामिण भेगमा खुबै चलेका वजार अहिले सुनसान छन् ।