वनको पुनर्रत्थान कार्यक्रम : अहिले रोजगारी, भविष्यमा पेन्सन !

‘यस कार्यले भू–क्षय नियन्त्रणमा मद्धत गर्छ’ उहाँले बताउनुभयो ‘जुन मिचाहा प्रजातीको बिरुवा बनमारा त्यसलाई हटाईएको छ, अरु बिरुवा बाँकी नै छन्, रोपेको बिरुवा हुर्कदैँ गएमा बाँकी बिरुवा हटाउँदै जाने हो, अहिले स्थानियलाई रोजगारी मात्रै मिलेको छैन्, यो बनले १५/२० बर्षपछि आम्दानी दिन थाल्यो भने त, त्यसलाई पेन्सनकै रुपमा बुझ्दा हुन्छ ।’

सल्यान, २४ साउन ।

सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–१ घाटगाउँका काली राणाले घरायसी काम गर्दै आएको बर्षौ भैसक्यो । दिनहुँ घरायसी काम गरेर जीवननिर्वाह गर्दै आउनुभएकी उहाँले अहिलेसम्म विकास निर्माणका काम गरेर आम्दानी गर्नुभएको थिएन् । ‘छरछिमेकीमा आलोपालो काम गर्थे, घाँस, दाउरा काट्ने, धान रोप्ने, मकैँ गोड्ने लगाएतका काममा छिमेकीलाई सघाउथेँ’ उहाँ भन्नुहुन्छ ‘त्यसबाफत बिहानको खाजा र दिउँसोको खाना दिनुहुन्छ, कामको ज्याला लिदैँनौँ, मेरो घरमा काम परेको बेला फेरी छिमेकीलाई यसै गरेर बोलाउँछु ।’

यस पटक उहाँले आफ्नै वन क्षेत्रमा ३० दिन झाडी कटान, ड्याम निर्माण, रिचार्ज पोखरी निर्माण र घेरबारको काम गर्नुभयो । दैनिक उहाँले ७ सय १५ रुपैँयाका दरले पारिश्रमिक पाउनुभयो । ‘यो मेरो पहिलो अनुभव हो, अहिलेसम्म काम गरेर नगद रुपैँया हात पारेकी थिईन’ उहाँले खुसी हुदैँ भन्नुभयो ‘सामुहिक रुपमा काम गर्न पाए, साँझबिहान घरको काम, दिनभर बनको काम भयो, यो कमाईले ३ महिना घरखर्च राम्रोसँग चल्छ, नुनतेलकै लागि अरुको भर पर्नुपर्दैन्, गाउँमै रोजगारी पाए ।’

उहाँकै छिमेकी नौमति बुढाले यसबर्ष घरनजिकैको शार्वजनिक वनमा काम गरेर दैनिक ७ सय १५ रुपैँया आम्दानी गरेकोमा दंग हुनुहुन्छ । ‘काम गरे पैसा मिल्ने रहिछ, म त बर्खामा मात्रै ८/१० दिन छिमेकीकोमा सघाउन जाने गर्थे, छिमेकी पनि मेरो घरमा काम पर्दा आउने गर्छन्, त्यसलाई परिमो तिर्ने भनिन्छ’ उहाँले भन्नुभयो ‘यस पटक एक महिना काम गरे, दिनका ७ सय १५ का दरले पैसा आयो, गाउँमै काम, गाउँमै पैसा, गाउँमै रोजगारी मिलेको छ ।’

आफुले मात्रै नभएर एउटै गाउँका ४०/५० जना बढीले रोजगारी पाएको उहाँको भनाइ छ । ‘कतिले त ३५/४० दिनसम्म काम गरेका छन्, आफ्नो अनुकुल मिलाएर काम गरेका हौँ, एउटै घरका तीन जना सम्मले रोजगारी पाएका छन्’ उहाँले मख्ख पर्दैै भन्नुभयो ‘विगतमा यस्तो रोजगारीका अवसर थिएनन्, पारिस्थितीकिय प्रणालीमा आधारित अनुकुलन आयोजनाले हैसियत बिग्रेको वनलाई पुर्नउत्थान गर्ने कार्यक्रम सञ्चालन गरेपछि सहज भएको हो ।’

घाटगाउँकै राजेन्द्र बहादुर खत्रीले इर्ज पाखो, गारुने थान र रातामाटालाई मिलाएर करिब ११ हेक्टर वन क्षेत्रफलमा सोझै बृक्षारोपण तथा करिव ४० हेक्टर हैसियत विग्रेको वन क्षेत्रमा पुनरुत्थानको काम गरिएको बताउनुभयो । खुला चरिचरण रहेको र बनमाराले छपक्कै ढाकेको बनलाई हराभरा बनाउनको लागि बनमारा हटाएर जैविक घेरबार, जैविक तथा सुख्खा ढुङ्गाको ड्याम र पोखरी निर्माण गरिएको उहाँको भनाइ छ । वडा सदस्य समेत रहनुभएका उहाँले खयर, टुनी, रिठा, चिउरी, वाँस लगाएतका बिरुवा रोपिएको बताउनुभयो ।

‘बस्तुभाउलाई रोक्नको लागि घेरबार लगाएका छौँ, अव हेरालु राख्ने योजना बनाएका छौँ’ उहाँले भन्नुभयो ‘केही दिनअघि वृक्षारोपण गरेका हौँ, यही केही बिरुवा मरेको पाइएमा फेरी पुनरोपणको काम गरेका छौँ, बनमाराले ढाकेको बनलाई हराभरा बनाउने, घाँस दाउरा यही बनमा पाउने, रिठा, चिउरीका फल बेचेर आम्दानीको स्रोत बढाउने योजना छ, सुख्खा बनेको यो क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने हाम्रो लक्ष्य छ ।’

बन्गाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकीले पालिकाले गर्ने हरेक विकास निर्माणका कार्यलाई जलवायु अनुकुलित बनाउने बताउनुभयो । बाढी–पहिरो र प्राकृतिक प्रकोपसँग जुध्ने समुदायको क्षमता अभिवृद्धि गर्ने र पूर्वतयारीको अवस्थामा राख्ने, बाढीपहिरो नियन्त्रणका क्रियाकलाप सञ्चालन गर्ने, जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने र सरोकारवाला बीच सहकार्य तथा समन्वयलाई प्रोत्साहन गर्दै परम्परागत सीप, ज्ञान, प्रविधिको अभिलेख तयार पारी तिनको प्रवद्र्धन, विकास र प्रयोगमा जोड दिने उहाँको भनाइ छ ।

पारिस्थितीकिय प्रणालीमा आधारित अनुकुलन आयोजनाका जिल्ला संयोजक डा. दिगम्बर सिंह दाहालले प्राकृतिक रुपमा उम्रेका बिरुवाका साथै बृक्षारोपण गरेको सबै बिरुवाको संरक्षणका लागि यस क्षेत्रमा काम गरिएको बताउनुभयो । ‘माटो संरक्षण, बाह्रै महिना चिस्यान, खोला÷खोल्सीमा जैविक तथा सुख्खा ढुङ्गाको ड्याम निर्माण कार्यले बनको संरक्षण तथा पुनरुत्थानमा मद्धत मिलेको छ’ उहाँले भन्नुभयो ‘हैसियत विग्रेको बनको पुर्नउत्थानको कामको थालनी गरेका छौँ, यसको नजिता बिस्तारै देखिन थाल्छ ।’

बन्गाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकाको २ सय ५६ हेक्टर क्षेत्रफलमा हैसियत विग्रेका बनमा काम गरिएको उहाँको भनाइ छ । ‘यस कार्यले भू–क्षय नियन्त्रणमा मद्धत गर्छ’ उहाँले बताउनुभयो ‘जुन मिचाहा प्रजातीको बिरुवा बनमारा त्यसलाई हटाईएको छ, अरु बिरुवा बाँकी नै छन्, रोपेको बिरुवा हुर्कदैँ गएमा बाँकी बिरुवा हटाउँदै जाने हो, अहिले स्थानियलाई रोजगारी मात्रै मिलेको छैन्, यो बनले १५/२० बर्षपछि आम्दानी दिन थाल्यो भने त, त्यसलाई पेन्सनकै रुपमा बुझ्दा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित