जोगाउँदै पोखरी : बढाउँदै पानीका मूल

‘पशुपालनको युगमा भैंसीको आहालका लागि वा गाईभैंसी र भेडाबाख्राका लागि पानी खुवाउन पनि पोखरी चाहिन्थ्यो, कृषिमा सिँचाइका लागि पनि पोखरी उपयोग हुन्थ्यो, बढ्दो सहरीकरणले कृषियुगको अन्त्य जस्तै भएको छ, तर पोखरीको आवश्यकता औचित्य सकिएको छैन, जमिनमा पानी पुनर्भरणका लागि पनि पोखरी चाहिन्छ’ उहाँले भन्नुभयो ।

सल्यान, ३२ साउन ।

सल्यानको बन्गाड कुपिण्डे नगरपालिकामा पोखरी र कुवा संरक्षण गर्न थालिएको छ । दशौँ बर्ष पुराना पोखरी मासिदैँ जाने र कुवा सुक्दै जान थालेपछि वडा नम्बर ७ को मैदुपोखरी संरक्षण गर्न थालिएको छ । भएका पोखरी मासिने र कुवा सुक्ने क्रम बढेपछि पानीकै अभावमा घरधन्धा र बस्तुभाउ स्याहार्न स्थानियलाई समस्या भइरहेको अवस्थामा मैदुपोखरीमा पाँच बर्षअघि देखी लागु भएको पारिस्थितीकिय प्रणालीमा आधारित अनुकुलन आयोजनाले पुराना पोखरी र कुवा संरक्षण कार्यक्रम सञ्चालन गरहेको हो ।

‘घर नजिकैको मैदुपोखरीलाई मर्मतसम्भार गरेर बर्खे पानीलाई जोगाउँदा गुफाखोला कुवामा पानी बढ्छ भनेर सम्झाउनु बुझाउनु भयो, पोखरी र कुवाको सम्बन्ध थाहा थिएन, उहाँहरुको कुरा पत्यार लागेन’ स्थानिय सिता परियारले भन्नुभयो । धेरै वर्षदेखि पानी नअडिएको पोखरीको मर्मत सम्भार र पानी अड्याउने भित्ता बनाउनका लागि रकम पाएपछि सचेतीकरणका काम र पोखरी मर्मतको काम गरियो । पोखरीमा पानी जम्मा भयो । पोखरी आसपासबाट बगेर जाने खोलाखाल्सीमा जैविक ड्याम निर्माण गरियो ।

‘पोखरीलाई मर्मतसम्भार गरेका छौँ, यस पटक पोखरी भरिन लागेको छ, पोखरी देखी तल रहेको कुवामा पानी प्रशस्त छ’ उहाँले भन्नुभयो ‘हामीले सुरुवात गरेका हौँ, राम्रो नतिजा देखिन अझै २÷४ बर्ष लाग्ला ।’ गाउँका सबै पोखरी हराई सकेका छन् ।

बाँकी एउटै मैदुपोखरी छ । यसलाई जसरी पनि जोगाउनु पर्छ भनेर आफुहरु लागि परेको पोखरी निर्माण समितिका सचिव टोपेन्द्र खड्काले बताउनुभयो । ‘मैदुपोखरी यस क्षेत्रकै सबै भन्दा ठुलो पोखरी हो, यो पोखरी देखी तलतिरको क्षेत्र अन्यत्रभन्दा रसिलो देखिन्छ, गाउँको सिरानमै मूलहरुको संरक्षक मैदुपोखरी भएर होला, मैदु वरिपरिका खोल्सामा एकपछि अर्को मूलहरु देख्न सकिन्छ’ उहाँले भन्नुभयो ।

पोखरीको पुर्ननिर्माणका क्रममा पोखरीको सफा, माटो व्यवस्थापन, सुख्खा गाह्रो निर्माणका क्रममा स्थानियले करिब २० दिनसम्मको रोजगारी पाएका छन् । बर्खाको पानी संकलन हुने पोखरीमा चैतबैशाखको सुख्खायाममा पनि बेमोसमी तरकारी फलाउन सक्ने सम्भावना रहेको छ ।

यस पोखरीको संरक्षणमा जनप्रतिनिधिले पनि चासो देखाएका छन् । बन्गाड कुपिण्डे नगरपालिका– ७ का वडाअध्यक्ष जीवन सिंह ठकुरीले पुराना पोखरी र कुवाको संरक्षण गर्ने निति लिइएको बताउनुभयो । ‘अघिल्लो बर्ष मैदुपोखरीमा डुबेर एक जनाको मृत्यु भएको थियो, पोखरीको पानी बढ्दै गएकाले नगरपालिकाले पनि मैदुपोखरी दुई तिरबाट बस्तुभाउ पानी खान र आहाल बस्न जाने ठाउँ खाली राखेर वरिपरी छेकबार लगाएको छ’ उहाँले भन्नुभयो ।

उहाँले पोखरी र कुवा संरक्षणका लागि स्थानियलाई सचेत बनाउने कार्य पनि गर्दै आएको बताउनुभयो ।

जहाँ–जहाँ पोखरी अतिक्रमण भएका छन्, मासिएका छन्, तिनको खोजी गरी फेरि पुनर्जीवन दिनु आवश्यक रहेको वन तथा वातावरण मन्त्रालयका उपसचिव राजु सापकोटा बताउनुहुन्छ । ‘पशुपालनको युगमा भैंसीको आहालका लागि वा गाईभैंसी र भेडाबाख्राका लागि पानी खुवाउन पनि पोखरी चाहिन्थ्यो, कृषिमा सिँचाइका लागि पनि पोखरी उपयोग हुन्थ्यो, बढ्दो सहरीकरणले कृषियुगको अन्त्य जस्तै भएको छ, तर पोखरीको आवश्यकता औचित्य सकिएको छैन, जमिनमा पानी पुनर्भरणका लागि पनि पोखरी चाहिन्छ’ उहाँले भन्नुभयो ।

स्वच्छ हावापानी र वातावरणका साथै पारिस्थितिकिय प्रर्णालीलाई चलाउनको लागि पनि पोखरी चाहिने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस