सल्यान, ३० भदौँ ।
शारदा नगरपालिका–६ कौछेका किसान नोखिराम खत्री डिभिजन वन कार्यालय सल्यानको परिसरमा भेटिनुभयो । उहाँको हातमा नागरिकता, मुचुल्का, प्रहरी प्रतिवेदन, क्षतिको मूल्यांकन, घरजग्गाको लालपुर्जा, वडाको सिफारिस र केही थान नाँगै मकैँबारीका तस्वीर थिए । उमेरले ५९ बर्ष पुगिसक्नुभएका उहाँको अनुहार मलिन थियो । किनकी उहाँ बँदेलले मकैँ स्वाहा पारिदिएपछि राहतको खाजीमा वन कार्यालयमा आउनुभएको हो ।
‘८/१० बर्ष पहिले यस्तो कहिल्यै भएन्, पानीसँगै आएको हावाहुरीले मकैँ ढल्नु सामान्य नै हो, तर जंगली जनावरले मकैँ स्वाहा पारेको पहिलो पटक हो, २/३ बर्ष अघिसम्म गाउँकै जंगलमा बँदेल आएको सुन्ने गरिन्थ्यो, यो पटक त एकैरातमा मेरो सबै मकैँ स्वाहा बनायो’ वन कार्यालयका कर्मचारीसँग कुरा गर्दै किसान खत्रीले भन्नुभयो ‘राति २ वजेसम्म त जागाराम नै बसेको थिए, त्यसपछि आएर बारी नै स्वाहा पारिदिए छन् ।’
५ रोपनी बारीमा मकैँ खेती गर्दै आउनुभएका उहाँले यस पटक एक घोगा मकैँ पनि भित्र्याउन पाउनुभएको छैन् । ‘मेरो ७ जनाको परिवार छ, मकैँले ६ महिना खान पुग्थ्यो, यो पटक सबै सकियो, मकैँ सँगै भटमास, सिमि, बोडी केही बाँकी रहेन्, गहुँ रोप्यो खरायो र घोरललाई ठिक्क, मकैँ बँदेललाई ठिक्क, म साह्रै पिडित भए, त्यही भएर राहतका लागि वन कार्यालय आएको हुँ’ उहाँले थप्नुभयो ।
छत्रेश्वरी गाउँपालिका–५ नयाँगाउँका लालबहादुर भण्डारीले ६ रोपनीमा लगाएको मकैँ बँदेलले नै स्वाहा पारिदियो । दिनभर बारीमा पहरा दिँदा पनि घोगामा गेडा लाग्न थालेको मकैबाली बचाउन नसकिएको उहाँ बताउनुहुन्छ । ‘मकैबाली जोगाउन धेरै प्रयास गरियो, दिनभर बारीका ढिकमा बसेर टिन ठटाउने, आगो बाल्ने र रातभर हातमा लाठी समातेर पहरा दियौँ, तर बदेँल हुल बाँधेर आउने भएकाले मकै बचाउन सकिएन्’ उहाँले भन्नुभयो ।
‘पहिले देखि नै बाँदरले सधै सताउने गथ्र्यो, खरायो, दुम्सीले पनि बालिनाली खाइदिन्थ्यो, यो बर्षदेखि मेरो बारीमा पनि बँदेलले क्षति ग¥यो, धान, गहुँ, आलु, प्याज जे लगाउँछौ, सबै जंगली जनावरले खान्छ, निकै समस्यामा पा¥यो’ उहाँले थप्नुभयो ‘सरकारले कि त सबै खेतबारी जनावरहरूको मात्र हो भनेर घोषणा गरेर हामीलाई अन्यत्र कतै पठाउन प¥यो, होइन भने किसानको बालिनालिको सुरक्षा गरिदिन प¥यो ।’ वडा कार्यालय र पालिकासँगको समन्वयमा वन कार्यालयमा राहतका लागि निवेदन दिएको उहाँको भनाइ छ ।
यी दुई मात्रै होइन्, अहिले सल्यानका सयौँ परिवारको खेतवारीमा वन्यजन्तुले रजाइँ गरेका छन् । जंगली बँदेलले जिल्लाका शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका, बन्गाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकामा बढी क्षती गरेको छ । नयाँगाउँ, दियारगाउँ, कालीकोइराली, जुगेडाँडा, घुइयाबारी, हाउखोला, आम्बास, बाटुले, लक्ष्मीपुर, सापमारा, कौछे, लक्ष्मीपुर, निगालचुला लगायत स्थानमा लगाइएको मकैबालीमा क्षति पु¥याएको हो ।
बँदेलले मकैँबालीमा कति क्षति गरेको छ भन्ने आधिकारिक तथ्यांक त कसैसँग छैन् । तर करिब एक हजार बढी रोपनीमा लगाएको बालीमा क्षति गरेको अनुमान छ ।
बँदेल लखेट्न बारीमै सुत्छन् किसान
विगतमा बाँदर, दुम्सीले मकैमा क्षति गर्दै आएका थिए । तर अहिले बँदेलको आतंक बढेको छ । हुल बाँधेर बँदेल बारीभित्र पस्ने भएकाले एकैरातमा बारी स्वाहा वनाउने गरेको छ । बँदेलबाट बाली बचाउन किसानले बारीमै टहरा बनाएका छन् । उनीहरु रातभर बारीमै बस्छन्, त्यही सुत्छन् । तर पनि मकैँ जोगाउन भने किसानलाई हम्मेहम्मे छ ।
बन्गाड कुपिण्डे नगरपालिका–७ लाम्पाटाका हेर्म थापाले बँदेलबाट मकैँ जोगाउन बारीमै सुत्ने गरेको बताउनुभयो । ‘जुनसुकै बाली लगाए पनि बँदेलले खाइदिन्छ, मकैँ र तरकारी खेतीमा त झनै बढी क्षति पु¥याउँछ, राति बारीमै बसेर पहरा दिन सानो घर नै बनाएका छौंं’ उहाँ भन्नुहुन्छ ‘किसानलाई बालीनाली सुरक्षित गर्न यो भन्दा अर्को विकल्प कुनै छैन्, सरकार यसप्रति गम्भीर छैन ।’
शारदा नगरपालिका–१० पैयाँखर्कका किसान पूर्णबहादुर चलाउने बँदेलकै कारण मकै रोप्नुको साटो कोदो, अदुवा, बेसार लगायतका बाली लगाउँदै आएको बताउनुभयो । ‘विगतमा बँदेल नै लाग्दैनथे, अहिले चार वर्ष भयो, हुल बाँधेर आउने बँदेलले एकैरातमा बारी स्वाहा बनाइदिन्छन्’ उहाँले भन्नुभयो ‘हिजोआज बँदेल आतंक नियन्त्रण बाहिर गैसक्यो ।’ बँदेलकै कारण कतिपय किसानले खेतवारी नै बाँझै छोडेर बसाइ सरेर गएको उहाँको भनाइ छ ।
राहतका लागि प्रक्रिया नै झण्झटिलो
डिभिजन वन कार्यालय सल्यानका अनुसार वन्यजन्तुले किसानको बालीनालीमा क्षति गरेमा क्षतिअनुसारको राहत पाउँछन् । तर रातहका लागि प्रक्रिया नै झण्झटिलो हुदाँ क्षति बेहोरेका कयौँ किसान राहतका लागि आउँदैन् । कार्यालयका अनुसार २०७५ सालमा कपुरकोटका १३ जना किसानले वन्यजन्तुले मकैँबालीमा क्षति गरेपछि झण्डै दश हजारका दरले राहत पाएका थिए ।
यस्तै गएको बर्ष बाघको आक्रमणबाट घाइते भएका २ जना सहित १ सय २३ ले राहतका लागि निवेदन दिएकोमा सबैले पाएका छन् । बैँक खाता नम्बर नमिलेको लगाएका कारण १८/१९ जनाको खातामा रकम जान बाँकी छ । यस बर्षको हालसम्म पनि एक दर्जन निवदेन वन कार्यालयमा आएका छन् । क्षतिको बारेमा जानकारी आएको र केही निवदेन आउने प्रक्रियामा रहेको कार्यालयको भनाइ छ ।
कार्यालयका प्रमुख जीतेन्द्र महतले बँदेल वा बाँदरले बालीमा क्षति पु¥याए, किसानले क्षतिको आधारमा राहत पाउने प्रावधान भएपनि लामो र झण्झटिलो प्रक्रियाका कारण थोरै किसान निवेदन लिएर आउने गरेको बताउनुहुन्छ । ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० जारी भएको छ, सल्यानको परिप्रेक्षमा बाँदर र बँदेलले बालीनालीमा क्षति गरेको पाइन्छ, राहतको लागि किसानले वन कार्यालयमा निवेदन दिनुपर्छ’ उहाँ भन्नुहुन्छ ।
निवेदनमा घटना स्थलको सर्जिमन मुचुल्का, प्रहरी प्रतिवेदन, कृषि कार्यालय वा पशु सेवा प्राविधिकले गरेको क्षतिको मूल्यांकन, घरजग्गाको लालपुर्जा अनिवार्य चाहिने भएकाले क्षति बेहोरेका कयौँ किसान राहतका लागि आउँदैनन् । राहतका लागि आएका किसानले पनि अधिकतम् १० हजार रुपैँयासम्म मात्रै क्षतिपुर्ती पाउँछन् ।
किसानले निवेदन दिएपछि जिल्लामा गठित समितिले राहत वितरणका लागि निर्णय गर्ने र त्यही निर्णयका आधारमा प्रदेश वन निर्देशनालयले कारवाही प्रक्रिया अघि बढाउने डिभिजन वन कार्यालय सल्यानले जनाएको छ । जिल्लाभर झण्डै १९ हजार हेक्टर बढी क्षेत्रफलमा मकै खेती गरिन्छ ।