सल्यान, १७ पुस ।
जिल्लाको शारदा नगरपालिका–२ खलंगाका ६४ वर्षीय विष्णु विश्वकर्माले १० वर्षको उमेरदेखि नै आरनको काम गर्दै आउनुभएको छ । पाँच वर्षको उमेरदेखि नै उहाँले फलामका हतियार बनाउन सिक्नुभयो । उहाँका बाजेदेखि बुवासम्मका पुर्खाले यहि आरन पेशा गरे । त्यहि भएर पनि उहाँले आफुसँगै आफ्ना छोराहरुलाई आरन पेशामा जोड्नुभयो । उहाँको आरनमा सल्यानी ब्राण्डका खुकुरीहरु बन्छन् ।
आरनमा सल्यानी ब्राण्डका खुकुरी, खुँडा र घरेलु हतियार बनाउँदै आएको विष्णु बताउँनुहुन्छ । ‘तीन छोरा मध्ये दुई छोरा सशस्त्र प्रहरी छन्, अर्का एक छोरा पढिरहेका छन्, उनीहरु तीनै जनाले खुकुरी र आरनको काम सिकेका छन्’ उहाँ भन्नुहुन्छ ‘जागिरबाट रिटायर्ड भएपछि उनीहरुले गर्नेपनि यहि नै हो, हामीले बनाए पो सल्यानी ब्राण्डको चर्चा हुन्छ, आउँदो पीढिले गरेनन् भने इतिहास नै मेटिन्छ, त्यसैले म यो काम छोड्न सक्दैन ।’
२०५५ सालमा सन्तोष खुकुरी उद्योग दर्ता गरेर व्यवसायिकरुपमा नै खुकुरी उत्पादनमा लागेका उहाँले पहिला बालिघरेबाट अहिले नगदमा आएपछि आम्दानीमा बृद्धि भएको जनाउनुभयो । ‘पहिला त एकदुई पाथीमा काम गरिन्थ्यो, अहिले नापेर बेचिन्छ, मासिक ६० हजार रुपैयाँसम्म बचत हुन्छ, सरकारले सामाजिक सुरक्षा भत्ता पनि दिएकै छ, कहिलेकसो प्रशिक्षक भएर समेत विभिन्न जिल्ला जान्छु’ उहाँले थप्नुभयो ।
विष्णुले बनाएका सामाग्री घरबाटै बिक्री हुन्छन् । सल्यानी खुकुरी ग्राहकको रोजाईमा पर्छन् । उहाँले औंलाको १६० रुपैँयाका दरले खुकुरी र खुँडाहरु बेच्ने गर्नुहुन्छ । एउटै खुकुरी वा खुँडाको एक हजार ५०० देखि दश हजार रुपैयाँसम्मका मुल्य पर्छ । प्रदर्शनीमा समेत आफुले बनाएका खुकुरीले पुरस्कार पाएको भन्दै उहाँले बाबुबाजेले बनाएका सल्यानी खुकुरी राजदरबारसम्म पुगेको बताउनुभयो ।
४२ वर्षीय कुलबहादुर विकले पनि २० वर्षदेखि खुकुरी बनाएर रहनुभएको छ । उहाँले दैनिक १/२ वटा खुकुरी बनाएर बेच्ने गर्नुहुन्छ । कुलबहादुर बुवा बाजेले पनि आरन पेशा गर्नुहुन्थ्यो । आफुले उत्पादन गरेका खुकुरीहरु केही फुटकरमा त अधिकांश खुकुरी र खुँडाहरु स्थानीय सल्यानी खुकुरी उद्योगलाई औँलाको १४० रुपैँयाका दरले बेच्दै आउएको उहाँले बताउनु भएको छ । उहाँले खुकुरी र खुँडा सानोमा ८ औंलादेखि ४२ औलासम्मको बनाउने गरेको बताउनुभयो ।
‘लामो दिनमा दुईवटासम्म खुकुरी बनाइन्छ, आजभोली त एक मात्रै बनाउन सकिन्छ, खुकुरी लिन कोही घरमै आउँछन्, अधिकांश खुकुरी सल्यानी खुकुरी उद्योगमा बेच्छु’ उहाँ भन्नुहुन्छ ‘यही पेशाबाट नै मासिक ७० देखि ८० हजारसम्म कमाउने गरेको छु, घरव्यवहार यसैबाट चलाएको छु ।’ फलाम तताउनका लागि कोइला ५० रुपैयाँ प्याक किन्ने गरेको र टल्काउनका लागि विद्युतबाट चल्ने ग्राण्डिङ मेसिनबाट काम गर्दै उहाँको भनाइ छ । वनबाट कोइला ल्याउन नपाएपछि व्यवसाय गर्न समस्या परेको उहाँको गुणासो छ ।
३६ वर्षीय राजु विकले १५ वर्षदेखि आरन चलाइरहनुभएको छ । उहाँले २÷३ वर्ष भारतको सिम्लामा विताउनुभयो । अर्काको गुलामी बन्नुभन्दा बावुबाजेको पेशा अँगाल्ने सोच बनाएर आरन व्यवसाय सुरु गर्नुभएका उहाँले पनि मनग्य आम्दानी गरिरहनुभएको छ । ‘कालापार गैयो, त्यहाँ दुःख पाइयो, त्यहाँबाट फर्किएपछि मात्रै यो काम गर्न थालेको हुँ, अहिले ५० हजार रुपैयाँसम्म मासिक कमाई गर्छु, विभिन्न जिल्लाका कर्मचारी र पर्यटकहरु नै मेरा ग्राहक हुनुहुन्छ’ उहाँले भन्नुभयो ।
उहाँको आरनमा सानादेखि मार हान्ने ठूला खुकुरी र खुँडा बन्छन् । त्यस्तै पेस्तोल खुकुरी, डाँफे खुकुरी, माछी खुकुरी बनाएर पनि बेच्नुहुन्छ । अहिले जिल्लाको सदरमुकाम खलंगाका आठ जना कालीगढले सल्यानी खुकुरीको ब्राण्डिङ गरिरहेका छन् । तर, आफुहरुलाई सरकारी निकायले आवश्यक स्रोत, साधन र कोइला व्यवस्थापनमा सहयोग नगरेको उनीहरु गुणासो गर्छन् ।
खुकुरीको विक्रि केन्द
यहाँका कालीगढले उत्पादन गरेका खुकुरी, खुँडा लगायतका हतियारहरु खलंगामै रहेको सल्यानी खुकुरी संकलन तथा विक्रि केन्द्रले खरिद गर्दै आएको छ । केन्द्रले विगत १० वर्षदेखि आरनमा कालीगढले उत्पादन गरेका सामग्रीहरु औंलाको १४० रुपैँयाका दरले खरिद गर्दै आएको संचालक निस्ता विश्वकर्माले बताउनुभयो । ‘हामीले १० वर्षदेखि आरनमा स्थानीय कालीगढले बनाएका खुकुरी र खुँडाहरु खरिद गछौं, र बजारीकरण गर्छौ, यसले कालीगढलाई रोजगारी मिलेको छ भने हामीले व्यवसाय गरेका छौँ’ उहाँले भन्नुभयो ।
सल्यानी खुकुरीको ब्राण्डलाई संकलन तथा उत्पादन केन्द्रले थप प्रोत्साहन गरेको सञ्चालक उहाँको भनाइ छ । खलंगामा उत्पादन भएको सल्यानी खुकुरी काठमाण्डौं, नेपालगञ्ज, सुर्खेत, दाङ, चितवन लगायतका ठाउँमा समेत जाने गरेको छ ।