सल्यान, २५ माघ ।
सल्यानको सिद्धकुमाख गाउँपालिकामा एकैपटक बिद्यालय र स्वास्थ्य इकाई भवनको उद्घाटन गरिएको छ । जिल्लाको सिद्ध कुमाख गाउँपालिका–५ माझखर्कमा सामुदायिक स्वास्थ्य इकाई भवन र हिमालय आधारभूत विद्यालयमा निर्मित चार कोठे भवनको एकैसाथ उद्घाटन गरिएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण गरिएको हिमालय आधारभूत विद्यालयको चार कोठे भवन र गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट निर्माण गरिएको सामुदायिक स्वास्थ्य इकाई भवनको एकैसाथ उद्घाटन गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको ५२ लाख ४७ हजार रुपैँयाबाट विद्यालय भवन र गाउँपालिकाको २८ लाख रुपैँयाबाट स्वास्थ्य इकाई भवन निर्माण गरिएको बताउनुभयो । आवश्यक संरचना नहुदा स्वास्थ्यको सेवा प्रवाह गर्न र भवन अभावमा बिद्यार्थीलाई पठनपाठनमा असहजता भएपनि नयाँ भवन निर्माण भएकाले अवका दिनमा सहज हुने उहाँको भनाइ छ ।
भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भरत गिरीले समुदायको माग र नागरिकको आवश्यकतालाई ध्यानमा राखेर भवन निर्माण गरिएको बताउनुभयो । अवका दिनमा भवन अभावका कारण स्वास्थ्य सेवा प्रभावित हुदैन्, भवन निर्माण भैसकेको छ, अव स्वास्थ्यकर्मी र औषधिको उचित व्यवस्थापन गाउँपालिकाले गर्छ उहाँले भन्नुभयो बिद्यालयको भवनले बिद्यार्थीको पठन कार्यमा सहजता आउँछ भन्ने अपेक्षा गरेका छौँ ।
यस्तै गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेतले शिक्षा र स्वास्थ्य क्षेत्र गाउँपालिकाको प्राथमिकतामा परेको बताउनुभएको छ । बर्षेनी लाखौँ रुपैँया शिक्षा र स्वास्थ्यमा लगानी गर्दै आएको बताउँदै उहाँले स्तरीय स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षाका लागि गाउँपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।
यस्तै गाउँपालिकाको वडा नम्बर ५ छापडाँडामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा नवनिर्मित चार कोठे भवनको पनि उद्घाटन गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको ५२ लाख ३७ हजारमा निर्माण सम्पन्न भएको थियो ।