सल्यान, ७ फागुन ।
सल्यानको आजदेखि कपुरकोटमा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने उद्घोषका साथ कपुरकोट गाउँपालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । कपुरकोट गाउँपालिका–६ स्थित कालिका माविमा सुरु भएको प्रतियोगिताको उद्घाटन सल्यान जिल्ला समन्वय समितिका संयोजक बेला राम रावतले गर्नुभएको हो ।
कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले खेलकुदको माध्यमबाट विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा योगदान पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उद्घाटन कार्यक्रममा सल्यानका प्रमुख जिल्ला अधिकारी सावित्रा पुन, जिल्लाका सुरक्षा प्रमुख, जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश परिषद सदस्य जीतप्रसाद आचार्य, कपुरकोट कृषि हाटवजार सञ्चालक समितिका अध्यक्ष तिलक शर्मा लगाएतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा पालिका भित्रका ५ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी रहेका छन् । प्रतियोगिता फागुन ९ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।