दोस्रो शारदा मेयर New Year T-20 कप क्रिकेट प्रतियोगिता हुदैँ

प्रतियोगिताको विजेता टोलीले एक लाख नगद र उपविजेता टोलीले पचास हजार नगद प्राप्त गर्ने छ ।


सल्यान, ५ बैशाख ।
सल्यानको लुहापिङमा दोस्रो शारदा मेयर New Year T-20 कप क्रिकेट प्रतियोगिता हुने भएको छ । शारदा नगरपालिकाको आयोजना तथा जिल्ला क्रिकेट संघ सल्यानको समन्वयमा अन्तरपालिका स्तरीय दोस्रो शारदा मेयर कप क्रिकेट प्रतियोगिता बैशाख ६ गतेबाट सुरु हुने भएको हो । प्रतियोगितामा जिल्लाका दश वटै स्थानीय तहले सहभागिता जनाउने छन् । जिल्लाको सदरमुकाम खलंगास्थित त्रिभुवन जन माध्यमिक बिद्यालयको खेलमैदान लुहापिङमा हुने यो प्रतियोगिताले स्थानीय खेलकूदको स्तरलाई नयाँ उचाइमा पु¥याउने आशा गरिएको छ ।

प्रतियोगिताको उद्घाटन शारदा नगरपालिकासँग भगिनी सम्बन्ध कायम गरेको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गर्ने नगर प्रवक्ता एवम् शारदा नगरपालिका–११ का वडाअध्यक्ष राजेश कुमार शर्माले जानकारी दिनुभयो । यो प्रतियोगिता जिल्लामा क्रिकेटको स्तरलाई अगाडि बढाउन र युवाहरुलाई खेलकूदमा संलग्न गराउन ठूलो अवसर हुने उहाँको भनाइ छ । उहाँले प्रतियोगिताको मुख्य उद्धेश्य जिल्लामा क्रिकेटप्रतिको रुचि र समर्थन बढाउनुका साथै स्वास्थ्यका लागि पनि खेल अति आवश्यक छ भन्ने सन्देश प्रवाह गर्नुरहेको बताउनुभयो ।

‘क्रिकेट भनेको केवल एक खेल होइन, यो जीवनशैली, एकता र स्वस्थ्य प्रतिस्पर्धा बढाउने माध्यम हो, शारदा नगरपालिकाले आयोजना गरेको मेयर कप जस्ता प्रतियोगिताले स्थानिय खेलकूदको महत्वलाई उजागर गर्दै, युवाहरुलाई खेलकूदमा संलग्न गराउने छ, यस खेलमा समावेश विभिन्न गतिविधिहरूले शरीरका विभिन्न अंगहरूलाई सक्रिय राख्दछन्, जसले फिटनेस र स्वास्थ्यलाई प्रवर्धन गर्छ, त्यस्तै, यसको माध्यमबाट खेलाडीले मानसिक दृढता, रणनीतिक सोच र धैर्यको अभ्यास पनि गर्न सक्छन्’ प्रवक्ता शर्माले भन्नुभयो ।

प्रतियोगिताको विजेता टोलीले एक लाख नगद र उपविजेता टोलीले पचास हजार नगद प्राप्त गर्ने छ । पहिलो शारदा मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि बागचौर नगरपालिकाले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस