ग्रामीण अर्थतन्त्र बलियो बनाउन विजय लघुवित्तको साक्षरता अभियान

सल्यान, १९ बैशाख ।
ग्रामिण अर्थतन्त्रलाई बलियो बनाउनको लागि विजय लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय थारमारे सल्यानले छत्रेश्वरी गाउँपालिका–२, दहचौरमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय नागरिकहरूलाई वित्तीय ज्ञान प्रदान गर्दै आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको उद्धेश्यका बारेमा जानकारी दिँदै शाखा प्रमुख गोविन्द शाहीले लघुवित्तले वित्तीय पहुँच नपुगेका नागरिकहरूलाई लक्षित गरी सशक्तीकरणमा टेवा पु¥याउदै आएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि तथा छत्रेश्वरी गाउँपालिकाका संस्थापक उपाध्यक्ष सीता केसीले लघुवित्त संस्थाले विशेषतः महिलाहरूको सहभागिता सुनिश्चित गर्दै उनीहरूको आर्थिक सशक्तीकरणमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

केन्द्रीय अनुगमन अधिकृत हिमलाल वलीले मुख्य प्रशिक्षकको रूपमा प्रशिक्षण दिँदै वित्तीय साक्षरताको आवश्यकता, खर्च व्यवस्थापन, नियमित बचत र साना व्यवसायका लागि कर्जाको प्रभावकारी उपयोगबारे सहभागीहरूलाई जानकारी दिनुभयो ।
कार्यक्रममा दहचौर सहित आसपासका ४५ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस