सल्यान, २९ वैशाख ।
एउटा बिहान । गाउँको चौतारीमा मानिसहरूको भीड लागिरहेको छ । भीडको केन्द्रमा छन् केही गन्धर्वहरू—हातमा सारंगी, काँधमा मादल । र त्यो सन्नाटा चिर्दै सारंगीको स्वर गुञ्जिन्छ ।
00
आगो बल्ने लाइटरसलाई वनमा फाल्नु हुन्न । डढेलोले वन जल्दा कसको मन रुन्न ।।
सुन्नुहोला दिदीबहिनी सुन्नु दाजुभाइ । यस्तै यस्तै सन्देश हाम्ले भन्छौँ सबैलाई ।।
गर्मीयाममा आयो हजुर तातोखडेरी । आगलागीबाट बच्न अति जरुरी ।।
00
कुनै समय प्रेम, पीर र पिरतीका कथा गाउँदै गाउँ पस्ने गन्धर्वहरू अब गाउँ–गाउँ हिंड्दै हरियाली जोगाउने गीत गाउँछन् । सल्यानका गाउँबस्तीमा डढेलोबाट जोगिनको लागि सचेतना फैलाउन सङ्गीतको माध्यमबाट उनीहरु जुटेका छन् । यी गीत अब मनोरञ्जनका लागि मात्रै गाइँदैनन्, यी चेतनाका गीत हुन् । जंगलको महत्व, आगलागीको खतरा र स्थानीयको भूमिका बारे जनचेतना फैलाउने गीत ।
गन्धर्व समुदायले आफैं गीत लेख्छन्, लय मिलाउँछन्, र गाउँ–बस्तीमा पुगी गीत गाउँछन् । सारंगीको तानसँगै उठेको चेतनाको यो लहर सल्यानमा फैलिन थालेको छ । हिउँदमा कम पानी परेकाले यसपालि डढेलोको बढी जोखिम छ । सम्भावित वनडढेलो रोकथामका लागि बेलाबेला सुकेका पतकर सोहोर्ने र अग्निरेखा बनाउने काम हुँदै आएका पनि छन् । यसका साथै आगलागीको सम्भावित जोखिम रोक्न गन्धर्व सारंगी रेट्दै गाउँगाउँ पुगेका छन् ।
जनक गन्धर्व । सल्यानको सदरमुकाम स्थित संगित टोलमा जन्मिएका एक गायक हुनुहुन्छ । पहिले नेपाल प्रहरीमा कार्यरत हुनुहुन्थ्यो । सेवानिवृत्त भएपछि आफ्नै बाउबाजेको परम्परा पेशा सारंगी र गीतमार्फत समाज सेवाको बाटो उहाँले समात्नुभयो । ‘अब राज्यको सेवा होइन, समाजको सेवा गर्छु, गाउँ समाजको लागि यो अति नै आवश्यक छ, हामीले हाम्रो तर्फबाट सन्देश प्रवाह गर्ने काम गरिरहेका छौँ’ उहाँले भन्नुभयो ।
जनक मात्र होइन, सुशिल दुखी गन्धर्वजस्ता आधा दर्जन गायकहरू मिलेर गीतहरू तयार पार्छन् । ती गीतहरू बजारमा, चौतारीमा, विद्यालयमा गुञ्जिन्छन् । डढेलोको असर, सावधानीका उपाय, जंगलको माया—सबै कुरा ती गीतमा मिसिएको हुन्छ ।
00
वन कार्यालयले सालसल्लो लाउ भन्छ । सल्लेरीमा खोटाको भाउ हुन्छ ।।
वनमा खयर, नकोरौँ सलाई, नखाऔँ चुरोट, वनमा गएर ।।
00
वन डढेलोविरुद्धको यो अभियान न भाषण हो, न पोष्टर टाँस्ने काम । यो हो, संगीतमार्फत जनचेतना फैलाउने अभियान । जिल्लाका नागरिक देखी वन समुहले वन डढेलो नियन्त्रणका लागि सचेतीकरणका काम गर्दै आएका छन् । अग्नि रेखा बनाउने, झारपात सफा गर्ने, सलाई लाइटर जस्ता चीज वनजंगलमा लैजान प्रतिवन्ध लगाउने कार्यमा स्थानीय सक्रिय छन् ।
शारदा नगरपालिका ५ तल्लोमार्केकी गंगा रेउले सारंगी, मादल र खैचडीको तालसँगै लोकभाका मार्फत सुचना र सन्देश प्रवाह गरिदा समुदायमा थप प्रभावकारी भएको बताउनुहुन्छ । ‘गीत सुन्ने मात्रै होइन्, बुझ्ने पनि धेरै हुन्छन्, भाषण वा पोस्टरभन्दा लोकभाकाको प्रभाव बढी परेको छ’ उहाँले भन्नुभयो ‘बालबालिका देखी बृद्धबृद्धासम्मलाई वन जोगाउनुपर्छ है भन्ने चेतनाको विकास भएको छ ।’
जिल्लामा ६२९ सामुदायिक वन छन् । तर, यो वर्ष मात्र ३० भन्दा बढी वन क्षेत्रमा डढेलो लागेको छ । १४०० हेक्टरभन्दा बढी हरियाली जलेर नष्ट भएको छ । डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी ललितजंग खड्काले स्थानीय तह र समुदायको सहभागिता विना वन डढेलो एक्लै रोकथाम गर्न नसकिने बताउनुभयो । ‘सरकारी प्रयाससँगै समुदाय जाग्नु आवश्यक छ’ उहाँले भन्नुभयो ।
‘सञ्चारमाध्यममा प्रचारप्रचार, सामुदायिक वन उपभोक्तालाई अग्नि नियन्त्रण गर्ने तरिका, सुरक्षा निकायसहित अन्यलाई अग्नि नियन्त्रणको औजार उपलब्ध गराइएको छ’ उहाँले थप्नुभयो ‘सल्यान डढेलोको संवेदशनशील जिल्लाअन्तर्गत पर्ने भएकाले यो नयाँ उपाय पनि लगाइरहेका छौं, जनचेतनामुलक गितको माध्यमबाट सचेतना पनि प्रवाह भैरहेको छ ।’
वन ऐन २०७६, अनुसार डढेलो लगाउने वा आगलागी हुने कार्य गर्नेलाई विगो असुल गरी रु. ६० हजार सम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ ।