जलवायु परिवर्तन र वायो इन्जिनियरिङ सम्वन्धि तालिम सञ्चालन

सल्यान, २९ जेठ !
सिद्धकुमाख गाउँपालिकामा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा वातावरणीय संरक्षणका उपायबारे जनचेतना फैलाउन तीन दिने विशेष तालिम सम्पन्न भएको छ । गाउँपालिकाको वास इकाइको आयोजनामा तीन दिनसम्म तालिम सञ्चालन गरिएको हो । तालिममा जलवायु परिवर्तनका कारण देखिएका स्थानीय प्रभाव, ती समस्याका समाधानमा अपनाउन सकिने वायो इन्जिनियरिङ प्रविधिहरू र दिगो वातावरण व्यवस्थापनका उपायहरूबारे व्यवहारिक ज्ञान दिइएको थियो । विभिन्न क्षेत्रका स्थानीय सहभागि भएको तालिममा जलवायु अनुकूलन रणनीति, माटो कटान रोकथाम, भूक्षय नियन्त्रण र जैविक विधिबाट पूर्वाधार सुरक्षाबारे प्रशिक्षण प्रदान गरिएको थियो ।

तालिम सञ्चालनको उद्देश्य जलवायु परिवर्तनका जोखिमबाट समुदायलाई जोगाउन सक्ने सीप विकास गर्नु हो । जलवायु परिवर्तनका कारण पहाडी क्षेत्रहरूमा बाढी, पहिरो, माटो कटान र वनजङ्गलको विनाशजस्ता समस्या तीव्र हुँदै गएका छन् । यस्ता समस्याहरूको दीर्घकालीन समाधानका लागि समुदाय तहमै प्राविधिक ज्ञान र चेतना आवश्यक पर्न थालेको सन्दर्भमा तालिम आयोजना गरिएको हो । यो तालिमले स्थानीय समुदायमा जलवायु परिवर्तनप्रति चेतना बढाउने मात्र होइन, व्यावहारिक समाधानका उपाय सिकाउने अवसर पनि प्रदान गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस