… सल्यानका सबै बालबालिकाले पाए नियमित खोपको पुर्ण मात्रा !

उहाँले सल्यान जिल्ला अस्पतालको नयाँ भवन अलपत्र परेकोप्रति दुःख व्यक्त गर्दै भन्नुभयो ‘५० शैयाको अस्पताल बनाउन हामीले निरन्तर पहल गरिरहेका छौं, भौतिक संरचना र जनशक्ति अभावमा सोचेअनुसारको सेवा दिन सकिदैन्, १५ शैयाको अस्पतालले बेड थपेर ४५ बेड बढीमा सेवा दिनसक्नु चुनौतीको बिषय हो, यसमा अझ करारका कर्मचारीले तलब नपाउनु दुःखद छ, सुधार गर्नुपर्ने पक्षमा तत्काल सुधार गर्न सरकारसँग माग गर्दछु ।’


सल्यान, १८ असार ।
सल्यानका सबै बालबालिकाले नियमित खोपको पुर्ण मात्रा पाएका छन् । जिल्लाभरमा नियमित खोप लिनबाट छुटेका ३३ जना बालबालिकाले पुर्ण खोप पाएसँगै सल्यान जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्लामा भएका ० देखि १५ महिना सम्मका तीन हजार ८७८ जना र १६ महिना देखि ५९ महिनाका नौँ हजार ६८ गरि जम्मा १२ हजार ९४६ बालबालिका मध्ये नियमित खोप लिनबाट छुटेका ३३ जना बालबालिकाले पुर्ण खोप पाएका हुन् ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. अर्जुन बुढा मगरले खोप सुनिश्चितता सफल हुनुमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि र समुदायको योगदान निर्णायक भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘खोपले बाल मृत्युदर घटाउनुका साथै संक्रामक रोगको रोकथाममा ठूलो योगदान दिएको छ, अब हामीले यस उपलब्धिलाई दिगो बनाउने लक्ष्य लिएका छौं ।’

‘स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिताः पुर्णखोप सुनिश्चितता हाम्रो प्रतिवद्वता’ भन्ने नाराका साथ जिल्लालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै कर्णाली प्रदेश सभा सदस्य एवं पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले खोप कार्यक्रमलाई नेपाल सरकारको पहिलो प्राथमिकता भएको बताउँदै संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले सल्यान अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्न प्रदेश सरकारसँग पहल गरिरहेकाले थप सहयोग अपेक्षा गरिएको पनि जानकारी दिनुभयो ।

जिल्लामा स्वास्थ्य सेवा र पूर्वाधारको स्तरवृद्धि अपरिहार्य रहेको उहाँको भनाइ छ । उहाँले सल्यान जिल्ला अस्पतालको नयाँ भवन अलपत्र परेकोप्रति दुःख व्यक्त गर्दै भन्नुभयो ‘५० शैयाको अस्पताल बनाउन हामीले निरन्तर पहल गरिरहेका छौं, भौतिक संरचना र जनशक्ति अभावमा सोचेअनुसारको सेवा दिन सकिदैन्, १५ शैयाको अस्पतालले बेड थपेर ४५ बेड बढीमा सेवा दिनसक्नु चुनौतीको बिषय हो, यसमा अझ करारका कर्मचारीले तलब नपाउनु दुःखद छ, सुधार गर्नुपर्ने पक्षमा तत्काल सुधार गर्न सरकारसँग माग गर्दछु ।’

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलको अध्यक्षता भएको कार्यक्रममा बन्गाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्ण बहादुर बुढाथोकी, बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतम, कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुन, कुमाख गाउँपालिकाका अध्यक्ष मान बहादुर बुढाथोकी, छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी, त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावत, दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसी, जिल्ला समन्वय समितिका उपप्रमुख असबिर बुढाथोकी, शारदा नगरपालिकाकी उपप्रमुख सुस्मिता सापकोटा सुनार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले सल्यानले पूर्ण खोप सुनिश्चितता प्राप्त गर्नु स्वास्थ्य क्षेत्रमा एउटा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद श्रेष्ठले सल्यान जिल्ला अस्पतालको स्तरोन्नति र जनशक्ति व्यवस्थापनमा तत्काल सुधारको माग समेत राख्नुभयो । कर्णाली प्रदेश खोप कार्यक्रम संयोजक ओम पौडेलले सल्यानको सफलताप्रति बधाई दिँदै भन्नुभयो ‘सल्यान प्रदेशमै उत्कृष्ट उदाहरण हो, यसले अन्य जिल्लालाई पनि प्रेरणा दिनेछ, अबको चुनौती भनेको यो उपलब्धिलाई निरन्तरता दिनु हो, त्यसका लागि हामी प्रदेशस्तरबाट प्रविधि, तालिम र अनुगमनमा सहयोग गर्नेछौं ।’

कार्यक्रममा खोप कार्यक्रम अधिकृत तारा प्रसाद रिजालले नियमित खोपबाट छुटेकाहरूको खोजी माघदेखि चैतसम्म घरदैलो सर्वेक्षण गरेर गरिएको र वैशाखमा सबैलाई खोप सेवा दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार, उक्त अभियानले जिल्लाको प्रत्येक वडामा घरघरमा पुगेर बालबालिकाको खोप अभिलेख परीक्षण, सुरक्षित खोप कार्डको समीक्षा, र सम्भावित छुट भएका बालबालिकाको खोजी गरिएको थियो, त्यसपछि वैशाख महिनाभित्रै सबै छुटेका बालबालिकालाई खोप सेवा दिइएपछि जिल्लामा पूर्ण खोप सुनिश्चितता पुग्न सकेको हो ।

यसअघि जिल्लाका सबै पालिकालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो । कार्यक्रमको संचालन सूचना अधिकारी थलराज डिसीले गर्नुभएको थियो । खोप कार्यक्रमले बालबालिकालाई संक्रामक रोगबाट जोगाउने मात्र नभई समग्र बालस्वास्थ्य सुधार, बाल मृत्युदर घटाउने र अवसर समानता सुनिश्चित गर्नसमेत योगदान पु¥याउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस