सल्यान, १९ असार ।
सल्यान जिल्ला अस्पतालमा विरामीको चाप बढ्दै गएपछि थप सेवा विस्तार गरिएको छ । १५ शैयाको अस्पतालमा विरामीको चापका कारण ४५ शैयामा सञ्चालन भैरहेको अवस्थामा मुटु तथा पेट रोगसम्बन्धि विशेषज्ञ सेवा विस्तार गरिदा नागरिक खुसी भएका छन् । जिल्ला र आसपासको क्षेत्रका नागरिकलाई सहज सेवा प्रवाहमा टेवा पु¥याउने लक्ष्यका साथ अस्पतालले एकैपटक इकोकार्डियोग्राफी, इन्डोस्कोपी र कोलोनोस्कोपी सेवा सुरु गरेको हो । इकोकार्डियोग्राफी सेवा मार्फत मुटुको संरचना, चाल र पम्प गर्ने क्षमताको परीक्षण गरिन्छ भने इन्डोस्कोपी र कोलोनोस्कोपी सेवाले पेट तथा ठूलो आन्द्राको भित्री भागको समस्या छानबिन गर्न सहयोग गर्छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढा मगरले विहीबारबाट यी सबै सेवा एकैपटक सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । ‘हामीले सल्यान अस्पतालमा पहिलोपटक एकैसाथ इकोकार्डियोग्राफी, इन्डोस्कोपी र कोलोनोस्कोपी सेवा सुरु गरेका छौं, जुन यहाँका बासिन्दाका लागि ठूलो उपलब्धि हो, यी सबै सेवा विशेष किसिमका जाँच हुन्, यी सेवा अहिलेसम्म जिल्ला अस्पतालमा उपलब्ध थिएनन्’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार इकोकार्डियोग्राफी मुटुको अवस्था हेर्नका लागि गरिने अल्ट्रासाउन्ड जाँच हो । यसले मुटुको चाल, पम्प गर्ने क्षमता, रक्त प्रवाह, र जन्मजात मुटु रोगहरूबारे विस्तृत जानकारी दिन्छ । यस्तै मुटु दुख्ने, उच्च रक्तचाप भएका, सास फेर्न गाह्रो हुने, वा हृदयमा अवरोधको शंका भएका बिरामीका लागि यो अत्यन्त उपयोगी छ । यस्तै इन्डोस्कोपी पेट दुखाइ, ग्यास्ट्रिक, अल्सर, वा घाँटी हुँदै पेटको भित्री भागमा समस्या देखिएको अवस्थामा गरिन्छ । यसले पेट र सानो आन्द्राको भित्री सतह प्रत्यक्ष हेर्न सहयोग गर्छ ।
यस्तै कोलोनोस्कोपी भने ठूलो आन्द्रा र मलद्वारको जाँच हो । पेट फुल्ने, दिसामा रगत देखिने, बारम्बार पातलो दिसा लाग्ने वा क्यान्सरको शंका हुने अवस्थामा यो जाँच अत्यावश्यक हुन्छ । यी तीनवटै सेवाले समयमै रोग पत्ता लगाएर प्रारम्भिक अवस्था मै उपचार गर्न सहयोग पु¥याउँने डाक्टर बुढाको भनाइ छ । ‘अब मुटुका रोग, पेट तथा आन्द्रासम्बन्धी रोगहरू जटिल अवस्थामा पु¥याउनु पर्ने छैन्, जिल्ला अस्पतालमा जाँच तथा उपचार सेवा सुचारु भएकोे छ’ उहाँले थप्नुभयो ।
पहिले यस्ता परीक्षण गराउन बिरामीहरूलाई नेपालगञ्ज वा काठमाडौंसम्म जानुपर्ने बाध्यता थियो । धेरै बिरामीले समय, पैसा र शारीरिक क्षमताको अभावले गर्दा परीक्षण नै नगराउने गर्थे, जसले गर्दा रोग बिग्रिने अवस्था आउँथ्यो । अब भने गाउँमै यस्ता विशेष सेवा उपलब्ध भएपछि स्थानीय नागरिकको स्वास्थ्यमा पहुँच बढ्ने, सस्तोमा गुणस्तरीय सेवा पाउने र रोगको पहिचान समयमै हुने विश्वास लिएको डाक्टर बुढाले बताउनुभयो । ‘हामीले दक्ष जनशक्ति, उपकरण र व्यवस्थापनमा समेत ध्यान दिएका छौं, यो सुरुआत हो, आगामी दिनमा अझ नयाँ सेवा थप्दै लैजाने हाम्रो लक्ष्य छ’ उहाँले थप्नुभयो ।
आधुनिक स्वास्थ्य सेवा सुरु हुनु सकारात्मक कदम
सल्यान अस्पतालमा इकोकार्डियोग्राफी, इन्डोस्कोपी र कोलोनोस्कोपी सेवा सुरु हुने अवसरमा आयोजित शुभारम्भ समारोहमा जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले स्वागतयोग्य र प्रेरणादायी कदम भएको बताउनुभएको छ । ‘सल्यानजस्तो पहाडी जिल्लामा यति आधुनिक र विशिष्ट स्वास्थ्य सेवा सुरु हुनु निकै सकारात्मक र प्रेरणादायी कदम हो, अब हामीले मुटु, पेट र आन्द्रासम्बन्धी गम्भीर समस्या भएका बिरामीलाई शहरतर्फ पठाउनु पर्ने अवस्था घट्नेछ’ उहाँले भन्नुभयो ।
उहाँले अस्पताल व्यवस्थापन, डाक्टर तथा स्वास्थ्यकर्मीको प्रतिबद्धता र सक्रियताको प्रशंसा गर्नुभयो । ‘ग्रामीण भेगका नागरिकलाई सुलभ रूपमा सेवा उपलब्ध गराउने यस प्रकारको प्रयासले अस्पताल विकास समिति, डाक्टर तथा स्वास्थ्यकर्मी र सेवाग्राही विचको सहकार्य राम्रो देखिन्छ, यसलाई अझ प्रभावकारी बनाउन हामी जिल्ला समन्वय समिति तर्फबाट आवश्यक समन्वय, नीति तथा स्रोतसाधन जुटाउने काममा सधैं तयार छौं’ उहाँले भन्नुभयो ।
सेवा शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख असविर बुढाथोकी, शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनार, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, अस्पताल विकास समितिका अध्यक्ष प्रमोद श्रेष्ठ लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
सेवा विस्तारले सेवाग्राही खुसी
सल्यान जिल्ला अस्पतालमा थप सेवा सुरु भएपछि यहाँका सेवाग्राहीहरू अत्यन्त खुसी भएका छन् । अस्पतालमा नयाँ सेवा विस्तार भएपछि दैनिक बिरामीको चाप पनि बढ्ने अनुमान गरिएको छ । स्थानीय नागरिकहरूले यो स्वास्थ्य सेवा पहुँचमा ऐतिहासिक सुधार भएको भन्दै स्वागत गरेका छन् । शारदा नगरपालिका–५ का हेमराज थापा नयाँ सेवाप्रति उत्साहित हुनुहुन्छ । ‘म आफै उपचारका लागि नेपालगन्ज गएको छु, लाखौँ खर्च भएको छ, आफ्नै जिल्लामा थप सेवा विस्तारले खुसी लागेको छ’ उहाँले भन्नुभयो ।
उपचारकै लागि जिल्ला बाहिर जादा लाग्ने खर्च, समय र सास्तीबाट मुक्ति मिलेको उहाँको भनाइ छ । ‘अहिले मुटुको समस्या भएको बेला सजिलै यहाँ इकोकार्डियोग्राफी गर्न सकिन्छ भन्ने थाहा पाएपछि धेरै राहत भएको छ, पहिले टाढा जाँदा झन्झट धेरै हुन्थ्यो, अहिले नजिकै राम्रो सेवा पाउँदा आफू र परिवार दुवैलाई धेरै फाइदा भएको छ’ उहाँले भन्नुभयो ‘सेवा नियमित होस्, मेरो चाहाना यही छ ।’
अस्पतालको नयाँ सेवाले खासगरी ग्रामीण क्षेत्रका गरिब, वृद्धवृद्धा र असहायहरूलाई ठूलो सहयोग पुगेको छ । लामो यात्रा गर्ने, समय र पैसाको अभाव हुने सेवाग्राहीहरूलाई अब सजिलो भएकोले स्वास्थ्य सेवामा पहुँच बढेको नागरिक बताउँछन् ।