सुशासन र रोजगारीबिनाको समाजवाद केवल नारामात्र हुन्छ : ज्वाला

‘हामीले समाजवादको सपना बोकेका छौं भने त्यो सपना कार्यान्वयनमा उतार्ने आधार भनेकै सुशासन र रोजगारी हो, जबसम्म राज्यको संयन्त्र जनताप्रति जवाफदेही हुँदैन, जबसम्म बेरोजगार युवाले देशमै जीवनयापन गर्न सक्ने अवस्था हुँदैन, तबसम्म समाजवादको चर्चा केवल भाषणमा सिमित हुन्छ’ उहाँले भन्नुभयो ‘राजनीतिक घोषणापत्रमा समाजवाद लेखेर मात्र पुग्दैन, त्यो व्यवहारमा देखिनुपर्छ, विद्यालयमा, अस्पतालमा, न्यायालयमा र स्थानीय सेवा प्रणालीमा देखिनुपर्छ ।’

सल्यान, २३ साउन ।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय उपाध्यक्ष प्रकाश ज्वालाले सुशासन र रोजगारीबिनाको समाजवाद केवल नारामात्र हुने बताउनुभएको छ । उहाँले समाजवाद घोषणापत्रमा नभई जनताको जीवनमा देखिनुपर्ने बताउनुभएको हो । नेकपा (एकीकृत समाजवादी) सल्यानले शुक्रबार खलंगामाआयोजना गरेको सुशासन र रोजगारीः समाजवादको तयारी विषयक सर्वपक्षीय अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘हामीले समाजवादको सपना बोकेका छौं भने त्यो सपना कार्यान्वयनमा उतार्ने आधार भनेकै सुशासन र रोजगारी हो, जबसम्म राज्यको संयन्त्र जनताप्रति जवाफदेही हुँदैन, जबसम्म बेरोजगार युवाले देशमै जीवनयापन गर्न सक्ने अवस्था हुँदैन, तबसम्म समाजवादको चर्चा केवल भाषणमा सिमित हुन्छ’ उहाँले भन्नुभयो ‘राजनीतिक घोषणापत्रमा समाजवाद लेखेर मात्र पुग्दैन, त्यो व्यवहारमा देखिनुपर्छ, विद्यालयमा, अस्पतालमा, न्यायालयमा र स्थानीय सेवा प्रणालीमा देखिनुपर्छ ।’

समाजवादको यात्रालाई नारा होइन, नीति र व्यवहारमा आधारित परिवर्तनको प्रक्रिया हुनुपर्ने बताउँदै उहाँले राज्य संयन्त्रले जनता केन्द्रित काम नगरेसम्म विश्वास गुम्दै जाने दावी गर्नुभयो । ‘हामीले अहिले सुशासनको कुरा गरिरहेका छौं, तर यो सुशासन हो भने किन जनताको सेवा सहज छैन् ? किन युवाहरू देश छाडिरहेका छन् ? किन गरिबले न्याय किन्नु पर्ने अवस्था अझै बाँकी छ ?’ उहाँले प्रश्न गर्दै भन्नुभयो ‘रोजगारी सिर्जना गर्न योजनाभन्दा पहिला इमानदार नियत चाहिन्छ, अहिले पनि कृषि, पर्यटन, लघु उद्योग, सूचना प्रविधि र पूर्वाधारमा ठूलो सम्भावना छ तर त्यो प्रयोग गर्न योजना छैन, प्रतिबद्धता छैन ।’

सांसद ज्वालाले रोजगारीका नाममा ल्याइने अधिकांश कार्यक्रम कागजी प्रकृतिका भएको र स्थानीय तहदेखि संघीय सरकारसम्म गम्भीर समिक्षा र सुधार आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । ‘राजनीतिक नेतृत्वले निर्णय गर्छ, प्रशासनले कार्यान्वयन गर्छ, यदि दुवै इमानदार छैनन् भने जनताको भरोसा गुम्छ, समाजवाद भन्नु जनताको भरोसामा टिकेको शासन प्रणाली हो, जहाँ सेवा, न्याय र अवसर सबैका लागि समान होस्’ उहाँले थप्नुभयो ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरी, केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज भद्रसिंह बुढा, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य हरिप्रकाश बुढाथोकी, नेकपाका पोलिटब्युरो सदस्य मोहलाल चन्द, राप्रपा सल्यानका उपाध्यक्ष सन्तोष राई र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष ढकन प्रसाद शर्मा लगायतका वक्ताहरूले आआफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।

वक्ताहरूले समाजवादको कार्यान्वयनका लागि नीतिगत स्पष्टता, दलहरूबीच सहकार्य, प्रशासनिक सुधार, युवा परिचालन र समान पहुँचयुक्त सेवा वितरण अपरिहार्य रहेकोमा जोड दिनुभएको छ । पार्टीका जिल्ला अध्यक्ष रमेश कुमार गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेता सिपि वलीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पार्टीका सचिव प्रेमबहादुर डाँगीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस