यो केवल भवन होइन, सहिदप्रतिको कर्तव्यको प्रतीक होः ज्वाला

सल्यान, २४ साउन ।

सल्यानमा सहिद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानको भवन उद्घाटन गरिएको छ । जिल्लाको सदरमुकाम खलंगामा निर्माण गरिएको प्रतिष्ठानको भवन शुक्रवार नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय उपाध्यक्ष, प्रतिष्ठानका संस्थापक केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले उद्घाटन गर्नुभएको हो । प्रतिष्ठानको भवन निर्माणका लागि शहरी विकास कार्यालयले आवश्यक वजेट विनियोजन गरेको थियो । भवन उद्घाटन गर्दै ज्वालाले सहिद नेत्रलाल अभागीले नेपालमा समाजवाद, समानता र जनताको अधिकारका लागि दिएको योगदान कहिल्यै बिर्सन नसकिने बताउनुभयो ।

सहिद नेत्रलाल अभागीलाई एउटा आदर्श राजनीतिक कार्यकर्ता, निष्ठावान र जनताको पक्षमा जीवन अर्पण गर्न सक्ने बिर योद्धाका रूपमा वर्णन गर्दै भन्नुभयो ‘नेत्रलाल अभागीजस्ता सहिदहरू इतिहासका किताबमा मात्रै सीमित भएर बस्नु हुँदैन, उहाँहरूको विचार, साहस र बलिदानलाई पुस्तौँले सम्झनु आवश्यक छ, सामाजिक न्याय, समानता र परिवर्तनका निम्ति जीवन समर्पण गर्ने योद्धा उहाँ हुनुहुन्थ्यो, कुनै स्वार्थ वा पदका लागि होइन, राष्ट्र र जनताको मुक्ति र अधिकारका निम्ति उहाँले प्राण त्याग्नुभयो ।’

उहाँले अगाडि भन्नुभयो ‘आज हामीले उहाँकै नाममा यो प्रतिष्ठानको भवन उद्घाटन गरेका छौँ, यो केवल एउटा संरचना निर्माण होइन, सहिदप्रतिको कर्तव्य र कृतज्ञताको प्रतिक हो, यस प्रतिष्ठानमार्फत हामीले उहाँको सपना र आदर्शलाई भावी पुस्तासम्म पु¥याउने प्रयत्न गर्नुपर्छ ।’ एक निष्ठावान राजनीतिकर्मी, एक जनपक्षीय साहित्यकार, प्रतिभावान लेखक, जनप्रिय शिक्षक, इमानदार समाजसेवी, यस्ता धेरै परिचयबाट चिनिनुभएका सहिद नेत्रलालबाट समाजले धेरै कुरा सिक्न अझै बाँकी रहेको उहाँको भनाइ छ ।

सहिद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानका केन्द्रिय अध्यक्ष शम्भु गौतमले सहिदप्रतिको सम्मान केवल भावनामा सीमित नराखी कार्यभारमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सल्यानका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले सहिदहरूको योगदानप्रति श्रद्धा प्रकट गर्दै प्रशासन र समुदायबीचको सहकार्यको आवश्यकता औँल्याउनुभयो । प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष लक्ष्मण ज्ञवालीले सहिदको सम्झना केवल भावनामा नभई कर्ममा पनि देखिनुपर्ने बताउनुभयो ।

प्रतिष्ठानका सल्यान शाखा अध्यक्ष इन्द्र कुमार शर्माको अध्यक्षता भएको भवन उद्घाटन कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव सन्तोष बिसीले गर्नुभएको थियो । प्रतिष्ठानको भवन निर्माणका लागि शारदा नगरपालिका–१५ निवासी रामचन्द्र रेग्मीले आफ्ना स्व. बुवा एकानन्द उपाध्यायको सम्झनामा खलंगामा आवश्यक जग्गा निःशुल्क रुपमा दान गर्नुभएको थियो । भवन निर्माण कार्यको जिम्मा शारदा नगरपालिका–६ का डिएसटी निर्माण सेवाका सञ्चालक डम्बर सिंह तिरुवाले लिनुभएको थियो ।

२०८१ साल फागुन ८ गते सम्झौता भई २०८२ असार २५ गते भवनको निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा जग्गा दानदातालाई विशेष सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित