डोको बिसाए गाउँलेले : आँगनमै आयो पिउने पानी

‘पानीका दुख धेरै थिए, अहिले त घरैमा पानी आएको छ, डोको गाग्री बोकेर कुवा खोज्दै जानुपर्दैन्’ उहाँले खुसी हुदै भन्नुभयो ‘आफुले चाहेको बेला धारा खोल्यो, पानी भरे हुन्छ ।’

सल्यान, ३१ भदौ ।
सल्यानको छत्रेश्वरी गाउँपालिकाका ग्रामिण बस्तीमा खोनपानी पुगेपछि नागरिक खुसी भएका छन् । विगतमा खानेपानीका लागि डोकोमा गाग्री बोकेर घण्टौँ समय खर्च गर्दै आएका नागरिकहरु अहिले घरआँगनमै खानेपानी आएपछि खुसी भएका छन् । ‘पानीका दुःख त हामीले धेरै पायौं, जलुकी खोलीसम्म डोको बोकेर जान्थ्यौं, बिहान अँध्यारोमै नउठ्ने हो भने पालो आउँदैन्थ्यो, कहिले त रात नै पथ्र्यो, बाटोमै लड्ने, चिप्लिने, शरीर दुख्ने त सामान्य थियो, महिलाले पानी नल्याए घरमा खाना नै बन्द हुन्थ्यो’ विगत सम्झिदैँ छत्रेश्वरी गाउँपालिका–६ भोटेचौरकी बेगी ओलीले भन्नुभयो ‘अब त त्यो दुःख सपना जस्तै लाग्छ, आँगनमै धारो छ, चौबिसै घण्टा पानी आउँछ, हाम्रो जीवनै फेरिएको छ ।’

आँगनमै पानीको धारा झरेपछि छत्रेश्वरी गाउँपालिका–५ सिरुवाली निवासी ७८ वर्षिय खिमी रावतले विगतमा धेरै दुःख भोग्नुपरेको भन्दै अब सबैलाई सुविधा आएको बताउनुभयो । ‘पहिले पानी ल्याउन दुई–तीन घण्टा लाग्थ्यो, अब त बिहान उठेर नित्यकर्म गर्न पनि सजिलो भएको छ, सँगै सरसफाइ पनि राम्रो भएको छ’ उहाँले भन्नुभयो ‘यो योजना हाम्रो सपना जस्तै हो, गाउँपालिकाले योजना ल्यायो, हामीले श्रमदान ग¥यौं, नगद पनि उठायौं, अहिले त्यो श्रमको फल पाएका छौं ।’

स्थानीय ६७ वर्षिय इश्वरी प्रसाद रावतले गाउँपालिकाबाट योजना परेपछि आफुहरुले पनि २३–२३ दिन श्रमदान गरेर नगद ४५ सय रुपैयाँ समेत उठाएर योजना सम्पन्न गरिएको बताउनुभयो । ‘पानीका दुख धेरै थिए, अहिले त घरैमा पानी आएको छ, डोको गाग्री बोकेर कुवा खोज्दै जानुपर्दैन्’ उहाँले खुसी हुदै भन्नुभयो ‘आफुले चाहेको बेला धारा खोल्यो, पानी भरे हुन्छ ।’ छत्रेश्वरी गाउँपालिकाले सुस्वा परियोजनाको सहकार्यमा सञ्चालन गरेको सबैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम अन्तर्गत भोटेचौर र सिरुवालीमा खानेपानी योजना सम्पन्न भएको हो ।

भोटेचौरमा जलुके खोला खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएको छ । २१ लाख ७४ हजार ४४५ रुपैयाँ लागतमा सम्पन्न भएको योजनाबाट ३७ घरधुरी लाभान्वित भएका छन् । योजना कार्यान्वयनका क्रममा उपभोक्ताहरूले २३ दिनसम्म श्रमदान गरे । जनश्रमदानको मूल्यांकन ४ लाख १३ हजार १४४ रुपैयाँ गरिएको छ । त्यसैगरी उपभोक्ताबाट नगद १ लाख ४८ हजार संकलन गरिएको थियो । बाँकी १६ लाख १३ हजार ३०० रुपैयाँ गाउँपालिका र सुस्वा कार्यक्रमको अनुदान थियो ।

यस योजनामा पानीको ट्यांकीको वितरण लाइनमा इनलाइन क्लोरिनेशन प्रणाली जडान गरिएको छ । यस प्रणालीमार्फत पानीमा निश्चित मात्रामा क्लोरिन मिसाउने प्रक्रिया अपनाइन्छ, जसले पानीमा रहेका हानिकारक जीवाणुहरू नष्ट गर्छ । यसरी शुद्ध र सुरक्षित पानी प्रत्यक्ष रूपमा उपभोक्ताको धाराबाट बग्न थालेको छ । ‘यो स्वास्थ्य र स्वच्छताको दृष्टिले पनि महत्वपूर्ण छ, अब समुदायले झाडा–पखाला, आउँ रोग, टाइफाइडजस्ता समस्याबाट मुक्ति पाउनेछन्’ वास संयोजक निमराज केसीले भन्नुभयो ‘हामीले शुद्ध पानी नागरिकको घरसम्म लगेका छौँ ।’

यस्तै योजना वडा नं. ५ सिरुवालीमा पनि सम्पन्न भएको छ । ‘ढोरेनीको मूलबाट तीन किलोमिटर टाढासम्म पानी ल्याएर हामीले १२ हजार लिटरक्षमताको ट्यांकीमा भण्डारण गरेका छौं’ वडाअध्यक्ष फौद बहादुर बस्नेतले भन्नुभयो ‘त्यो पानी ४८ घरधुरीमा वितरण गरिरहेका छौं, हरेक घरमा छुट्टै धारा, हात धुने ठाउँ, र भाँडाकुडा सुकाउने चाङ बनाइएको छ, सरसफाइमा उल्लेखनीय सुधार देखिएको छ ।’ सिरुवालीको योजनाको कुल लागत २९ लाख ८ हजार ७५ रुपैयाँ पुगेको छ ।

उपभोक्ताबाट श्रमदानमार्फत ५ लाख ५२ हजार रुपैयाँ बराबरको सहयोग प्राप्त भएको छ भने नगदमा १ लाख ९२ हजार संकलन गरिएको थियो । बाँकी २६ लाख ६० हजार रुपैयाँ गाउँपालिका र सुस्वा परियोजनाबाट प्रदान गरिएको अनुदान थियो । पाइपलाइन विस्तार अन्तर्गत ६ सय ४४ मिटर मेनलाइन र ५ हजार २ सय ३५ मिटर शाखा लाइन विस्तार गरिएको हो ।

छत्रेश्वरी गाउँपालिकाले हालै सम्पन्न आर्थिक वर्ष २०८१/०८२ मा चारवटा खानेपानी योजनाहरू सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीका अनुसार, ती योजनाहरूमा कुल १ करोड ६१ लाख ३१ हजार रुपैयाँभन्दा बढी लगानी भएको छ । वडा नं. ३ मा ३३ लाखभन्दा बढी लागतमा बिउरे खोला दारिमज्युला खानेपानी योजना सम्पन्न गरिएको छ भने वडा नं. ५ मा ७० लाखभन्दा बढी लागतमा ढोरेलाचौर लिफ्ट खानेपानी योजना सञ्चालन गरिएको छ । खानेपानी नपुगेका बस्तीमा पनि पानी लैजाने गरि गाउँपालिकाले योजना बनाएको उहाँको भनाइ छ ।

गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले घरैमा खानेपानी पुगेपछि महिला तथा बालबालिकालाई बढी राहत मिलेको बताउनुभएको छ । ‘पहिले घरको चुलोचौकाभन्दा बाहिर सोच्नसमेत सक्दैनथ्यौं, महिला र बालबालिकालाई पानी ओसार्न मै दिन जान्थे, अहिले महिलाहरू धारोबाट पानी लिएर फर्कँदै कामको योजना बनाइरहेका हुन्छन्’ उपाध्यक्ष खत्रीले भन्नुभयो ‘दूषित पानीबाट बच्नु भनेको रोगबाट बच्नु हो, पानीकै माध्यमबाट हामी महिलाको श्रमलाई सम्मान दिन सकेका छौं ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले खानेपानी योजनालाई दिगो र प्रभावकारी बनाउन अति आवश्यक रहेको बताउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस