
सल्यान, ३ असोज ।
संविधान नेपाली जनताको ऐतिहासिक उपलब्धि भएको सल्यानमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा जिल्ला समन्वय समिति सल्यानले शुक्रवार खलंगामा आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले संविधानले दिएको मौलिक हक, समानुपातिक प्रतिनिधित्व र समावेशिताको व्यवस्था लोकतान्त्रिक प्रणाली सुदृढ गर्ने आधार भएको जनाउँदै यिनको प्रभावकारी कार्यान्वयनमा अझ ध्यान दिनुपर्नेमा जोड दिएका हुन् । वक्ताहरूले जेनजी आन्दोलन र त्यसपछि बनेको अन्तरिम सरकारलाई संविधान कार्यान्वयनको चुनौतीपूर्ण पक्षका रूपमा समेत टिप्पणी गरेका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले संविधानलाई बहसको बिषय बनाइनु अति आवश्यक रहेको बताउनुभएको छ । उहाँले संविधान निर्माण गर्ने तर पुर्ण कार्यन्वयन गर्न नसक्दा अहिलेको समस्या निम्तिएको बताउनुभएको हो । जेनजी पुस्ताको आन्दोलन पनि अहिले भएका गलत कार्यको परिणाम भएकाले राम्रा कामको निरन्तरता र गलत कार्यको भण्डाफोर गर्दै सच्चिएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।
यस्तै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले संविधानलाई सफलतापूर्वक कार्यान्वयन गर्न राजनीतिक स्थिरता, सुशासन र सबै तह–तप्काबीच आपसी सहकार्य अपरिहार्य रहेको बताउनुभयो । नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य सनत कुमार शर्माले पछिल्लो समय संविधानको रक्षाका लागि भएका कार्य स्वागतयोग्य रहेको भन्दै अवका दिनमा सबैलाई गर्व गर्न लायक र अपनत्व हुने गरि काम गरिनुपर्ने बताउनुभयो ।
नेकपा एमालेका जिल्ला कमिटि सचिव पुष्पा कुमारी बोहराले संविधानको पुर्ण पालनामा ध्यान नदिदा अहिलेको परिस्थिती सिर्जना भएको भन्दै संवाद, सहकार्य र समन्वयबाटै निकास खोजिनुपर्ने बताउनुभयो । यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मान बहादुर मल्लले नागरिकले सुशासन, भ्रष्टाचार निवारण, विधिको शासन खोजेकाले सोही अपेक्षा अनुसार संविधान कार्यन्वयन हुनुपर्ने बताउनुभयो ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति प्रकाश नेपालीले अझै पनि संविधान पुर्ण नभएको महशुस भएकाले यसमा भएका गलत प्रविधिलाई हटाउँदै केही बुँदा थपेर अघि बढ्नुपर्ने बताउनुभयो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय अध्यक्ष सन्तोष कुमार राईले नेपालमा भएका हरेक इतिहास विर्सन नहुने भन्दै अहिलेकै अवस्थामा संविधानमा भएका केही त्रुटिलाई सच्याएर अघि बढ्नुपर्ने बताउनुभयो ।
यस्तै नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रमेश कुमार गौतमले लोकतन्त्र, गणतन्त्र, समान अधिकार र नागरिक स्वाधिनताको सुनिश्चितता संविधानमै भएकाले संविधानलाई सर्वस्वीकार्य बनाउदै अघि बढ्नुपर्ने बताउनुभयो । यस्तै नेपाल पत्रकार महासंघ, जिल्ला शाखा सल्यानका अध्यक्ष डिल्लीराज रावतले राज्यले गर्ने हरेक क्रियाकलापलाई औपचारिकता मात्रै सिमित बनाइदा संविधानको रक्षा गर्न गाह्रो भएको बताउनुभयो ।
यस्तै नेपाल बार एशोसिएसनका केन्द्रीय परिषद सदस्य सिपि वलीले संविधान निर्माताहरुले नै संविधानको पालना नगर्दा संविधानमाथि नै प्रहार भैरहेको बताउनुभयो । जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख असबिर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ, जिल्ला शाखा सल्यानका सचिव बुद्धि पुनले गर्नुभएको थियो ।