![]()
सल्यान, २३ कार्तिक ।
सल्यानको शारदा नगरपालिका–५ तल्लो मार्केमा रहेको जनकल्याण आधारभूत बिद्यालयमा शैक्षिक र खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ । यस बिद्यालयले सञ्चालन गरेको छात्रवासको लागि एकैदिन लाखौँ मुल्य बराबरका शैक्षिक सामाग्री र खाद्यान्न सामाग्री शुक्रवार एक कार्यक्रमका विचमा हस्तान्तरण गरिएको हो । यसका साथै बिद्यालयमा सरस्वतिको मन्दिरको शिलान्यास पनि गरिएको छ । समाजसेवि मधुसुदन सेजवालको नेतृत्वमा कापि ७५ दर्जन, कलम ७५ दर्जन, चामल १२ बोरा, दाल १ बोरा, साबुन २ गत्था, तेल १ गत्था, स्वयाविन १ बोरा, मसला २ किलो बिद्यालयलाई हस्तान्तरण गरिएको छ ।
यस्तै लालिगुँरास आमा समुहको तर्फबाट चामल २ बोरा, दाल ४ किलो, तेल ५ लिटर, आलु ५ किलो, नुन १ पोका र साबुन ६ पिस, स्थानीय देव बहादुर थापाको तर्फबाट चामल १ बोरा, दाल २ किलो, तेल १ लिटर, कलम २ दर्जन, कापि २ दर्जन हस्तान्तरण गरिएको छ । यस्तै गंगाराम रोकायले छात्रवासको लागि निशुल्क घर सहित ३५ हजार बराबरको सामाग्री उपलब्ध गराउनुभएको छ भने तल्लो मार्के घरभई हाल चैबाङ्गमा बसोबास गर्दै आउनुभएका १६ जना स्थानीयले ७ मुरी १० पाथी धान सहयोग गर्नुभएको छ ।
यस्तै बिद्यालय परिसरमा सरस्वती मन्दिरको लागि स्व. छोरा गोविन्द बुढाथोकी र स्व. छोरी पार्वती बुढाथोकीको सम्झनामा बुवा होताराम बुढाथोकी र आमा इश्वरीदेवी बुढाथोकी तथा भाइ मोहन बुढाथोकी र बुहारी इन्द्रा बुढाथाकीले करिब १ लाख २५ हजारको लागतमा मन्दिर निर्माणको थालनी गर्नुभएको छ भने निर्माण पश्चात बिद्यालयलाई हस्तान्तरण हुने छ । यस्तै तल्लो मार्के घरभई हाल अमेरिकामा बस्दै आउनुभएका पदम रोकायले बिद्यालयको प्रवेशद्धार र घेरवार निर्माणमा लाग्ने सबै खर्च आफैले बेहोर्ने बताउदैँ हाल १ लाख २५ हजार ८ सय २५ रुपैँया उपलब्ध गराउनुभएको छ ।
सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर केसीले शिक्षालाई व्यवहारिकतामा जाड्न अतिआवश्यक रहेको बताउनुभयो । सामाजिक र नैतिक शिक्षालाई व्यवहारमा उतार्न नसक्दा धेरै मान्छे समस्यामा परेको बताउदै उहाँले जीवनोपयोगी शिक्षा नै अहिलेको आवश्यकता भएको बताउनुभयो । शैक्षिक क्षेत्रको उन्नयनका लागि आफुले सक्दो सहयोग गर्ने उहाँको भनाइ छ ।
यस्तै नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले बिद्यालय शिक्षा सुधारका लागि शिक्षक, अभिभावक र बिद्यार्थी विचको सहकार्य अति आवश्यक रहेको बताउनुभयो । यस्तै नेपाल पत्रकार महासंघ सल्यानका सचिव बुद्धि पुनले ज्ञान, सिप र व्यवहारिक शिक्षा विना कुनैपनि समाज अघि बढ्न नसक्ने भएकाले गाउँमै गुणस्तरीय शिक्षा दिन गरिएका कार्य प्रशंसायोग्य रहेको बताउनुभयो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य कुल बहादुर रेउले, सहयोगीदाता गंगाराम रेउले, बिद्यालयका संस्थापक अध्यक्ष टेक बहादुर बोहरा लगाएतले बोल्नुभएको थियो । बिद्यालयका प्रधानाध्यापक डिल्ली भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक कृष्ण बहादुर वलीले गर्नुभएको थियो ।