
सल्यान, २ मंसिर ।
सल्यानको कपुरकोट गाउँपालिकामा श्रमदानमा आधारित पूर्वाधार निर्माण अभियान औपचारिक रूपमा सुरु गरिएको छ । आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार ‘कपुरकोट जागरण’का नाममा थालिएको यो अभियानले स्थानीय विकासमा जनसहभागिता र सामुदायिक एकताको निकै बलियो संदेश दिएको छ । वडा कार्यालयबाट सिफारिस भएका सार्वजनिक स्थानहरूलाई प्राथमिकता दिँदै सुरु गरिएको अभियानअन्तर्गत पहिलो दिन सोमबार वडा नम्बर १ को सारपानी आधारभूत स्वास्थ्य इकाइ जाने बाटोमा सल्याब निर्माण गरिएको छ ।
गाउँपालिकाले प्रत्येक वडामा निर्माण सामग्री खरिदका लागि तीन लाख रुपैयाँ विनियोजन गरेको छ । सोही सामग्री प्रयोग गरी बाँकी सम्पूर्ण निर्माण कार्य जनप्रतिनिधि, कर्मचारी र स्थानीयको सामूहिक श्रमदानमार्फत सम्पन्न गरिने जनाइएको छ । सारपानी स्वास्थ्य इकाइ जाने बाटोमा करिब पाँच मिटर चौडाइ र पच्चीस मिटर लम्बाइको सल्याब हालेर अभियानको सुरुवात भएपछि अन्य वडाहरूमा पनि विकासको लहर पैदा गर्ने विश्वास लिइएको छ ।
अभियानको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले श्रमदानलाई विकासको मूल आधार बनाउनुपर्ने आवश्यकता देखिएको बताउनुभयो । ‘गाउँकै हातले गाउँ बनाउने सोच यो अभियानको मेरुदण्ड हो, हामीले आर्थिक पक्षबाट सहयोग गरिरहेका छौँ, तर विकासको वास्तविक शक्ति भनेको जनताको श्रम र सहभागिता नै हो, गाउँ–गाउँमा जनताको हातले बनेका बाटो, भवन वा सामुदायिक संरचना केवल पूर्वाधार मात्र होइन, उनीहरूको पहिचान, परिश्रम र भविष्यका लागि लगानी पनि हुन्’ उहाँले भन्नुभयो ‘श्रमद्वारा निर्माण भएका संरचनाप्रतिको माया फरक हुन्छ, र संरक्षण पनि जनताले नै गर्छन् ।’
श्रमदानबाट निर्मित पुर्वाधार विकासले स्थानीयलाई नै प्रत्यक्ष फाइदा गर्ने उहाँको भनाइ छ । ‘हामीले वडाबाट सिफारिस आएका योजना समावेश गरी सबै वडामा अभियान विस्तार गर्दैछौँ, यो केवल निर्माणको अभियान होइन, कपुरकोटमा श्रम गर्ने संस्कृतिलाई पुनर्जीवित गर्ने ऐतिहासिक कदम हो’ उहाँले थप्नुभयो । पहिलो दिनको सहभागिताले गाउँपालिकालाई आगामी कामप्रति अझै आत्मविश्वास दिलाएको अध्यक्ष पुनको भनाइ छ ।

श्रमदान अभियानमा गाउँपालिका उपाध्यक्ष तथा श्रमदान अभियानका संयोजक प्रकाश भण्डारी, प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल, जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो । साँघुरो र कच्ची सडकका कारण स्वास्थ्य इकाइ सम्म पुग्ने विरामी र एम्बुलेन्स सञ्चालनमा समस्या भएपछि सहजताको लागि सल्याव राखिएको गाउँपालिकाले जनाएको छ । अभियानअन्तर्गत वडा नम्बर १ मा दहबन बजार सडकको सल्याब निर्माण अगाडि बढाइने छ ।
त्यस्तै, वडा नम्बर २ मा वडा कार्यालय तथा गर्पा स्वास्थ्य चौकी जाने सडक निर्माणसँगै खहरे सडक र धनथाना सडकको सल्याब निर्माण गरिनेछ । वडा नम्बर ३ मा मूलपानी तरकारी संकलन केन्द्रका लागि टहरो तथा कालिका मन्दिरमा भक्तजन प्रतिक्षालय निर्माणको तयारी भइरहेको छ । वडा नम्बर ४ मा घंगारीचौरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सिँढी निर्माण गरिनेछ भने वडा नम्बर ५ मा लेख सल्लाम पैयाडाँडादेखि बगालेसम्म जोड्ने मोटरबाटो निर्माण, ओखरपाटा सडक सल्याब तथा जामुने तरकारी संकलन केन्द्र भवन निर्माण गरिनेछ ।
यस्तै, वडा नम्बर ६ मा सातामुल बराह क्षेत्रलाई आकर्षक धार्मिक तथा पर्यटकीय स्थलका रूपमा वृद्धि गर्न चमेना गृह, स्टोर र ग्याबियन जाली निर्माण गरिने कार्यक्रम रहेको छ । कपुरकोट गाउँपालिकामा सुरु गरिएको यो श्रमदान अभियानले विकासका लागि चाहिने संरचना मात्र खडा गर्ने होइन, स्थानीयस्तरमा सहयोग, सहकार्य र सामूहिक भावना मजबुत बनाउन महत्वपूर्ण योगदान पु¥याउने गाउँपालिकाले जनाएको छ ।