
सल्यान, १ पुस ।
कृषि क्षेत्रको उत्पादन बढाउन सल्यानमा माटो परिक्षण गरिएको छ । किसानको सहजताको लागि एकीकृत कृषि प्रयोगशाखा सुर्खेतको टोली जिल्लाको बागचौर नगरपालिका ७ कोटबारामा पुगेर किसानका खेतबारीको माटो परिक्षण गरेको हो । गुणस्तरीय माटो कृषि विकासको आधार भन्ने आदर्श वाक्यका साथ गाउँमै माटो परिक्षण गरिदा किसान खुसी भएका छन् ।
वडा कार्यालयको सहजीकरणमा सम्पन्न भएको शिविरमा ८३ जना किसानको माटो परिक्षण भएको छ । जसमा ६३ किसानको माटोमा अम्लिय र २० किसानको माटो टतस्थ रहेको पाइएको छ । यस्तै माटोमा नाइट्रोजन ३ वटामा कम, ७७ वटामा मध्यम र ३ वटामा अधिक पाइएको छ । माटो परिक्षणका क्रममा ८२ वटामा फस्फोरस अधिक र १ वटामा मध्यम रहेको छ भने पोटास २३ वटामा कम, ४४ वटामा मध्यम र १६ वटामा अधिक पाइएको छ ।
वडाबासीको जीविकोपार्जनको स्रोत कृषि भएपनि पछिल्लो समय उत्पादनमा ह्रास आउन थालेपछि माटोको अवस्था पत्ता लगाउन र के कस्तो खेती गर्न उपयुक्त हुन्छ भन्ने पत्ता लगाउन माटो परीक्षण गरिएका वडाध्यक्ष प्रेम बहादुर डाँगीले जानकारी दिनुभयो । माटो परिक्षण पश्चात सुन्तला, कागती, अदुवा, बेसार, मौसमी तथा बेमौसमी खेती, उन्नत बीउको प्रयोग गरी मकै, धानलगायत खेती गर्न सिफारिस गरिएको छ । आफ्नै घरको आँगनबाट आफ्नो खेतबारीको माटो जाँच गर्न पाइएको र आगामी दिनमा माटो सुहाँउदो खेतीपाती गर्न सजिलो भएको भन्दै किसान खुसी भएका छन् ।
प्रयोगशालामा गएर आँफैले माटो परीक्षण गराउन खर्चिलो र झण्झटिलो हुने भएका कारण गाउँमै सेवा दिनको लागि माटो परीक्षण शिविर आयोजना गरिएको वडाअध्यक्ष डाँगीले जानकारी दिनुभयो । ‘माटोमा अम्लियपना बढी, उत्पादकत्व घटेको अवस्थालाइ मध्यनजर गर्दै माटोको अवस्थामा सुधार ल्याउन शिविरको आयोजना गरिएको हो’ उहाँले भन्नुभयो ‘यसले किसानलाई माटो सुहाउँदो ब्यवसायिक खेतीतर्फ आकर्षित गराउनको लागि मद्धत गर्नेछ ।’
माटो परीक्षणमा संलग्न कृषि अधिकृत प्रयोग बहादुर शाहीका अनुसार किसानले क्रमश गाईबस्तु पाल्न छाडेको, कम्पोष्ट मल पनि नवनाउने भएकाले माटोमा प्राङगारिक पदार्थ घट्दै गएको हो । त्यस्तै बढ्दै गएको रासायनिक मलको प्रयोगले पनि माटोमा अम्लियपना बढेको उहाँको भनाइ छ । खेतवारीमा कृषि चुनको प्रयोग गर्न सुझाव दिइएको छ ।