
सल्यान, ११ माघ ।
सल्यानको छत्रेश्वरी गाउँपालिकाको भोटेचौरमा नेपाली कम्युनिष्ट पार्टीको गाउँपालिका स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका केन्द्रिय सदस्य प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी केन्द्रिय सदस्य टेक बहादुर बस्नेत, प्रतिनिधि सभा सदस्य पदका प्रत्यक्षतर्फका उम्मेदवार रमेश कुमार मल्ल तथा समानुपातिक उम्मेदवार शारदा परियारको सहभागिता रहेको थियो ।
यस्तै पार्टीका केन्द्रीय समिति सदस्यहरू कृतिबहादुर पुन, हरी केसी, चित्रबहादुर केसी, रमेश कुमार गौतम, राम खड्गी, भीमप्रकाश शर्मा, नेवबहादुर कुवरलगायतको उपस्थिति रहेको थियो । हिमाल यात्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रेम पहाडीले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै ज्वालाले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्लको जीत सुनिश्चित रहेको बताउनुभएको छ । उहाँले पार्टी प्रतिको जनलहर, विगतको मत सर्वेक्षण, बढ्दै गएको मतदाताको उत्साहले जीत सुनिश्चित भैसकेकाले ढुक्क भएर निर्वाचनमा होमिन पार्टी पंक्तिका सबै कार्यकर्तामा अनुरोध गर्नुभयो ।
बैठकले छत्रेश्वरी गाउँपालिका निर्वाचन परिचालन समिति गठन गरेको छ । गठित समितिको संयोजकमा नेवबहादुर कुवर (विवेक), सह–संयोजकमा हरी केसी र कार्यालय सचिवमा प्रेम खड्का (प्रभात) चयन हुनुभएको छ । त्यसैगरी बैठकले छत्रेश्वरी गाउँपालिकाका विभिन्न स्थानमा कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय पनि गरेको छ । जसमा माघ १३ गते दमाचौर, माघ १४ गते शुसिलडाँडा, माघ १५ गते गरिपारे, माघ १६ गते लान्ती, माघ १७ गते राङ्सीमा कार्यक्रम आयोजना गरिनेछ ।

यस्तै माघ १८ गते सिङ्गारीकोट र माघ १९ गते जयचौरमा पनि कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको छ ।
कार्यक्रमले आगामी दिनमा संगठन सुदृढीकरण तथा निर्वाचन तयारीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।