
सल्यानमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार रमेश कुमार मल्लले मतदातासँग प्रत्यक्ष रूपमा सुझाव संकलन गर्ने उद्देश्यले ‘तपाईंको सुझाव, हाम्रो कार्ययोजना’ अभियान शुरू गरेका छन ।
उक्त अभियान अन्तर्गत उम्मेदवार मल्लले गुगल फारामको माध्यमबाट सल्यानका मतदाताबाट अनलाइनमार्फत सुझाव, अपेक्षा र स्थानीय समस्याहरू संकलन गरिरहेका हुन। फाराममार्फत गाउँ–ठाउँमा रहेका मुख्य समस्या, त्यसको समाधान, विकासका प्राथमिकता तथा नीतिगत सुधारका विषयमा मतदाताको धारणा संकलन गरिने जनाइएको छ।
संकलित सुझावहरूलाई आगामी दिनमा नीति निर्माण तथा स्थानीय विकास योजनामा समावेश गरिने उद्देश्यका साथ फाराम तयार गरिएको उम्मेदवार मल्लको भनाइ छ। फाराम भर्ने मतदाताको व्यक्तिगत विवरण तथा सुझावहरू पूर्ण रूपमा गोप्य राखिने पनि जनाइएको छ।
फाराममा सोधिएका मुख्य प्रश्नहरू
गुगल फाराममा मतदाताको नाम, ठेगाना र फोन नम्बरसहित विभिन्न प्रश्नहरू समावेश गरिएका छन्। जसअन्तर्गत:
तपाईंको क्षेत्रमा मुख्य समस्या के छ?
समस्याको समाधानका लागि के गर्न सकिन्छ?
सल्यानको विकासका लागि कुन क्षेत्रमा प्राथमिकता दिनुपर्ला?
नीतिगत सुधारका लागि तपाईंका सुझाव के छन्?
युवा लक्षित कस्ता कार्यक्रम ल्याउनुपर्ला?
प्रतिनिधि सभा सदस्यबाट तपाईंका अपेक्षा के छन्?
आगामी पाँच वर्षभित्र सल्यानमा गर्नै पर्ने मुख्य कामहरू के के हुन्?
थप सुझाव भए उल्लेख गर्ने व्यवस्था गरिएको छ।
उम्मेदवार मल्लले मतदाताको प्रत्यक्ष सुझावकै आधारमा कार्ययोजना तयार गरी जनमुखी विकास र उत्तरदायी प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।