
सल्यान, १५ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता उमेश रानाले पार्टी परित्याग गर्नुभएको छ । काठमाण्डौँमा आज आयोजित एक कार्यक्रममा उहाँले रास्वपा पार्टी परित्याग गर्दै नेपाली कम्युनिष्ट पार्टीका तारा चुनाव चिन्ह वाहक उम्मेदवार रमेश मल्ललाई मतदान गर्न अपिल गर्नुभएको छ । सल्यानको कुमाख गाउँपालिकामा घर भएका राना २०७९ साल देखी रास्वपाको सदस्यता लिएर पार्टीमा आवद्ध हुनुभएको थियो ।
रास्वपाले आसालाग्दो काम केही गर्न नसकेपछि आफुले पार्टी छोडेको उहाँको भनाइ छ । ‘मैले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सपोर्ट गर्दै आएको थिए, केही आसा थियो, समाजको लागि केही गर्छन् कि भन्ने आस थियो, २०७९ साल देखी रास्वपाको लक्ष्यलाई मन पराएर पार्टीको साधारण सदस्यता लिएर अघि बढेको हुँ तर सोचेअनुसारको केही काम गर्न सकेन्’ उहाँले भन्नुभयो ‘मैले रास्वपा छोडे, यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा सल्यानलाई बुझेको, माथिल्लो तहसम्म पहुँचस्थापित भएको नेता रमेश मल्ल नै भएकाले मत दिएर निर्वाचित गराउन अपिल गर्दछु ।’
जिल्लाको लागि एक होनहार युवा भएकाले सल्यानीले यस पटक तारा चिन्हमा मत दिई रमेश मल्ललाई नै जिताउनुपर्ने उहाँको भनाइ छ । ‘विगतमा उहाँले माथिल्लो तहसम्म पहुँच स्थापित गर्न सक्नुभयो, तर जिल्लाको लागि काम गर्ने अवस्था भएन्, त्यो वातारण मिलेन्, त्यही भएर यो पटक सल्यानबाट रमेश मल्ललाई जिताउँ, यो पटक हामीले मौका दिनुपर्छ’ उहाँले भन्नुभयो ‘सही प्रतिनिधि छान्ने बेला भएको छ, हामी सबै यो पटक लाग्नै पर्ने छ ।’
उहाँले जिल्लामा अझै विजुली नपुगेको, सडक भरपर्दो नभएको, स्वास्थ्यको पहुँच सबैमा स्थापित हुन समस्या भएको अवस्थामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मल्लले नै जिल्लाको भबिष्यको रेखा कोर्ने बताउनुभयो । उहाँ सल्यानको पहिचान स्थापित गर्ने र जिल्लामा विकास, समृद्धि र सुशासन कायम गर्न लाग्नुपर्ने बताउनुभएको छ । यस पटकको चुनावमा राम्रो उम्मेदवार मल्ल नै भएकाले उहाँलाई मत दिनुपर्ने उहाँको भनाइ छ ।