
सल्यान, २६ माघ ।
नेपाली कम्युनिष्ट पार्टीले सल्यान जिल्लाको कपुरकोट गाउँपालिकामा घरदैलो अभियानलाई तीव्र बनाएको छ । पार्टीका प्रत्यक्षतर्फका उम्मेदवार रमेश कुमार मल्ल र समानुपातिकतर्फकी उम्मेदवार शारदा परियारले कपुरकोटका विभिन्न टोलबस्तीमा पुगेर मतदातासँग भेटघाट गर्दै मत माग्नुभएको हो ।
घरदैलो अभियान अन्तर्गत उम्मेदवारद्वय कपुरकोट–६ को रातामाटा, छायानाथ र जलवाङ, कपुरकोट–५ को शितल बजार, र्याले, दयाकोट र सलाम पैयाडाडा, कपुरकोट–१ को बगाले र दहवन तथा कपुरकोट–२ को धनठाना र दानवाङलगायतका विभिन्न बस्तीमा पुग्नुभएको थियो ।
भेटघाटका क्रममा उम्मेदवारहरूले देशको वर्तमान अवस्था परिवर्तन गर्न जनताको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै तारा चिन्हमा मत हाल्न आग्रह गर्नुभएको थियो । यस अवसरमा प्रत्यक्षतर्फका उम्मेदवार रमेश कुमार मल्लले जनताको अवस्था बदल्न आफू उम्मेदवार बनेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“देशको अवस्था बदल्न तपाईँहरूको योगदान महत्वपूर्ण छ । अब जनताको अवस्था बदल्नका लागि तारा चिन्हमा मत हालेर हामीलाई जिताउनुहोस् । अग्रजको त्याग, समयको माग र आवश्यकताका आधारमा युवा उम्मेदवारका रूपमा म आएको हुँ । जनताको अवस्था बदल्ने जिम्मेवारी लिएर उम्मेदवारी दिएको हुँ, मलाई मत दिनुहोस्, म त्यो काम पूरा गर्छु ।”
नेपाली कम्युनिष्ट पार्टीले आगामी निर्वाचनमा कपुरकोट क्षेत्रबाट राम्रो जनसमर्थन पाउने विश्वास लिएको छ । आज पनि कपुरकोट लगाएतका विभिन्न स्थानमा घरदैलो हुने जनाइएको छ ।
