तारा चिन्हमा मतदानको आह्वान गर्दै रमेश मल्ल गाउँगाउँमा

सल्यान, २९ माघ ।

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टीले सल्यानको बागचौर नगरपालिकाका विभिन्न टोलबस्तीमा सञ्चालन गरिएको मतदाता भेटघाट तथा चुनावी अभियान उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । पिपलनेटा, कालाखेत, कोटवेत, ठिनबाङ, टाट्के, खारा लगायतका गाउँबस्तीमा आज आयोजित कार्यक्रमहरूमा स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिएको छ ।

गाउँगाउँमा आयोजित भेटघाट कार्यक्रमहरूमा मतदाताको उत्साह, जिज्ञासा र सक्रिय सहभागिताले चुनावी माहोललाई थप तातेको देखिन्छ । स्थानीय बासिन्दाहरूले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणजस्ता विषयमा आफ्ना अपेक्षा र सुझाव खुलस्त रूपमा राखेका छन् । कार्यक्रममा सहभागी मतदाताहरूले देशको स्थायित्व, समृद्धि र जनमुखी नीतिका लागि नेपाली कम्युनिष्ट पार्टीको भूमिका अपरिहार्य रहेको धारणा व्यक्त गर्दै यस पटकको निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्न मतदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीका प्रत्यक्षतर्फका उम्मेदवार रमेश कुमार मल्लले मतदातासँग संवाद गर्दै समृद्ध सल्यान निर्माण आफ्नो प्रमुख लक्ष्य रहेको बताउनुभयो । उहाँले विगतमा भएका विकासका कामहरूलाई निरन्तरता दिँदै अधुरा योजनाहरू सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘जनताको भरोसा र साथ नै मेरो सबैभन्दा ठूलो शक्ति हो’ उम्मेदवार मल्लले भन्नुभयो ‘बागचौरसहित समग्र सल्यानको सडक सञ्जाल विस्तार, कृषिमा आधुनिकीकरण, युवालाई स्वरोजगारका अवसर सिर्जना, गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न म प्रतिबद्ध छु ।’

उहाँले स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवद्र्धन र पूर्वाधार विकासमार्फत आर्थिक समृद्धि हासिल गर्ने योजनासमेत प्रस्तुत गर्नुभयो । साथै, जनताको सुझाव र सहकार्यका आधारमा पारदर्शी र उत्तरदायी नेतृत्व दिने प्रतिबद्धता दोहो¥याउँदै उहाँले सबैलाई फागुन २१ गते तारा चुनाव चिन्हमा मतदानमार्फत परिवर्तनको अभियानमा सहभागी हुन आह्वान गर्नुभयो ।

कार्यक्रमहरूमा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक तथा पार्टी केन्द्रिय सदस्य प्रकाश ज्वाला, नेता भिम प्रकाश शर्मा सहित पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । गाउँबस्तीमा देखिएको जनलहर र समर्थनले निर्वाचन परिणाम आफ्नो पक्षमा आउनेमा पार्टी पंक्ति आशावादी देखिएको छ । यसैबीच, भोलि कोटवारा लगायतका विभिन्न क्षेत्रमा पनि मतदाता भेटघाट कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित