नेपाली कम्युनिष्ट पार्टीद्धारा सल्यानका वडा–वडामा निर्वाचन परिचालन कार्यालय स्थापना, ‘तारा’ चिन्हमा मतदान गर्न अपिल

सल्यान, ४ फागुन ।

आगामी फागुन २१ को निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली कम्युनिष्ट पार्टीले सल्यानमा आफ्नो चुनावी अभियानलाई तीव्र र व्यवस्थित बनाएको छ । जिल्लाभरका बस्ती, टोल तथा वडा–वडामा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीले आक्रामक रूपमा प्रचारप्रसार अभियान अघि बढाएको हो । पार्टीका तर्फबाट सल्यानबाट प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार रमेश कुमार मल्ल र समानुपातिक उम्मेदवार शारदा परियारलाई विजयी गराउने लक्ष्यसहित विशेष रणनीति तय गरिएको प्रचारप्रसार समितिले जनाएको छ ।

सोहीअनुसार जिल्लाका सबै वडाहरूमा निर्वाचन परिचालन कार्यालय स्थापना गरिएका छन् । ती कार्यालयमार्फत घरदैलो अभियान, कोणसभा, अन्तरक्रिया कार्यक्रम तथा मतदाता भेटघाटलाई व्यवस्थित बनाइएको छ । निर्वाचन प्रचारप्रसार समितिका संयोजक रमेश कुमार गौतमका अनुसार “तारा” चुनाव चिह्नमा मतदान गर्न अपिल गर्दै मतदातालाई उत्साह र प्रेरणा दिने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।

उहाँले जिल्लाका सबै वडामा स्थापना गरिएका परिचालन कार्यालयहरूले चुनावी गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । “हामी जनतासँग नजिकिँदै छौँ, विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका मुद्दालाई लिएर घर–घरमा पुगेका छौँ,” गौतमले भन्नुभयो । पार्टीले विशेषगरी युवावर्ग, महिला, किसान तथा श्रमिक समुदायलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको जनाएको छ ।

उम्मेदवार मल्लले समृद्ध सल्यान निर्माणका लागि पूर्वाधार विकास, कृषि आधुनिकीकरण र पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभएको छ । यस्तै, समानुपातिक उम्मेदवार परियारले समावेशी प्रतिनिधित्व र सामाजिक समानताका मुद्दालाई सशक्त रूपमा अघि बढाउने बताउनुभएको छ ।

जिल्लाभर सञ्चालनमा रहेका निर्वाचन परिचालन कार्यालयहरूले स्वयंसेवक परिचालन, मतदाता शिक्षा तथा मतदान प्रक्रियाबारे जानकारी प्रवाह गरिरहेका छन् । यसले मतदातामा जागरूकता बढाउनुका साथै पार्टीका उम्मेदवारहरूलाई विजयी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

निर्वाचनको दिन नजिकिँदै जाँदा सल्यानमा राजनीतिक गतिविधि झन् चहलपहलपूर्ण बनेको छ । विभिन्न दलहरूबीच प्रतिस्पर्धा चर्किँदै गएको अवस्थामा नेपाली कम्युनिष्ट पार्टीले आफ्नो संगठनात्मक सुदृढीकरण र मतदाता केन्द्रित अभियानमार्फत बलियो उपस्थिति देखाउन खोजेको स्पष्ट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस