सल्यानमा मल्लको घरदैलो अभियान तीव्र, विकासलाई पहिलो प्राथमिकता

सल्यान, ५ फागुन ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट सल्यानबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेशकुमार मल्लले आफ्नो चुनावी अभियानलाई तीव्रता दिनुभएको छ । चुनाव नजिकिँदै जाँदा उहाँको घरदैलो कार्यक्रम, जनभेटघाट तथा मतदाता संवाद उल्लेखनीय रूपमा बढ्दै गएको छ । यतिबेला उम्मेदवार मल्ल बनगाड क्षेत्रमा केन्द्रित भई मतदातासँग प्रत्यक्ष संवादमा जुट्नुभएको छ । आज उहाँले बनगाड कुपिण्डे नगरपालिकाको बामे, औलबेशी लगाएतका क्षेत्रमा पुगेर स्थानीय मतदातासँग आत्मीय भेटघाट गर्नुभयो ।

घरआँगनमै पुगेर नागरिकका समस्या सुन्ने र समाधानका स्पष्ट योजना प्रस्तुत गर्ने शैलीका कारण उहाँको अभियानले स्थानीयस्तरमा उत्साह थपेको छ । जनभेटघाट कार्यक्रममा बोल्दै मल्लले आफूलाई मत दिएर विजयी गराउन आग्रह गर्नुभयो । “निर्वाचनमा जितेपछि यस क्षेत्रका नागरिकका आधारभूत आवश्यकताहरूलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछु,” उहाँले भन्नुभयो । उहाँले विद्युत विस्तार, स्वच्छ खानेपानीको सहज पहुँच, सडक स्तरोन्नति, कृषि तथा पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै समग्र विकासको खाका प्रस्तुत गर्नुभयो ।

स्थानीयवासीले पनि सडकको स्तरोन्नति, रोजगारीका अवसर सिर्जना, युवा पलायन रोकथाम तथा शिक्षा–स्वास्थ्य सेवाको पहुँच विस्तार जस्ता विषय उठाएका थिए । उम्मेदवार मल्लले ती सबै मुद्दालाई गम्भीरतापूर्वक लिँदै व्यवहारिक र दिगो समाधानका लागि प्रतिबद्ध रहने आश्वासन दिनुभयो । चुनावी अभियान कार्यक्रममा पार्टीका केन्द्र, प्रदेश, जिल्ला तथा नगरस्तरका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा उत्साहजनक उपस्थिति देखिनुका साथै कार्यकर्ताहरू घरदैलो अभियानमा सक्रिय रूपमा खटिएको देखिएको छ । सल्यानको समग्र विकास, सुशासन र समृद्धिको एजेन्डा अघि सार्दै उम्मेदवार मल्लले जनताको विश्वास जित्ने प्रयासलाई अझ सशक्त बनाइरहनुभएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा उहाँको अभियान झनै प्रभावकारी बन्दै गएको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस