निकुञ्जले ल्याएको सन्नाटा : मान्छे हराएको ‘आमबास’ !

‘मान्छे मार्ने बाघलाई जोगाउन राज्य सक्रिय हुन्छ, तर मान्छे बचाउन किन हुँदैन ?’ उहाँले प्रश्न गर्दै भन्नुभयो । राज्यको ध्यान नपुगेका यस्ता गाउँहरू विस्तारै इतिहास बन्दै गइरहेका छन् । आमबास अहिले एउटा उदाहरण बनेको छ, जहाँ विकासका नाराभन्दा मानव र वन्यजन्तुबीचको द्वन्द्व धेरै ठूलो समस्या बनेको छ । स्थानीयले सुरक्षित बसोबासको व्यवस्था वा वन्यजन्तुको आतंक नियन्त्रण गर्न माग गरेका छन् ।


सल्यान, १५ वैशाख ।
सल्यानको कालिमाटी गाउँपालिका–७ मा पर्ने आमबास गाउँ अहिले नाम मात्रैको गाउँ बनेको छ । विगतमा सधैँ जीवन्त, हरियाली र आत्मनिर्भर देखिने यो गाउँ आज वन्यजन्तुको आतंकका कारण उजाडिँदै गएको हो । करिब एक दशकअघिसम्म गहुँ, मकै, धान लगाएतका बालीनालीले लहलहाउने यो ठाउँमा अहिले सन्नाटा छाएको छ, र त्यो सन्नाटाभित्र लुकेको छ, स्थानीयको पीडा, त्रास र निराशाको कथा ।

एक समय थियो । आमबासका ३३ घरधुरी कृषिमा आत्मनिर्भर थिए । गाई, भैँसी, बाख्रा, कुखुरा पालेर, खेतबारीमा पसिना बगाएर यहाँका बासिन्दा सहज जीवनयापन गर्थे । गाउँमै विद्यालय थियो, बालबालिका त्यहीँ पढ्थे । केही युवा मात्रै सिजनल रोजगारीका लागि भारत (मुग्लान) जान्थे, तर गाउँको जीवन चलायमान थियो ।

तर, २०६७ सालमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएसँगै आमबासको भाग्यरेखा बदलिन थाल्यो । निकुञ्जमा वन्यजन्तुको संख्या बढेसँगै बस्तीमा उनीहरूको प्रवेश पनि बढ्दै गयो । बाघ, भालु, बदेल, हात्ती जस्ता वन्यजन्तुले बस्तीमा आतंक मच्चाउन थाले । पहिले मानिस देख्दा भाग्ने जनावरहरू अब मानिसमाथि नै आक्रमण गर्न थालेपछि गाउँलेहरू आफ्नै घरआँगनमा असुरक्षित बन्न पुगे ।

स्थानीयका अनुसार रोपेको बालीनाली रातारात सखाप हुन्छ, खोरमा बाँधिएका खसीबाख्रा बाघले तानेर लैजान्छ । पशु चौपायाको क्षति मात्रै होइन, ज्यानकै जोखिम बढेपछि गाउँलेहरू विस्थापित हुन बाध्य भएका छन् । ‘हामीले पसिना बगाएर रोपेको बाली एकै रातमा जनावरले सखाप पार्छन्’ स्थानीय ददिराम राणाले गहभरी आँसु पार्दै भन्नुभयो ‘अब न खेती हुन्छ, न पशुपालन गर्न सकिन्छ, हामी के खाएर बाँच्ने ?’

वन्यजन्तुको निरन्तरको आतंक र राज्यको प्रभावकारी पहल अभावका कारण अहिले ३३ घरधुरी रहेको बस्तीमा जम्मा ६ घर मात्रै बाँकी छन् । तीमध्ये पनि केही परिवार गाउँ छोड्ने तयारीमा छन् । कोही परिवारसहित भारतको सिम्ला, मुम्बईतिर पुगेका छन् भने कोही बाँके र बर्दियातिर मजदुरी गरेर जीवन धानिरहेका छन् ।

गाउँमा बाँकी रहेका ददिराम राणा, नदे राणा, दलजित खत्री, पुने राणा, चुरे राणा र डण्डे बुढाको परिवार अहिले कष्टकर जीवन बिताइरहेका छन् । ‘हाम्रो जाने ठाउँ छैन, बस्ने ठाउँ पनि अब सुरक्षित छैन’ ददिराम भन्नुहुन्छ ‘बस्ती मासिँदै गयो, जंगल बढ्दै गयो, जनावर घरमै आउन थाले, न घेरबार छ, न सुरक्षा, न कुनै सहयोग ।’

गाउँको अवस्था झन् दयनीय बन्दै गएको छ । जनसंख्या घटेसँगै विद्यालय बन्द भएको छ । आधारभूत पूर्वाधारहरू जस्तै सडक, विद्युत्, खानेपानी, सञ्चार यी सबैको अभाव छ । मोबाइल फोनले राम्रोसँग काम गर्दैन । स्वास्थ्य सेवा टाढा छ । बालबालिकाले पढ्नका लागि करिब एक घण्टा हिँडेर घुइयाबारी पुग्नुपर्छ ।

स्थानीय दलजित खत्रीको पीडा पनि उस्तै छ । ‘हामीसँग लालपुर्जा छ, तर त्यसले पेट भरिँदैन’ उहाँ भन्नुहुन्छ ‘जग्गा छ, तर खेती गर्न सकिँदैन, उत्पादन छैन, हामी त नाम मात्रैका घरधनी भएका छौँ ।’ वन्यजन्तु संरक्षण र मानव जीवनबीचको सन्तुलन मिलाउन नसक्दा आमबास सहित यहाँको हाउखोला, माथिल्लो घुइयाबारी लगाएत गाउँहरू संकटमा परेका छन् ।

‘मान्छे मार्ने बाघलाई जोगाउन राज्य सक्रिय हुन्छ, तर मान्छे बचाउन किन हुँदैन ?’ उहाँले प्रश्न गर्दै भन्नुभयो । राज्यको ध्यान नपुगेका यस्ता गाउँहरू विस्तारै इतिहास बन्दै गइरहेका छन् । आमबास अहिले एउटा उदाहरण बनेको छ, जहाँ विकासका नाराभन्दा मानव र वन्यजन्तुबीचको द्वन्द्व धेरै ठूलो समस्या बनेको छ । स्थानीयले सुरक्षित बसोबासको व्यवस्था वा वन्यजन्तुको आतंक नियन्त्रण गर्न माग गरेका छन् ।

यदि सरकारले समयमै समाधान खाजेन भने, आमबास केवल नक्सामा नाम मात्रै रहनेछ । त्यहाँका घरहरू भग्नावशेष बन्नेछन्, खेतहरू जंगलमा परिणत हुनेछन्, र मानिसहरूको कथा केवल सम्झनामा सीमित हुनेछ । आमबासमा रहेका बासिन्दाले कुनै दिन राज्यले आफ्नो आवाज सुन्ने र डरबिना आफ्नै घरमा सास फेर्न पाउने अपेक्षा गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस