शारदा नगरपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु


सल्यान, १६ वैशाख ।
सल्यानको शारदा नगरपालिकामा आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । उत्साह, उमंग र प्रतिस्पर्धात्मक वातावरणबीच नगरभित्रका विद्यार्थीहरूमा लुकेको खेल प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता बुधबारदेखि त्रिभुवन जन माध्यमिक विद्यालय, लुहापिङमा प्रारम्भ भएको हो । प्रतियोगिता विहीबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै शारदा नगरपालिका नगरप्रमुख प्रकाश भण्डारीले खेलकुदले बिद्यार्थीमा अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्ने बताउनुभयो । यस प्रतियोगिताले विद्यालय तहबाटै सक्षम खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । उहाँले खेल क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राख्दै आवश्यक सहयोग र पूर्वाधार विकासमा निरन्तर लगानी गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा शारदा नगरपालिका १३ का वडाअध्यक्ष जंग बहादुर बुढा, त्रिभुवन जन माध्यमिक विद्यालय लुहापिङका प्रधानाध्यापक माधवविक्रम जिसीलगायत वक्ताहरूले खेलकुदको महत्व र यसको सामाजिक प्रभावबारे आफ्ना धारणा राख्नुभएको थियो । नगर उपप्रमुख सुस्मिता सापकोटा सुनारको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रम शारदा नगरपालिका २ का वडाअध्यक्ष सबिन हमालको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख लिलाधर बबालले गर्नुभएको थियो ।

यस वर्षको प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी नगरभित्रका १२ विद्यालयको सहभागिता रहेको छ । एथलेटिक्स, भलिबल, कबड्डी, मार्सल आर्टलगायत विविध खेल विधामा विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नेछन् । खेलमैदानमा देखिएको जोश, उत्साह र खेल भावना आफैंमा प्रेरणादायी देखिएको छ । नगरस्तरमा सञ्चालन भइरहेको यो प्रतियोगिता आगामी वैशाख २५ गतेदेखि सुरु हुने जिल्लास्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि खेलाडी छनोटको आधार पनि बनेको छ ।

जिल्लास्तरीय प्रतियोगिता बनगाड कुपिण्डे नगरपालिका–१ देवस्थलस्थित प्रभाकर माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने तय भएको छ । विद्यालयस्तरबाटै खेलकुद संस्कृतिको विकास गर्दै प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आयोजना गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले खेलकुदप्रतिको आकर्षण अझै बढाएको छ ।

प्रतिक्रिया दिनुहोस