विद्यालयका जीर्ण संरचनाले बिद्यार्थीलाई जोखिम : छाना उड्दा चौरमा कक्षा !

विद्यालय भवन केवल माटो, ढुंगा र जस्तापाताले बनेको संरचना मात्र होइन, हजारौं बालबालिकाको भविष्य निर्माण हुने आधार पनि हो । तर सल्यानका धेरै विद्यालयमा अहिले पनि पुराना र जीर्ण भवनमै पठनपाठन सञ्चालन भइरहेको छ । हावाहुरीले छाना उडाउनु केवल भौतिक क्षति होइन, यसले विद्यार्थीको सिकाइ, मनोबल र सुरक्षामाथि पनि प्रश्न उठाएको छ । हावाहुरीले उडाएका छाना पुनः जोड्न सकिएला, तर समयमै मर्मत नहुँदा कमजोर बन्दै गएका विद्यालय संरचनाले कुनै दिन ठूलो दुर्घटना निम्त्याउने जोखिम भने अझै हटेको छैन । अहिलेको आवश्यकता क्षतिको तथ्यांक संकलन मात्र होइन, विद्यार्थीको सुरक्षालाई केन्द्रमा राखेर विद्यालय पूर्वाधारको दिगो व्यवस्थापन गर्नु भएको सरोकारवाला बताउँछन् ।

सल्यान, २६ जेठ ।

सल्यानको कपुरकोट गाउँपालिका–४ गाडापानीमा रहेको गायत्री आधारभूत विद्यालयको छाना हावाहुरीले उडायो । शनिवार दिउँसो एक्कासी आएको बर्षासहितको हावाहुरीले केही क्षणमै दुई कोठे भवनको जस्तापाताको छाना उचालेर करिब ८० मिटर पर पु¥यायो । विद्यालयको एउटा कोठामा कक्षा ८ का विद्यार्थी अध्ययनरत थिए भने अर्को कोठा पुस्तकालयका रूपमा प्रयोग हुँदै आएको थियो । हावाहुरीले छाना मात्रै उडाएन, विद्यालयको नियमित शैक्षिक गतिविधिलाई पनि अस्तव्यस्त बनाएको छ ।

अहिले ती विद्यार्थीहरू खुला चौरमा बसेर पढ्न बाध्य छन् । चर्को घाम होस् वा पानी पर्ने त्रास, उनीहरूका लागि कक्षाकोठा भन्दा आकाश नै छानो बनेको छ । विद्यालयमा कक्षाकोठाको अभाव भएपछि कक्षा ८ का ९ जना र कक्षा २ का १२ जना विद्यार्थीलाई चौरमा राखेर पढाउन थालिएको छ । विद्यालयका प्रधानाध्यापक हस्तबहादुर बुढाका अनुसार भवनको क्षतिले पठनपाठनमा प्रत्यक्ष असर परेको छ ।

‘कक्षा ८ का विद्यार्थीलाई राख्ने कोठा नै छैन, पुस्तकालयका पुस्तकहरू सुरक्षित राख्नुपर्ने भएकाले अर्को कोठा पनि प्रयोग गर्न सकिएको छैन’ उहाँले भन्नुभयो ‘विद्यार्थीलाई चौरमै राखेर पढाइरहेका छौं, भवन मर्मतका लागि गाउँपालिकामा निवेदन दिएका छौं, तत्काल सहयोग हुने अपेक्षा गरेका छौँ ।’ कक्षा ८ सम्म सञ्चालित विद्यालयमा हाल १०८ जना विद्यार्थी अध्ययनरत छन् ।

गायत्री आधारभूत विद्यालयको पीडा एक्लो होइन । यसभन्दा एक महिनाअघि, गत वैशाख २० गते, शारदा नगरपालिका–१४ माल्नेटास्थित लक्ष्मी आधारभूत विद्यालय पनि यस्तै विपत्तिको मारमा परेको थियो । हावाहुरीले विद्यालयको चार कोठे भवनको छाना उडायो । तर एक महिना बितिसक्दा पनि भवन मर्मत हुन सकेको छैन । परिणामस्वरूप कक्षा १, २ र ३ का विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता सिर्जना भएको छ ।

एउटै कोठाभित्र फरक–फरक तहका विद्यार्थी, फरक पाठ्यपुस्तक र फरक सिकाइ प्रक्रियाले शिक्षकलाई व्यवस्थापन गर्न कठिन, विद्यार्थीलाई ध्यान केन्द्रित गर्न झनै चुनौती बनेको छ । विद्यालयका प्रधानाध्यापक रेशम गिरीका अनुसार ४२ जना विद्यार्थी अध्ययनरत विद्यालयमा अहिले शैक्षिक वातावरण नै प्रभावित भएको छ । ‘हुरीले छाना उडाएको भवनमा पहिले कक्षा ४, ५ र ६ सञ्चालन हुन्थ्यो’ उहाँले भन्नुभयो ‘ती विद्यार्थीलाई अन्य कोठामा सारिएको छ, कक्षा १, २ र ३ मा विद्यार्थी संख्या कम भएकाले एउटै कोठामा राखेर पढाइरहेका छौँ’ तर यसले शिक्षण सिकाइलाई निकै प्रभावित बनाएको छ ।’

नगरपालिकाको प्राविधिक टोलीले गरेको मूल्यांकनअनुसार विद्यालयमा तीन लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । तर विद्यालयसँग आफ्नै स्रोत नहुँदा छाना मर्मत गर्न सक्ने अवस्था छैन । २०४४ सालमा स्थापना भएको विद्यालयको भवन पुरानो भइसकेको छ । भवनमा प्रयोग भएका काठ कुहिन थालेका छन् । विद्यालय व्यवस्थापन पक्षका अनुसार यही कारणले सामान्य हावाहुरीमै छाना उड्ने अवस्था सिर्जना भएको हो । विद्यालयले नगरपालिका र सामाजिक विकास कार्यालयमा मर्मतका लागि निवेदन दिएको भए पनि हालसम्म कुनै सुनुवाइ नभएको गुनासो गरेको छ ।

सल्यानमा हरेक वर्ष हावाहुरी, असिना र वर्षाका घटनाले क्षति पु¥याउने गरेको छ । सरकारी भवन, निजी घर, गोठ तथा अन्य संरचनामा पनि क्षति पुग्छ । तर विद्यालयका भवन बारम्बार प्रभावित हुने गरेको तथ्यांक र घटनाले देखाउँछ । यसको प्रमुख कारण पुराना तथा जीर्ण संरचना भएको सरोकारवालाहरू बताउँछन् । ग्रामीण क्षेत्रमा रहेका अधिकांश विद्यालय भवन वर्षौंअघि निर्माण गरिएका हुन् । निर्माणपछि नियमित मर्मतसम्भार नहुँदा काठ कुहिने, जस्तापाता खिया लाग्ने र संरचनाको मजबुती कमजोर हुँदै जाने समस्या देखिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख शेरबहादुर रोकाका अनुसार विद्यालय भवनमा हावाहुरीको असर बढी देखिनुका पछाडि संरचनागत कारण मुख्य छन् । ‘विद्यालयका कोठा खुला र फराकिला हुन्छन्, हावा सिधै प्रवेश गर्ने भएकाले प्रभाव बढी देखिन्छ’ उहाँले भन्नुभयो ‘प्राकृतिक विपत्ति विद्यालयमा मात्रै केन्द्रित हुने होइन, नागरिकका घरमा पनि क्षति हुन्छ, तर धेरै विद्यालय भवन पुराना छन्, समयमै मर्मतसम्भार हुँदैन, काठ र जस्तापाता कमजोर भइसकेका हुन्छन्, त्यसैले हावाहुरीले बढी क्षति पु¥याउने गरेको देखिन्छ ।’

विद्यालय भवन केवल माटो, ढुंगा र जस्तापाताले बनेको संरचना मात्र होइन, हजारौं बालबालिकाको भविष्य निर्माण हुने आधार पनि हो । तर सल्यानका धेरै विद्यालयमा अहिले पनि पुराना र जीर्ण भवनमै पठनपाठन सञ्चालन भइरहेको छ । हावाहुरीले छाना उडाउनु केवल भौतिक क्षति होइन, यसले विद्यार्थीको सिकाइ, मनोबल र सुरक्षामाथि पनि प्रश्न उठाएको छ ।

हावाहुरीले उडाएका छाना पुनः जोड्न सकिएला, तर समयमै मर्मत नहुँदा कमजोर बन्दै गएका विद्यालय संरचनाले कुनै दिन ठूलो दुर्घटना निम्त्याउने जोखिम भने अझै हटेको छैन । अहिलेको आवश्यकता क्षतिको तथ्यांक संकलन मात्र होइन, विद्यार्थीको सुरक्षालाई केन्द्रमा राखेर विद्यालय पूर्वाधारको दिगो व्यवस्थापन गर्नु भएको सरोकारवाला बताउँछन् ।

प्रतिक्रिया दिनुहोस