स्थानीय विपद् व्यवस्थापन समितिलाई विपद् जोखिम व्यवस्थापनसम्बन्धी तालिम

 

सल्यान, १० मंसिर ।

पालिका स्तरीय स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सल्यानको त्रिवेणी गाउँपालिकामा विपद् जोखिम व्यवस्थापनसम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ। जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली-बर्ड) र रुकुमेली समाज विकास केन्द्र (RSDC) द्वारा फेल्म नेपालमार्फत फिनल्याण्ड सरकारको विदेश मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित “Building Resilient Communities for the Changing Climate (समुत्थान)” परियोजना अन्तर्गत मंसिर ९ र १० गते उक्त तालिम आयोजना गरिएको थियो। तालिमको उद्घाटन तथा अध्यक्षता त्रिवेणी गाउँपालिकाका अध्यक्ष एवम स्थानीय विपद व्यवस्थापन समितिका संयोजक खिमबहादुर रावतले गर्नुभएको थियो। कार्यक्रममा विपद् व्यवस्थापन विज्ञ लक्ष्मण निरौलाले सहजीकरण गर्नुभएको थियो। तालिममा त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न बिषयगत शाखाका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरू, गाउँ प्रहरी लगयात को सहभागिता रहेको थियो। दुई दिनसम्म सञ्चालन भएको तालिममा पहिलो दिन विपद् जोखिम व्यवस्थापनका आधारभूत अवधारणा, विपद्का प्रकार, जोखिम न्यूनीकरण, पूर्वतयारी तथा विपद् प्रतिकार्यसम्बन्धी सैद्धान्तिक विषयमा छलफल गरिएको थियो।

त्यसैगरी, दोस्रो दिन सहभागीहरूलाई आगलागीजन्य विपद्को समयमा अपनाउनुपर्ने सावधानी, तत्कालीन प्रतिकार्यका उपाय तथा सुरक्षित उद्धार प्रक्रियाबारे व्यावहारिक अभ्यास गराइएको थियो। विशेषगरी आगलागीको घटनामा कसरी सुरक्षित रूपमा प्रतिकार्य गर्ने भन्ने विषयलाई केन्द्रमा राख्दै आधारभूत नमुना अभ्यास (Simulation Exercise) सञ्चालन गरिएको थियो।सल्यान जिल्लाको त्रिवेणी र कालिमाटीमा संचालित परियोजनाले केहि समय अगाडी दुवै पालिकाका स्थानीय विपद व्यवस्थापन समितीलाई विपद व्यवस्थापनमा प्रयोग हुने स्ट्रेचर, अग्नि सामक यन्त्र, सुरक्षा हेल्मेट, फायर बल, सुरक्षा बूट, हेड लाइट, टर्च लाइट, मेगा फोन, गैंती, हँसिया, बन्चरो, थ्रो ब्याग, लाइफ ज्याकेट लगायतका २१ किसिमका खोज तथा उद्दार सामाग्री हस्तान्तरण गरेको थियो । तालिममा उक्त सामाग्रीहरुको प्रयोग विधीबारे पनि छलफल तथा अभ्यास गरिएको थियो ।

तालिमले स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरूलाई विपद्को समयमा आफ्नो भूमिका र जिम्मेवारी बुझ्न, सम्भावित जोखिमको पहिचान गर्न तथा विपद् पूर्वतयारी र प्रतिकार्यका लागि आवश्यक आधारभूत ज्ञान र सीप हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। जलवायु परिवर्तनका कारण बढ्दै गएका विपद्का जोखिमलाई न्यूनीकरण गर्दै स्थानीय समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालित समुत्थान परियोजनाले स्थानीय तह तथा समुदायको विपद् जोखिम व्यवस्थापन क्षमता सुदृढीकरणका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

तालिमको समापन सत्रमा पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगयात सहभागीहरुले तालिमले दक्ष जनशक्ति उत्पादनमा समेत सहयोग पुर्याएको र आफै संग भएका सामाग्रीहरुको प्रयोग बारेको अन्योलतालाई चिर्न सहयोग पुर्याएको बताउंदै आगामी दिनमा यस्ता, कार्यहरुमाH परियोजना र पालिकाको समन्वय निरन्तर रहने विश्वास ब्यक्त गर्नुभएको थियो । परियोजनाले कालिमाटी गाउँपालिकामा पनि यसै किसिमको तालिमको आयोजना गर्न लागेको परियोजनाका बरिस्ठ कृषि प्राविधिक लक्ष्मण दनुवारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित