बिद्यार्थीको नियमितताले प्रभावकारी पढाई

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम

School Nurse Clipart

सल्यान ६, भदौँ ।
सल्यानमा संघीय सरकारले महत्वका साथमा सुरुवात गरेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी बनेको छ । बिद्यालयमा पढाइ भइरहेकै बेलामा विद्यार्थीलाई स्वास्थ्य समस्या पर्दा विद्यालयमा नै उपचार हुने भएकाले यो कार्यक्रम निकै प्रभावकारी बनेको हो । विद्यालयमा प्रवद्र्धनात्मक, प्रतिकारात्मक र उपचारात्मक सेवा प्रदान गर्ने लगायतका उद्देश्यले सरकारले सुरु गरेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम जिल्लाको शारदा नगरपालिका भित्रका दश वटा माद्यामिक बिद्यालयमा सञ्चालन भैरहेको छ ।

सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम लागू भएपछि विद्यार्थीहरुमा देखिने विभिन्न स्वास्थ्य समस्याको समयमा नै उपचार भएको छ भने विद्यार्थीहरुले आफ्ना समस्या समेत प्रष्टसँग राख्न सक्ने भएका छन् । ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम लागू भएपछि महिनावारी हुँदा आफ्नो समस्या शिक्षकसँग राख्न नसक्ने छात्राहरु अहिले विद्यालयमा कार्यरत स्वास्थ्यकर्मी (नर्स) सँग निर्धक्क राख्ने गरेका छन् ।

उनीहरु महिनावारीका समयमा आवश्यक पर्ने सेनेटरी प्याड प्रयोगको बारेमा जानकार समेत भएका छन् भने आफूमा देखिएका समस्याहरु नर्ससमक्ष गएर पोख्न सक्ने भएका छन् । शारदा नगरपालिका–१२ मुलडाँडामा रहेको शिव माद्यामिक बिद्यालयमा कक्षा १० मा अध्ययनरत देविका भण्डारीले विद्यालय नर्स कार्यक्रम सञ्चालनपछि सहज रूपमा विद्यालयमै उपचार पाएको बताउनुभयो ।

‘पहिले महिनावारी हुँदा विद्यालयमा सेनेटरी प्याड नपाउँदा समस्या हुने गरेको थियो’, उहाँले भन्नुभयो ‘अहिले भने निःशुल्क सेनेटरी प्याड र प्राथमिक उपचार पाउँदा सहज भएको छ ।’ महिनावारी भएको बेला विगतमा स्वास्थ्य चौकी वा मेडिकलबाट सेनेटरी प्याड किन्न जाँदा समस्या हुनुका साथै अध्ययनमा समेत बाधा पुग्दै आएको र कतिपटक त बिद्यालयमा नै अनुपस्थिती हुने गरेको उहाँको भनाइ छ ।

महेन्द्र रत्न माद्यामिक बिद्यालय शारदा नगरपालिका–५ पिपलनेटामा कक्षा ८ मा अध्ययनरत मोनिका महर्जनले विद्यालय नर्स कार्यक्रम लागू भएपछि धेरै कुरामा सहज भएको बताउनुभयो । ‘अहिले विद्यालय नर्सले जस्तोसुकै समस्या आउँदा पनि औषधि उपचारका साथै सामग्री वितरण गर्ने भएपछि सजिलो भएको छ’ उहाँले भन्नुभयो ‘व्यक्तिगत सरसफाइ, पोषण, किशोरावस्थामा आउने परिवर्तन लगाएतका बिषयमा जानकारी प्राप्त गरेका छौँ ।’

शिव माद्यामिक बिद्यालयमा कार्यरत स्कुल नर्स प्रेरणा घर्तीले विगतमा महिनावारीकै कारण धेरै दिन पढाइ छुटाउनुपर्ने बाध्यता भएपनि अहिले विद्यालयमा अध्ययन गर्ने छात्रा नियमित आउने गरेको बताउनुभयो । विद्यालयम अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य सरसफाई, विभिन्न रोगहरुको बारेमा स्वास्थ्य शिक्षा प्रदान गर्नुको साथै उनीहरुमा देखिने विभिन्न रोगहरुको प्राथमिक उपचार गरिँदै आएको उहाँको भनाइ छ ।

उहाँले विद्यार्थीहरुलाई मनोपरामर्श समेत गरिने बताउनुभयो । उहाँले कार्यक्रम लागु भएपछि सेनेटरी प्याड प्रयोग गर्ने छात्राहरुको सङ्ख्या बढ्नुको साथै आफ्ना समस्या भन्न सक्ने भएको बताउनुभयो । विद्यार्थीको उपचारका लागि एउटा कोठाको व्यवस्था गरिएको बताउँदै ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम विद्यार्थीको समस्या राख्ने थलो समेत भएको उहाँको भनाइ छ ।

महेन्द्र रत्न माद्यामिक बिद्यालयमा कार्यरत स्कुल नर्स सम्झना सिंहले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जङ्क फुड (पत्रु खाना)को बेफाइदा, विभिन्न रोगहरुको बारेमा स्वास्थ्य शिक्षा दिने काम हुने गरेको बताउनुभयो । उहाँले फोहोर व्यवस्थापन, वातावरणीय सरसफाई, पोषण, व्यक्तिगत सरसफाईको बारेमा शिक्षा प्रदान गर्नुको साथै विद्यार्थीमा देखिने समस्याको प्राथमिक उपचार गरिँदै आएको बताउनुभयो ।

महेन्द्र रत्न माद्यामिक बिद्यालयका प्रधानाध्यापक प्रकाश हमालले स्कुल नर्स कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताउनुभयो । उहाँले कार्यक्रम लागू हुनुभन्दा अघि आफूमा आएको समस्या भन्न लजाउने विद्यार्थीहरु कार्यक्रम सुरु भएपछि निर्धक्क भन्न सक्ने भएको बताउनुभयो । ‘कार्यक्रम नहुँदा विद्यार्थीका समस्या हामीसम्म आइपुग्दैनथ्यो, विद्यालयमा नर्सको व्यवस्थापन भएपछि उनीहरुका सबै समस्या नर्समार्फत् समाधान हुने गरेका छन्’ उहाँले भन्नुभयो ।

उहाँले महिनावारी भएको समयमा विद्यालय नआउने छात्राको संख्या अत्यन्तै न्युन रहेको बताउनुभयो । विद्यालयमा रहने स्वास्थ्यकर्मी (नर्स) ले विद्यार्थीहरुमा आउने स्वास्थ्य समस्याको प्राथमिक उपचार तथा विभिन्न विषयमा स्वास्थ्य शिक्षा दिने गरेको उहाँको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस