
सल्यान, २२ पुस ।
कर्णाली प्रदेश सरकारका पुर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले केन्द्र सरकारमा शेरबहादुर देउवा प्रधानमन्त्री भएकै दिनमा कर्णालीमा पनि काँग्रेसकै मुख्यमन्त्री हुने बताउनुभएको छ । सोमबार सल्यानको खलंगामा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो भन्नुभएको हो । कर्णालीमा काँग्रेस–एमालेको गठबन्धनबाट एमालेका यमलाल कडेँल मुख्यमन्त्री भएको ६ महिना भएको छ, अव मुख्यमन्त्री हुन काँग्रेसको पालो कहिले आउँछ ? भन्ने पत्रकारको प्रश्नमा शाहीले भन्नुभयो ‘त्यो परिस्थिती अनुसार हुन्छ, नर्मली भयो भने माथि जुन दिन शेरबहादुर दाई प्रधानमन्त्री हुनुहुन्छ, त्यही दिन कर्णाली प्रदेशमा काँग्रेसको मुख्यमन्त्री हुन्छ ।’
केन्द्र सरकारले पुर्णअधिकार नदिदा प्रदेश सरकार सञ्चालनमा समस्या भैरहेको उहाँको भनाइ छ । संघीय सरकारले प्रदेश सरकारलाई पूर्ण अधिकार दिएको खण्डमा सरल एवम् सहज वातावरणमा काम गर्न सकिने उहाँको तर्क छ । सविधानले सुनिश्चित गरेका अधिकार मात्र संघले प्रदेशलाई प्रयोग तथा अभ्यास गर्न दिए संघीयता योजनाबद्ध तरिकाले अगाडि बढ्ने भन्दै उहाँले भन्नुभयो ‘केन्द्रकै कारण प्रदेश सरकार अस्थिर हुने भयो, वडाअध्यक्षले समेत पाँच बर्षसम्म जनताको सेवा गर्न पाउँछ, तर प्रदेशका मन्त्री तीन महिनामै फेरिने अवस्था आउँछ, जसले गर्दा नागरिकका सवाललाई उठान गर्न, संवोधन गर्न, समस्या व्यवस्थापन गर्न गाह्रो भएको छ ।’
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहनुभएका शाहीले अस्थिर सरकारकै कारण योजना निर्माण देखी बजेट कार्यान्वयनमा समेत समस्या हुने गरेको बताउनुभयो । काँग्रेसले जनजीविकाका सवालमा काम गर्दै आएको भन्दै उहाँले थप्नुभयो ‘हरेक बखत काँग्रेस जनताकै साथमा छ, भुकम्पपछिको पुर्ननिर्माणमा पनि काँग्रेसले जोड दिएको छ, व्यक्तिगत घर संघ सरकारले बनाउने र बिद्यालय, स्वास्थ्य, खानेपानी जस्ता सार्वजनिक संरचना प्रदेश सरकारले बनाउने गरेर काम अघि बढेको छ ।’
नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिका सदस्य समेत रहनुभएका नेता शाहीले वाइबडी जहाज खरिद प्रकरणमा आफूमाथि राजनीतिक प्रतिशोध साँधेर मुद्धा लगाइएको तर न्यायलयबाट सफाइ पाएको बताउनुभयो । आफू पर्यटन मन्त्री हुनुभन्दा अगाडि नै टेन्डरको काम सुरु भएको र मन्त्रीबाट हटिसकेपछि खरिद भएको जहाजका विषयमा आफूलाई फसाउन खोजिएको उहाँको भनाइ छ । करिब नौ महिना निलम्बनमा परेको र अदालतबाट सफाइ पाइसकेपछि कर्णाली फर्कदा जनताको न्यानो माया र आत्मियताको निमन्त्रणामा जिल्ला दौडाहामा निस्किएको उहाँले बताउनुभयो ।