
सल्यान, १० फागुन ।
सल्यानको गर्चेमा सञ्चालित एकीकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य शिविरबाट ३७२ जनाले सेवा लिएका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजनामा छत्रेश्वरी–६ गर्चे स्थित छत्रेश्वरी आधारभूत विद्यालयमा संचालन भएको शिविरबाट ३७२ जना बिरामीले लाभ प्राप्त गरेका हुन् ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढा मगर सहित ७ जनाको विशेषज्ञ टोलिले बिरामीको चेकजाँच, उपचार तथा परामर्श सेवा प्रदान गरेको थियो । शिविरबाट प्रयोगशाला जाँच सेवा ३५ जना, भिडियो एक्सरे सेवा ३० जना, डेण्टल सेवा २९ जनाले लिएको थियो । महिलाको ७१ जनाको भिआइए जांच गरिएकोमा पोजेटिभ देखिएका बिरामी एकजनाको उपचार गरिएको र ७ जनालाई रिङ प्रेसरी सेवा प्रदान गरिएको थियो ।

शिविरको उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउने उद्धेश्य अनुरुप गाउँपालिकासंगको समन्वयमा स्वास्थ्य सेवा कार्यालयले यसप्रकारको शिविर संचालन गरेको भन्दै आभार व्यक्त गर्नु भएको थियो । यस्तै स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर बुढा मगरले स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै नागरिकको स्वास्थ्य सुरक्षामा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनु भएको थियो ।
स्वास्थ्य सुविधाको अभावका कारण नियमित स्वास्थ्य परीक्षण र उपचारबाट बञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न निशुल्क शिविर संचालन गरिएको थियो । स्वास्थ्य कार्यालयमा कार्यरत जनस्वास्थ्य अधिकृत तारा रिजालको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण छत्रेश्वरी स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीले गर्नु भएको थियो ।