
सल्यान, १३ बैशाख ।
सल्यानको बागचौर नगरपालिका वडा नं. ७ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएपछि वडा स्तरीय खोप समन्वय समितिले आयोजना गरेको एक कार्यक्रमका बीच वडा नं. ७ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । वडा भित्र रहेका १६ देखि ५९ महिना सम्मका ९२ जना बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
१६ देखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाको पहिचान गर्न माघदेखि चैतसम्म “खोज र खोप” अभियान सञ्चालन गरिएको थियो । त्यस अन्तर्गत छुटेका बालबालिकालाई अभियानले पुनः समेटेपछि वडा नं. ७ लाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको कोटबारा स्वास्थ्य चौकीका प्रमुख भुपेन्द्र भण्डारीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख जनकराज गौतमले समृद्ध बागचौर निर्माणका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा नगरवासीहरु स्वस्थ्य हुनुपर्ने बताउनुभयो । खोप लगाउने उमेर समूहका कुनै पनि बालबालिकालाई खोपबाट बञ्चित हुन नदिनतर्फ सबै सचेत भए दिगोपना सुनिश्चित हुने उहाँको भनाइ छ । खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउने सवालमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागियोगदान पु¥याउने सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह लगायतको लगन र मेहनतको सराहना गर्नुभयो ।

यस्तै उप–प्रमुख सुम्निमा डिसी वलीले सबैको सक्रियतामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सहज भएको भन्दै सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । पूर्ण खोप सुनिश्चितता निरन्तरता कायम राख्न कार्यक्रममा उपस्थित सबैले प्रतिवद्वता–पत्रमा हस्ताक्षर समेत गरेका छन । नगरपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने यस वर्षको वडा नं. ७ पहिलो वडा हो । कार्यक्रमलाई सफल बनाउन सहयोग पु¥याउने आमा समूह, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतलाई सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।
वडा नं. ७ का वडा अध्यक्ष प्रेम बहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वमसेविका, आमा समूह, शिक्षक, बुद्धिजीवी, समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । स्वास्थ्यकर्मी सपना केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य चौकी प्रमुख भुपेन्द्र भण्डारीले गर्नुभएको थियो ।