
सल्यान, १५ माघ ।
सल्यानका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ –एचपीभी) खोप लगाउने तयारी गरिएको छ । जिल्लाका सबै क्षेत्रमा पुगेर यही माघको अन्तिम साता पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउने तयारी गरिएको हो । बिद्यालयको पहुँचमा रहेका कक्षा ६ मा अध्ययनरत र बिद्यालय बाहिर रहेका १० बर्षका सबै किशोरीहरुलाई खोप दिइने स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
अघिल्लो बर्ष कक्षा ६ देखी १० सम्म अध्ययनरत र १० देखी १४ बर्ष उमेर समुहका ९ हजार ७०४ जना किशोरीलाई खोप दिइएको थियो । यस बर्ष जिल्लाभरका २६६९ जना किशोरीहरुलाई खोप दिने तयारी रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका खोप कार्यक्रम संयोजक तारा प्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभर २४७ खोप केन्द्रमा २४७ स्वास्थ्यकर्मी परिचालन गरिने छ भने ४८१ महिला स्वास्थ्य स्वयम्सेविका खटिने छन् । जिल्लाभर २७०० भाइल खोप आउने छ ।
जिल्ला अस्पतालका डा. बुद्धिनाथ शाहका अनुसार एचपीभी यौन सम्पर्कबाट फैलने संक्रमण हो । प्रायः सबै यौनजन्य क्रियाकलापमा सक्रिय व्यक्तिहरू कुनै न कुनै समयमा यो भाइरसबाट सक्रमित हुन्छ्न, तर अधिकांशमा कुनै पनि लक्षण देखा नपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । नेपालमा हरेक वर्ष दुई हजार एक सय ६९ जना महिलालाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको अनुमान छ । पाठेघरको मुखको क्यान्सरको मुख्य कारण एचपीभी भाइरसको संक्रमण हुनु हो ।
एचपीभी भाइरस दुई सयभन्दा धेरै प्रजातिका हुन्छन् । तर, मानव शरीरमा क्यान्सर गराउने प्रजाति १२ प्रकारका हुने स्वास्थ्यकर्मीहरू बताउँछन् । खोप शतप्रतिशत प्रभावकारी रहेको उल्लेख गर्दै उहाँले १० देखि १४ वर्ष उमेरका किशोरीलाई एक मात्रा लगाएपछि यसको पूर्ण मात्रा हुने बताउनुभयो । विगतमा एक मात्रा एचपीभी खोप लगाएका किशोरीहरूले अर्को मात्रा लगाउन नपर्ने उहाँको भनाइ छ । नेपाली महिलाको सबैभन्दा बढीमा देखिने स्वास्थ्यसम्बन्धी समस्यामध्ये एक पाठेघरको मुखको क्यान्सर रहेको उल्लेख गर्दै डा. शाहले खोपबारे जनचेतना फैलाउनुपर्ने बताउनुभयो ।
निश्चित उमेर तोकिनुको कारण यौन क्रियाकलापमा सहभागी हुनुभन्दा अगाडि नै यो खोप दिनुपर्ने भएकाले उमेर समूह तोकिएको हो । किनभने यो भाइरस यौन क्रियाकलापबाट सर्छ । तर, यौन क्रियाकलाप नगरेको अवस्थामा २६ वर्ष उमेर सम्मका युवतीलाई खोप लगाउन सकिन्छ । विकसित राष्ट्रहरूमा छिट्टै यौन क्रियाकलापमा सहभागी हुने सम्भावना भएकाले खोप लगाउने उमेर समूह नौ देखि १४ वर्ष तोकिएको हो ।
एचपीभी खोप पनि सुरक्षित रहेकाले ढुक्क भएर लगाउन स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. अर्जुन बुढा मगरको सुझाव दिनुभयो । खोप लगाएपछि सुइ लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, रिंगटा लाग्ने, मांसपेशी दुख्ने, थकाई लाग्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका सामान्य लक्षणहरू एकाधमा देखिन सक्ने उल्लेख गर्दै त्यस्ता समस्या आफै निको हुने उहाँको भनाइ छ ।
बुधबार एचपीभी खोप सम्बन्धि जिल्ला खोप समन्वय समितिका पदाधिकारीका लागि एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि एचपीभी खोप अत्यन्त प्रभावकारी रहेको बताउनुभयो । उहाँले जिल्लाका सबै पालिका, विद्यालय, अभिभावक र सरोकारवाला निकायबीच समन्वय गरी अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो । किशोरीको भविष्य सुरक्षित गर्ने महत्वपूर्ण अवसर हो यो, त्यसैले कुनै पनि किशोरी खोपबाट बञ्चित नहोस् भन्नेमा सबैले आ–आफ्नो भूमिकाबाट सहयोग गर्नुपर्छ’ रावलले भन्नुभयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाले एचपीभी खोप अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयको तर्फबाट आवश्यक सबै सहजीकरण गरिने बताउनुभयो । उहाँले स्वास्थ्यजस्तो संवेदनशील विषयमा भ्रम फैलिन नदिन सचेत रहन आग्रह गर्दै अभिभावकलाई ढुक्क भएर आफ्ना छोरीहरूलाई खोप लगाउन अनुरोध गर्नुभयो । ‘खोप सुरक्षित छ र दीर्घकालीन रुपमा जीवन रक्षा गर्ने माध्यम हो, त्यसैले जनचेतना अभिवृद्धि गर्दै अभियानलाई शतप्रतिशत सफल बनाउन प्रशासन सक्रिय रहनेछ’ उहाँले भन्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख असविर बुढाथोकी, जिल्ला समन्वय अधिकारी निम बहादुर वली, सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मा, शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख शेर बहादुर रोका, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत, सचिव बुद्धि पुन लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सूचना अधिकारी थलराज डिसीले गर्नुभएको थियो ।