गाउँ–गाउँमा उम्मेदवार रमेश मल्ल, उत्साहित देखिए मतदाता

सल्यान, ४ फागुन ।

सल्यानको ग्रामीण बस्तीहरूमा यतिबेला चुनावी माहोल तातिएको छ । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश कुमार मल्ल यतिबेला गाउँ–गाउँमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाटमा व्यस्त हुनुहुन्छ । कुमाख गाउँपालिकाको सेरीपाटा, हिले तुरतुरे र जिमाली लगायतका आधादर्जन बस्तीमा आयोजित मतदाता भेटघाट कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता देखिएको थियो । गाउँका चोक, आँगन र सार्वजनिक स्थलहरूमा भेला भएका मतदाताले उम्मेदवार मल्लसँग विकास, रोजगारी, सडक पहुँच, खानेपानी र कृषिसम्बन्धी समस्याबारे खुलेर कुराकानी गरेका थिए ।

भेटघाटका क्रममा उम्मेदवार मल्लले गाउँको समग्र विकासलाई प्राथमिकतामा राख्दै पूर्वाधार विस्तार, कृषि आधुनिकीकरण र युवाका लागि रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “हामी गाउँको आवश्यकता पहिचान गरेर योजनाबद्ध रूपमा काम गर्छौँ, शिक्षा, स्वास्थ्य र सडक विकासलाई पहिलो प्राथमिकतामा राख्नेछौँ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा सहभागी स्थानीयवासीले यसपटक गाउँको आवाज संसदसम्म पु¥याउन सक्ने प्रतिनिधि चयन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । केही युवाहरूले रोजगारी र सीप विकासका कार्यक्रम आवश्यक रहेको बताए भने महिला समूहका प्रतिनिधिहरूले सामाजिक समानता र सशक्तीकरणका विषय उठाएका थिए ।

मतदाता भेटघाट कार्यक्रमका क्रममा स्थानीयहरू उत्साहित देखिन्थे । उम्मेदवार मल्ललाई फूलमाला तथा खादा लगाएर स्वागत गरिएको थियो । गाउँ–गाउँमा पुगेर प्रत्यक्ष संवाद गर्ने शैलीले मतदातामा सकारात्मक सन्देश गएको स्थानीय नेताहरूको दाबी छ । निर्वाचन मिति नजिकिँदै जाँदा ग्रामीण क्षेत्रका यस्ता भेटघाट तथा अन्तरक्रियाले चुनावी माहोल थप चहलपहलपूर्ण बनेको छ ।

उम्मेदवार मल्लले आगामी दिनहरूमा पनि जिल्लाका अन्य बस्तीहरूमा पुगेर मतदातासँग निरन्तर संवाद गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस