सामुदायिक विद्यालयमा सुधार : दाताले बनाएर मन्दिर र प्रवेशद्धार


सल्यान, ५ चैत ।
सल्यानको शारदा नगरपालिका–५ तलो मार्केमा रहेको जनकल्याण प्राथमिक विद्यालयमा मन्दिर र प्रवेशद्धार निर्माण गरिएको छ । स्थानीय समाजसेवीहरुको सहयोगमा लाखौँ रुपैया खर्च गरेर बिद्यालयमा सरस्वतीको मन्दिर र बिद्यालय प्रवेशद्धार तथा पर्खाल निर्माण गरिएको हो । करिब दुई महिनाको अवधिमा ५ लाख ३३ हजार ३३३ रुपैँया लागतमा निर्मित मन्दिर र ५ लाख ३३ हजार ३३३ रुपैँयाकै लागतमा निर्मित प्रवेशद्धार बुधबार विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

स्वर्गीय गोविन्द बुढाथोकी र पार्वती बुढाथोकीको सम्झनामा बुवाआमा होताराम बुढाथोकी र इश्वरीदेवी बुढाथोकी, दाईभाउजु जित बहादुर बुढाथोकी, तोज बहादुर बुढाथोकी, कमला बुढाथोकी र गंगा बुढाथोकी, भाइ बुहारी मोहनलाल बुढाथोकी र इन्द्रा बुढाथोकी तथा दिदीभिनाजु छवि रेउले र कुल बहादुर रेउले सहितको परिवारको लगानीमा मन्दिर निर्माण गरिएको हो ।

यस्तै स्वर्गीय राम बहादुर रोकाको सम्झनामा श्रीमती पुर्ण कुमारी रोका, छोराबुहारी थमन रोका, गौरी रोका, तुलसीराम रोका, मञ्जु रोका, पदम रोका, अनिता रोका तथा छोरी ज्वाई पवित्रा बस्नेत र गोपाल बस्नेत सहितको परिवारले आफै लगानी गरेर प्रवेशद्धार निर्माण गरेको हो ।

मन्दिर तथा प्रवेशद्धार उद्घाटन एवम् सम्मान कार्यक्रममा बोल्दै शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीले सबै क्षेत्रको विकासको मेरुदण्ड शिक्षा रहेको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको विकास र उन्नयन बिना अन्य क्षेत्रको दिगो विकास सम्भव नहुने उल्लेख गर्दै सामुदायिक विद्यालयको अवस्था सुधार्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो । विगतमा च्यातिएको टिन, भत्किएको पर्खाल, न्यून विद्यार्थी संख्या, अभिभावकको घट्दो चासो जस्ता समस्याले विद्यालयप्रति वितृष्णा बढेको उल्लेख गर्दै त्यसलाई न्यूनीकरण गरी विद्यालयलाई सक्षम र सवल बनाउन सबैको भूमिका महत्वपुर्ण रहेको उहाँले बताउनुभयो । उहाँले अहोरात्र खटिएर विद्यालय सुधारमा लागिरहेका सरोकारवाला र दाताहरूको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक उन्नतिका लागि नगरपालिका सधैं साथमा रहने उहाँको भनाइ छ ।

यस्तै शारदा नगरपालिका–५ का वडाअध्यक्ष प्रदीप शाहीले दाताहरूको योगदानले विद्यालयप्रति समुदायको अपनत्व झनै बढाएको बताउनुभयो । उहाँले मन्दिर र प्रवेशद्धार निर्माणले विद्यालयको पहिचान र आकर्षण बढाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिन सबैलाई आग्रह गर्नुभयो ।

यस्तै नेपाल पत्रकार महासंघ सल्यानका सचिव बुद्धि पुनले समाजमा भइरहेका सकारात्मक कार्यहरूलाई उजागर गर्नु सञ्चारकर्मीको दायित्व भएको बताउनुभयो । उहाँले दाताहरूको योगदानले विद्यालयलाई मात्र नभई समग्र समुदायलाई प्रेरणा दिएको उल्लेख गर्दै यस्ता उदाहरणीय कार्यलाई व्यापक रूपमा प्रचारप्रसार गर्नुपर्ने धारणा राख्नुभयो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयको गतिविधिलाई सञ्चारमाध्यममा संम्प्रेषण गरि सहयोग गरेको भन्दै पत्रकार बुद्धि पुन, अमृत बाबु बुढाथोकी र प्रदीप मगरलाई प्रशंसा पत्र प्रदान गरिएको छ । बिद्यालयका प्रधानाध्यापक डिल्ली भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक कृष्ण वलीले गर्नुभएको थियो ।

सोही अवसरमा बिद्यालयमा रहेको छात्रावासको लागि खाद्यान्न तथा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । अमेरिकामा रहेका पदम रोकाको पहलमा केशव तिमिल्सिना, कौशल रोका, श्याम गिरी, संजय यादव, विष्णु तिमिल्सिना, गणेश पोख्रेल र निमाले सहयोग गर्नुभएको हो । जसअनुसार १९ बोरा चामल, ५० केजी दाल, २० लिटर तेल, एक गत्ता साबुनका साथै कापीकलम सहयोग गरिएको हो ।

एक समय बन्द हुने अवस्थामा पुगेको विद्यालयमा अहिले ९३ जना बिद्यार्थीले अध्ययन गर्दै आएका छन् । बिद्यालयमा सञ्चालित छात्रावासमा विपन्न, सहाय र साहारा विहिन ३१ बालबालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस