
सल्यान, ४ साउन ।
सल्यानमा मुख्य खाद्यबाली धानको रोपाइँ अन्तिम चरणमा पुगे पनि जिल्लाका सबै क्षेत्रमा भने एकै अवस्था छैन । सिँचाइ सुविधा पुगेका ठाउँमा किसान धान गोडमेलमा व्यस्त छन् भने आकाशे वर्षामा निर्भर क्षेत्रका किसान अझै पनि रोपाइँ गर्न आकाशतिर हेर्दै पानीको पर्खाइमा बस्न बाध्य छन् । यसले जिल्लामा एउटै समयमा फरक–फरक कृषि गतिविधि देखिएको छ ।
दार्मा, बागचौर, सिद्धकुमाख, शारदा, छत्रेश्वरी र त्रिवेणीका सिँचाइ सुविधा भएका क्षेत्रमा रोपिएका धानमा अहिले गोडमेल सुरु भएको छ । यो क्षेत्रमा शारदा नदीले सिंचित हुन्छ । किसानले धानबारीमा उम्रिएको झार हटाउने, मुसा र गंगटाले बनाएका दुला पुर्ने, खेतमा पानी मिलाउने तथा मल उपलब्ध भएका ठाउँमा मल हाल्ने काम गरिरहेका छन् । तर बन्गाड कुपिण्डे नगरपालिकाको बन्गाड खोला, शारदा नगरपालिकाकै सुकेखोला, पेदीखोला तथा खहरे खोलामा निर्भर फाँट लगायतका क्षेत्रमा भने अझै रोपाइँ हुन सकेको छैन ।
खेत जोतेर तयारी अवस्थामा राखिए पनि पर्याप्त पानी नपर्दा रोपो सार्न नसकिएको हो । रोपाइँ ढिलो हुँदा ब्याड छिप्पिन थालेको छ भने जोतेर तयार पारिएका खेतमा झार उम्रन थालेको किसान बताउँछन् । कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लामा ६ हजार ५९ हेक्टर धान खेतीयोग्य जमिन रहेकामा हालसम्म करिब ९५ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको छ । बाँकी करिब ५ प्रतिशत क्षेत्रमा पानी अभावका कारण अझै रोपाइँ हुन सकेको छैन ।
कार्यालय प्रमुख महेश आचार्यका अनुसार यस वर्ष मनसुन ढिलो सक्रिय हुनुका साथै पर्याप्त वर्षा नभएकाले रोपाइँ प्रभावित बनेको हो । आगामी केही दिन लगातार वर्षा भए एक साताभित्र जिल्लाभर रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । बन्गाड कुपिण्डेका किसान कृतिबहादुर रानाले बन्गाड खोलाको मुहान क्षेत्रमा पानी रोकिएकाले तल्लो क्षेत्रमा पानी नपुगेको बताउनुभयो । उहाँका अनुसार खेत जोतेर तयार पारे पनि रोपाइँ गर्न सकिएको छैन । ‘माथिल्लो क्षेत्रमा पानी खेतमै रोकिएको छ, तल खोला नै सुक्यो, खेत तयार छ तर रोपाई भएको छैन्’ उहाँले भन्नुभयो ।
शारदा नगरपालिका–५ का नेवबहादुर बिष्टले पनि ब्याड तयार भएर छिप्पिन थाले पनि पर्याप्त पानी नपर्दा रोपाइँ गर्न नसकिएको बताउनुभयो । ‘खेत जोतेर तयार पारेका छौँ, तर कुलोमा पानी छैन, झरी नलाग्दासम्म रोपाइँ गर्न सकिने अवस्था देखिएको छैन’ उहाँले भन्नुभयो । उहाँका अनुसार चार रोपनी खेतबाट उत्पादन हुने करिब १२ मुरी धानले पाँच जनाको परिवारलाई चार महिनासम्म खाद्यान्न पुग्ने गरेको छ । तर समयमा रोपाइँ हुन नसके गत वर्षझैँ बजारबाट चामल खरिद गर्नुपर्ने अवस्था आउने चिन्ता उहाँमा छ ।
यता कुमाख गाउँपालिकाको देवलका किसान कर्णबहादुर रावतले पछिल्लोपटक परेको वर्षापछि आफ्नो क्षेत्रमा रोपाइँ सुरु भएको बताउनुभयो । ‘अहिलेसम्म पानीकै पखाईमा थियौँ, पानी परेपछि रोपाइँ भइरहेको छ, आजभोलिमै सकिन्छ भन्ने आशा छ, शनिवार परेको पानीले राहत मिल्यो’ उहाँले भन्नुभयो ।
कृषि विकास कार्यालयका अनुसार गत आर्थिक वर्ष जिल्लामा २३ वटा सिँचाइ कुलो र ३४ वटा पोखरी निर्माण गरी १३७ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गरिएको थियो । तर अझै पनि जिल्लाको ठूलो खेतीयोग्य क्षेत्र वर्षामै निर्भर रहेकाले मनसुन कमजोर हुँदा हरेक वर्ष धान रोपाइँ प्रभावित हुने गरेको छ । रोपो सार्ने समय घर्किँदै जाँदा उत्पादन घट्ने जोखिम बढेको छ । पर्याप्त वर्षा नभए यस वर्ष धान उत्पादनमा कमी आउने र त्यसको असर जिल्लाको खाद्य सुरक्षामा समेत पर्ने कृषि क्षेत्रका जानकारहरूको भनाइ छ ।