
सल्यान, १४ साउन ।
सल्यानको बागचौर नगरपालिका–१२ बाफुखोलाका किसान खगेन्द्र खत्रीले व्यावसायिक आलु खेती गर्न थालेको दशकभन्दा बढी भयो । हरेक वर्ष करिब १४ रोपनी जग्गामा आलु खेती गर्दै आएका उहाँले यस वर्ष करिब २५० बोरा आलु उत्पादन गर्नुभयो । तर उत्पादनमध्ये हालसम्म ५० बोरा मात्रै बिक्री भएको छ । बाँकी आलु घरमै थन्किएको छ भने केही अझै बारीमै खन्न बाँकी छ । दुई वर्षअघि प्रतिकिलो ५५ रुपैयाँमा आलु बिक्री गरेका खत्रीले यसपालि आलु प्रतिकिलो २७ रुपैयाँमा बेच्नुपरेको बताउनुभयो ।
‘नेपाली बजारमा भारतीय आलु सस्तो मूल्यमा भित्रियो, यता बर्खे आलुको उत्पादन पनि राम्रो भयो, त्यसैले ग्रेडिङ गरिएको आलु पनि २८ रुपैयाँ प्रतिकिलोभन्दा माथि बिकेन’ उहाँले भन्नुभयो ‘कम्तीमा ३० रुपैयाँ प्रतिकिलो मूल्य पाइए किसानलाई राहत हुन्थ्यो, केही दिन अझै पर्खन्छु, भाउ नबढे यही मूल्यमा बेच्नुपर्ने अवस्था आउँछ ।’ उहाँका अनुसार यस वर्ष करिब तीन लाख रुपैयाँ आम्दानी हुने अपेक्षा रहे पनि बजार मूल्य नपाउँदा त्यो लक्ष्य पूरा हुनेमा आशंका बढेको छ ।
यही वडाका अर्का किसान चन्द्रबहादुर ओलीले पनि १५ रोपनीभन्दा बढी क्षेत्रफलमा आलु खेती गर्दै आउनुभएको छ । आलु बिक्रीबाट वार्षिक ६ देखि ७ लाख रुपैयाँ आम्दानी गर्दै आएका उहाँले गत वर्ष साउन नलाग्दै सबै आलु बिक्री गरिसक्नुभएको थियो । तर यस वर्ष भने मूल्य नपाएकै कारण धेरै आलु अझै बारीमै छ भने केही घरमा थन्किएको छ । ‘गत वर्ष यतिबेलासम्म अधिकांश आलु बिक्री भइसकेको थियो’ उहाँले भन्नुभयो ‘यसपालि लागतसमेत उठ्ने अवस्था नदेखिएपछि केही आलु बारीमै छ, केही कोठामा थन्क्याएर राखेको छु ।’
बागचौर नगरपालिका–११ र १२ अन्तर्गतको बाफुखोला बर्खे आलु उत्पादनको प्रमुख पकेट क्षेत्रका रूपमा परिचित छ । यहाँका करिब एक हजार १०० किसान व्यावसायिक आलु खेतीमा संलग्न छन् । बाफुखोलाबाट मात्रै वार्षिक १२ करोड रुपैयाँभन्दा बढीको आलु बिक्री हुने गरेको छ । यही खेतीको आम्दानीले धेरै किसानको जीवनस्तर उकासिएको छ भने कतिपयले घरजग्गासमेत जोड्न सफल भएका छन् । तर यस वर्ष बजार मूल्य खस्किएपछि किसानको उत्साह निराशामा बदलिएको छ ।
किसानहरूका अनुसार भारतीय आलु सस्तो मूल्यमा ठूलो परिमाणमा नेपाली बजारमा भित्रिएपछि स्थानीय उत्पादनले बजार र मूल्य दुवै गुमाएको हो । गत वर्ष घरबाटै प्रतिकिलो ४० देखि ४५ रुपैयाँमा बिक्री भएको आलु यसपालि ग्रेडिङ गरिएको आलुसमेत २८ रुपैयाँभन्दा माथि नबिकेको उनीहरूको गुनासो छ । पोखरा, बुटवल, वीरगञ्ज र दाङबाट हरेक वर्ष आलु खरिद गर्न आउने व्यापारीले पनि भारतीय आलु सस्तोमा उपलब्ध भएकाले स्थानीय आलु खरिदमा कम चासो देखाएको किसानहरू बताउँछन् ।
बागचौर नगरपालिका–१२ का वडाध्यक्ष टिकाराम वली स्वयं पनि व्यावसायिक आलु किसान हुनुहुन्छ । करिब १२ रोपनी क्षेत्रफलमा आलु खेती गर्दै आएका उहाँले गत वर्ष मात्रै ६ लाख ५० हजार रुपैयाँ बराबरको आलु बिक्री गर्नुभएको थियो । तर यस वर्ष उत्पादन भए पनि बजार नपाउँदा बिक्री गर्न नसकिएको उहाँको भनाइ छ । ‘भारतीय आलु नै नेपालका ठूला सहरमा २४–२५ रुपैयाँ प्रतिकिलोमा पुगेको सुनिन्छ, यहाँको आलु त्यहाँ पु¥याउँदा अझ महँगो पर्छ’ उहाँले भन्नुभयो ‘त्यसैले भारतीय आलुको सामु नेपाली आलु निरीह बनेको छ ।’ आयातित आलु व्यवस्थापन गर्न सकिए स्थानीय उत्पादनले नै बजार धान्न सक्ने उहाँको भनाइ छ ।
बर्खे आलुको खेती गरिने शिवरथ, पेदिखोला, झ्याम बुराँसे र दहखोलालगायत क्षेत्रको आलु बजार पुगिसके पनि बाफुखोलाको अधिकांश आलु अझै बाहिर जान सकेको छैन । गत वर्ष साउनको पहिलो सातासम्म उत्पादनको ३५ देखि ४० प्रतिशत आलु जिल्लाबाहिर निकासी भइसकेको थियो । यसपालि भने २० प्रतिशत पनि निकासी हुन नसकेको किसान बताउँछन् । भण्डारणको पर्याप्त व्यवस्था नहुँदा किसानमा आलु कुहिने चिन्ता पनि किसानमा थपिएको छ । ‘मूल्य कम भए पनि कुहिने डरले केही आलु बेच्नुपर्ने बाध्यता छ’ वडाअध्यक्ष वलीले भन्नुभयो ।
कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लाभर चार हजार ५४५ हेक्टर क्षेत्रफलमा आलु खेती गरिन्छ । आर्थिक वर्ष २०८२/०८३ मा एक हजार ७३० हेक्टरमा हिउँदे र दुई हजार ८१५ हेक्टरमा बर्खे आलु खेती गरिएको थियो । त्यसबाट ५० हजार १५ मेट्रिकटन आलु उत्पादन भएको कार्यालयको तथ्यांक छ । जिल्लाभरका किसानले आलु बिक्रीबाट वार्षिक करिब २४ करोड रुपैयाँ आम्दानी गर्दै आएका छन् । कार्यालयले गएको बर्ष बागचौर नगरपालिका र दार्मा गाउँपालिकामा व्यावसायिक आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको थियो ।
यस वर्ष भने भारतीय आलुको बढ्दो आयात, बजार मूल्यमा आएको गिरावट र पर्याप्त भण्डारणको अभावका कारण सल्यानका आलु किसानले उत्पादनको उचित मूल्य नपाउँदा ठूलो आर्थिक मार खेप्नुपरेको छ । स्थानीय किसानहरूले स्वदेशी उत्पादनको संरक्षण, आयात व्यवस्थापन र बजार सुनिश्चित गर्न राज्यले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन् ।