
सल्यान, ३१ साउन ।
सल्यानमा सामुदायिक अगुवालाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार, जलवायु न्याय तथा लैङ्गिक समानतासम्बन्धी पाँच दिने तालिम प्रदान गरिएको छ । जिल्लाको कालिमाटी, कपुरकोट, सिद्धकुमाख, कुमाख, दार्मा र त्रिवेणी गाउँपालिकाबाट सहभागी ३२ जना सामुदायिक अगुवाका लागि सञ्चालित तालिम शारदा नगरपालिका–६, बरलामा सम्पन्न भएको हो । स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा आइपास नेपाल र दलित विकास समाज सल्यानद्धारा सञ्चालित यौन तथा प्रजनन स्वास्थ्य र अधिकार दिगो सशक्तीकरण परियोजना अन्तर्गत तालिम आयोजना गरिएको हो ।
तालिममा मानव, महिला तथा मौलिक अधिकार, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, सुरक्षित गर्भपतन, गर्भनिरोध, लैङ्गिक समानता, लैङ्गिक तथा यौनिकता, लैङ्गिकतामा आधारित हिंसा, किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य, बृहत्तर यौनिकता शिक्षा, बालविवाह, किशोरावस्थाको गर्भाधारण, मर्यादित महिनावारी, व्यक्तिगत सरसफाइ, परिवार योजना, सुरक्षित मातृत्व तथा पोषणका विषयमा सहभागीलाई जानकारी दिइएको थियो । त्यस्तै जलवायु परिवर्तन र यसका प्रभाव, जलवायु न्याय, तथ्यमा आधारित पैरवी, समुदायमा सुरक्षित गर्भपतनसम्बन्धी विद्यमान मान्यता, लैङ्गिक न्याय, समुदाय परिचालन, प्रभावकारी सञ्चार तथा सहजीकरण, अभिलेखीकरण र प्रतिवेदन लेखनसम्बन्धी ज्ञान तथा सीपसमेत प्रदान गरिएको थियो ।

तालिमा सहभागी त्रिवेणी गाउँपालिका–३ की कल्पना बुढालले तालिमअघि सुरक्षित गर्भपतनका विषयमा पर्याप्त जानकारी नहुँदा समाजमा रहेका गलत धारणा र भ्रमकै आधारमा बुझ्ने गरेको बताउनुभयो । तर पाँच दिने तालिमपछि सुरक्षित गर्भपतन महिलाको स्वास्थ्यसँगै उनको अधिकारसँग पनि जोडिएको विषय भएको र यससम्बन्धी सही सूचना समुदायसम्म पु¥याउनुपर्ने कुरा सिकेको उहाँको भनाइ छ । ‘तालिमअघि सुरक्षित गर्भपतनका विषयमा धेरै कुरा थाहा थिएन, समाजमा सुनिएका कुरा र आफ्नै बुझाइका आधारमा मात्रै धारणा बनाउने गरेका थियौँ, अहिले सुरक्षित गर्भपतन के हो, यसको कानुनी व्यवस्था के छ र महिलाले आफ्नो स्वास्थ्य तथा अधिकारका विषयमा कसरी निर्णय लिन सक्छन् भन्नेबारे स्पष्ट जानकारी पाएका छौँ, अब समुदायमा पनि सही सूचना पु¥याउने प्रयास गर्छु’ उहाँले भन्नुभयो ।
त्यस्तै, कपुरकोट गाउँपालिका–३ की पूजा विकले तालिमले आफूमा समुदायमा काम गर्ने आत्मविश्वास र व्यवहारिक सीप थपिएको बताउनुभयो । विशेषगरी लैङ्गिक समानता, बालविवाह, महिनावारी स्वच्छता, पोषण र यौन तथा प्रजनन स्वास्थ्यका विषयलाई समुदायसँग जोडेर बुझाउने तरिका सिकेको उहाँको भनाइ छ । ‘तालिममा आउनुअघि यस्ता विषयमा सामान्य जानकारी त थियो, तर समुदायमा कसरी कुरा राख्ने, समस्या पहिचान गरेर कसरी सचेतना फैलाउने भन्ने विषयमा स्पष्ट थिएन, अहिले विषयलाई अधिकारसँग जोडेर बुझ्ने र अरूलाई पनि सहज तरिकाले बुझाउन सक्ने आत्मविश्वास बढेको छ, सिकेको ज्ञानलाई अब आफ्नै समुदायमा प्रयोग गर्नेछु’ उहाँले भन्नुभयो ।

तालिमबाट प्राप्त ज्ञान र सीपलाई अब समुदायस्तरमा व्यवहारमा उतार्ने सहभागीहरूको प्रतिबद्धता छ । यौन तथा प्रजनन स्वास्थ्य अधिकार, सुरक्षित गर्भपतन, बालविवाह, महिनावारी स्वच्छता, पोषण र जलवायु न्यायजस्ता विषयमा समुदायमा रहेका भ्रम र गलत धारणालाई चिर्दै सचेतना फैलाउन सामुदायिक अगुवाले भूमिका खेल्ने अपेक्षा आयोजकको छ । स्थानीय तहसँगको सहकार्यमा तयार भएका यी सामुदायिक अगुवामार्फत अब तालिमको ज्ञान समुदायसम्म पुग्ने र महिला तथा किशोरीले आफ्नो स्वास्थ्य र अधिकारका विषयमा सही निर्णय लिन सक्ने वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।